देउवालाई ज्ञापनपत्र बुझाएर फर्कियो नेविसंघको असन्तुष्ट पक्ष

नेपालभ्युज

देउवालाई ज्ञापनपत्र बुझाएर फर्कियो नेविसंघको असन्तुष्ट पक्ष

काठमाडौं । पार्टी केन्द्रले मनलाग्दी ढंगमा केन्द्रीय सदस्य मनोनीत गरेपछि रुष्ट बनेको नेविसंघको एक खेमाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार देउवानिवासमै पुगेर नेविसंघका असन्तुष्ट पक्षले ज्ञापनपत्र बुझाएका हुन् । पार्टी मनोनीति गरेको सूची समावेशी नभएको भन्दै उनीहरुले संशोधन गर्नसमेत माग गरेका छन् ।

महिना, मधेसी, आदिवासी जनजातिलगायत सबै क्लस्टरका विद्यार्थीहरु भेला भएर सभापति देउवालाई ज्ञापनपत्र दिएका हुन् ।

उनीहरुले बुधबार पार्टी केन्द्रीय कार्यालयमा समानान्तर समिति घोषणाको तयारी गरेका थिए । तर कार्यालयमा प्रवेश नपाएपछि उनीहरु फर्किएका थिए ।

संस्थापन पक्षले सहमतिविपरीत ७१० सदस्यीय तदर्थ समिति सार्वजनिक गरेपछि नेविसंघको गगन–शेखर पक्षका विद्यार्थी रिसाएका हुन् ।

आफ्नो पक्षका ४० प्रतिशत सदस्य समेटेर ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमति भएको बताइएको छ । तर संस्थापन पक्षले सहमतिबेगर मनलाग्दी ढंगमा सदस्य संख्या ७१० बनाएको आरोप छ ।

७१० सदस्यीय तदर्थ समिति बनाउँदा पनि आफ्नो पक्षले नाम दिएका सबैजना नसमेटिएको उनीहरुको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई संघको अध्यक्षमा मनोनित गरेका थिए । संघको कार्यसमितिलाई पटक पटक पूर्णता दिने पार्टीले निर्णय गरेपनि कार्यान्वयन गरेको थिएन । करिब १७ महिनापछि बनाइएको जम्बो टोलीमा समेत पार्टीका समूहले चित्त बुझाउन सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved