जेठ ३ गते विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी, के गर्छ एमाले ?

मुख्यमन्त्री सोडारीले वैशाख ६ गते एमाले, नेकपा (माओवादी), रञ्जिता श्रेष्ठ पक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नेपालभ्युज

जेठ ३ गते विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी, के गर्छ एमाले ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

यसअघि पनि पटक-पटक विश्वासको मत लिने भनेर तम्सिएका मुख्यमन्त्री सोडारी सत्ता साझेदार दलहरूले अटेर गरेपछि रोकिएका थिए ।

नेकपा (एमाले) ले मुख्यमन्त्री सोडारीले हतार गरेको भन्दै तत्कालै विश्वासको मत नदिने अडान लिएको थियो । त्यसपछि मुख्यमन्त्री सोडारी रोकिएको थिए ।

तर, यसपटक भने एमालेले विश्वासको मत दिने मुख्यमन्त्री सोडारीको दल नेकपा (एकीकृत समाजवादी), संसदीय दलका उपनेता प्रकाश रावल बताउँछन् । जेठ ३ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, “यसपटक एमालेका साथीहरूले सहर्ष रूपमै मत दिनुहुन्छ । अस्ति पनि उहाँहरूकै मागअनुसार मुख्यमन्त्रीजी रोकिनुभएको हो ।”

त्यसो त मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर, एमाले भने पुरानै अडानमा छ । केन्द्रबाट कुनै निर्देशन नआएको उल्लेख गर्दै एमाले सांसद धर्मराज पाठकले भने, “केन्द्रबाट केही कुरा आएको छैन । त्यहाँबाट केही नआएसम्म विश्वासको मत दिने कुरा छैन ।”

संसदीय दलमा पनि कुनै छलफल नभएको उनले बताएका छन् । संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई उद्धृत गर्दै उनले भने, “केन्द्रबाट निश्चित निर्देशन आउनुपर्छ अनि मात्रै हामीले यहाँ कार्यान्वयन गर्ने हो । अन्यथा केही हुँदैन ।”

एकीकृत समाजवादीले भने आफूलाई सुदूरपश्चिममा सघाओस् भनेर कोशीका एमालेका तर्फबाट बनेका मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीका एक नेता भन्छन्— गठबन्धन सरकार भनेको दामासाही रूपमा सघाउने कुरा हो, हामीले कोशीमा सघाएका छौँ, एमालेले सुदूरपश्चिममा सघाउँछ भन्ने विश्वास छ ।

मुख्यमन्त्री सोडारीले वैशाख ६ गते एमाले, नेकपा (माओवादी), रञ्जिता श्रेष्ठ पक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनको दाबी असंवैधानिक भन्दै रेशम चौधरी पक्षीयका सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved