सर्वोच्चबाट राहुलले राहत पाएपछि प्रियंकाले भनिन्-सूर्य चन्द्र र सत्यलाई कहिल्यै छोप्न सक्दैन

नेपालभ्युज

सर्वोच्चबाट राहुलले राहत पाएपछि प्रियंकाले भनिन्-सूर्य चन्द्र र सत्यलाई कहिल्यै छोप्न सक्दैन

नयाँदिल्ली ।  भारतीय कांग्रेस  नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गुजरात उच्च अदालतले दोषी ठहर्‍याए पनि भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको छ ।

यद्यपि, उक्त अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा सावधानी अपनाउनु पर्नेमा भने जोड दिएको छ ।

गुजरात उच्च अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो जसले उनलाई जनप्रतिनिधित्व ऐनको कठोरताअन्तर्गत सांसदको रूपमा अयोग्य घोषित गरेको थियो । सवोच्चको फैसलासँगै गान्धीको सांसद पद पनि पुनः बहाली हुने सम्भावना देखिएको छ ।

केरलाको वायनाडबाट राहुल गान्धीलाई लोकसभा सचिवालयको सूचनापछि मार्च २४ मा सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो ।

कांग्रेस नेता राहुल गान्धीले गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर गर्न अस्वीकार गरेको आदेशविरुद्ध दायर गरेको अपिलमाथि सर्वोच्च अदालतले सुनुवाई गरिरहेको थियो ।

न्यायाधीश बीआर गवईको अध्यक्षतामा रहेको बेन्चल गरेको फैसलामा ‘ट्रायल कोर्ट’का न्यायाधीशले अधिकतम सजाय सुनाउनुको कुनै कारण नदिएको र अन्तिम फैसला नभएसम्म दोषी ठहर गर्ने आदेशमा रोक लगाउनुपर्ने बताएको छ ।

फैसलामा सर्वोच्च अदालतले भनेको छ,’यो मुद्दा हेरेका न्यायाधीशले पर्याप्त कारण र आधारबिना दुई वर्षको अधिकतम सजाय दिएको देखिन्छ ।’

सर्वोच्च अदालतले गान्धीलाई राहत प्रदान गर्दै ट्रायल कोर्टको आदेशको असर व्यापक रहेको बताएको छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘गान्धीको सार्वजनिक जीवनमा रहिरहन पाउने अधिकार मात्र होइन, उहाँलाई निर्वाचित गर्ने मतदाताको अधिकारमा पनि असर परेको छ ।’

बेन्चले गान्धीका अभिव्यक्तिहरू ‘राम्रो शैलीको नभएको’ र ‘सार्वजनिक जीवन रहेका व्यक्तिहरूले सार्वजनिक भाषण गर्दा सावधानी अपनाउने अपेक्षा गरिएको’ कुरामा कुनै शंका नरहेको पनि बताएको छ ।

सर्वोच्च अदालतको फैसलापछि कांग्रेस  पार्टीको ट्विटर पेजमा राहुल गान्धीको तस्बिरको साथमा लेखिएको छ,’सत्यको सँधै जीत हुन्छ ।’

पार्टी नेता जयराम रमेशले पनि सर्वोच्च अदलतको फैसला सत्य र न्यायलाई पुष्टि गरेको ट्वीटर सन्देशमा बताएका छन् । उनले भने, ‘गान्धीविरूद्ध सत्ताधारी दलको सबै संयन्त्र लागेपनि उहाँले हार मान्न, झुक्न वा दब्न इन्कार गर्दै न्याय प्रक्रियाप्रति आफ्नो विश्वास जनाइरहनुभयो र उहाँको विजय भएको छ ।’

गौतम बुद्धको एक भनाइ उद्धरण गर्दै प्रियंका गान्धीले ट्विटरमा लखेकी छन्, ‘सूर्य, चन्द्रमा र सत्य तीन चीजलाई कहिल्यै छोप्न सकिन्न’ सर्वोच्च न्यायालयलाई न्यायपूर्ण फैसला दिएकोमा धन्यवाद । सत्यमेव जयते ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved