काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा भएको मतदानमा उनले राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
बिहीबारको मतदानमा २८ जनाले सहभागिता जनाएका थिए । मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २८ मत परेको थियो । विपक्ष र तटस्थमा शून्य/शून्य मत परेको थियो । ५३ सदस्य रहेको प्रदेश सभामा मतदानका क्रममा भने कांग्रेस र नाउपाको एक पक्षले बहिष्कार गरेका थिए ।
बैठकमा कांग्रेस र नाउपाका एक पक्षले विरोध गरेका थिए । बैठक सुरु हुनासाथ उनीहरू वेल घेराउका लागि पुगेका थिए । त्यसक्रममा उनीहरूले ‘प्रदेश प्रमुखको असंवैधानिक कदम खारेज गर’, ‘गैरकानुनी नियुक्त खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।
तर सभामुखले विरोधका बीच विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएका थिए । नाराबाजका बीच उनले मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रस्ताव पेश गर्न समय दिएका थिए । मुख्यमन्त्री सोडारी अवरोध छिचोल्दै रोस्ट्रममा पुगेर विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।
विरोधका बीच मुख्यमन्त्रीलाई समय दिएको भन्दै कांग्रेस र नाउपाका एक पक्षले सभामुखले तानाशाही व्यवहार देखाएको बताएका थिए ।
बिहीबारकै पहिलो बैठक पनि कांग्रेस र नाउपाका एक पक्षका सांसदको विरोधका कारण स्थगित भएको थियो । दोस्रो बैठकमा पनि विरोध भएपछि सभामुखले प्रक्रिया अगाडि बढाएका हुन् । त्यसपछि कांग्रेस र नाउपा सांसदहरूले बैठक र मतदान बहिष्कार गरेका थिए ।
Facebook Comment
Comment