एकै गाउँका १९ जनामा हेपाटाइटिस

नेपालभ्युज

एकै गाउँका १९ जनामा हेपाटाइटिस

बैतडी। पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । यहाँका १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो । एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा यस्तो लक्षण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

भाइरल हेपाटाइटिस देखिएका तीन बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको र दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । गाउँका तीन बालबालिका उपचारका लागि जिल्ला अस्पताल आउँदा हेपाटाइटिस देखिएको थियोे । प्रमुख भट्टले भने, “उपचारका लागि आएका बालबालिकामा हेपाटाइटिस पुष्टि भएपछि गाउँमै गएर परीक्षण गरिएकामा थप १६ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।”

स्वास्थ्य कार्यालय र नगरपालिकाले संयुक्तरूपमा भाइरल हेपाटाइटिसका बिरामीहरू खोजी गरिरहेको छ । भाइरल हेपाटाइटिस प्रकोपका रूपमा नफैलियोस् भन्ने उद्देश्यले बिरामीहरू खोजी गरी उपचार गर्न लागिएको उक्त कार्यालयले जनाएको छ।

दूषित पानी, खानपानलगायत प्रयोगका कारण भाइरल हेपाटाइटिस हुने गर्दछ । भाइरल हेपाटाइटिस भएका बिरामीहरूमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, जन्डिस हुने, पिसाबमा रगत देखिनेजस्ता लक्षणहरू देखापर्ने गरेका छन् । यो रोगबाट बच्न शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।

मुहानको पानी परीक्षणका लागि सङ्कलन

नगरपालिका–४ मा भाइरल हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मुहानको पानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । उनले भने, “हेपाटाइटिस देखिएपछि गाउँमा रहेका मुहानहरूको पानी परीक्षणका लागि सङ्कलन गरेका छौँ ।”

यसअघि, नमुनाका रूपमा यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved