विश्व अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसंघ

नेपालभ्युज

विश्व अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसंघ

जेनेभा । उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) को विश्व तापमान वृद्धिमामिला वरिष्ठ सल्लाहकार जोन नायरनले जेनेभामा पत्रकारहरूसँग भने, ‘यी घटनाहरू तीव्रतामा बढ्दै जानेछन् र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्न आवश्यक छ ।’

उत्तरी गोलार्धमा थप उच्च तापक्रमको सामना गरिरहेको बेला भीषण गर्मी र डढेलोका कारण ग्रीसको समुद्री किनारको रिसोर्टनजिकै रहेका एक हजार २०० बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको यूरोपले मंगलबार जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले उत्तरी अमेरिकादेखि युरोप र एसियासम्मका मानिसहरूलाई जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन् ।

नायरनका अनुसार गर्मीको प्रकोप सबैभन्दा घातक प्राकृतिक खतरामध्ये एक हो र प्रत्येक वर्ष हजारौं मानिसले रोकथाम गर्न सकिने गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाइरहेका छन् ।

बढ्दो शहरीकरण, उच्च तापक्रमको चरम सीमामा वृद्धि र वृद्ध जनसङ्ख्या भएका देशहरूमा जनसाङ्ख्यिकीय परिवर्तनका कारण तीव्र गतिमा बढ्दै गएको स्वास्थ्य जोखिम गर्मी हो ।

नायरनका अनुसार सन् १९८० को दशकयता उत्तरी गोलार्धमा एक्कासी गमी बढ्ने क्रम छ गुणाले बढेको छ ।

‘यो प्रवृत्ति घट्ने कुनै सङ्केत देखिएको छैन,’ उनले भने ।

गत हप्ता डब्लुएमओले अत्यधिक गर्मीको चेतावनी र परामर्शले संयुक्त राज्य अमेरिकामा १० करोडभन्दा बढी मानिसलाई समेटेको बताएको थियो ।

युरोपियन स्पेस एजेन्सीले इटालीको सिसिली र सार्डिनिया टापुमा ४८ डिग्री सेल्सियस (११८ डिग्री फरेनहाइट) को उच्च तापक्रम हुने अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मौसम निकायका अनुसार सन् २०२१ मा सिसिलीमा सबैभन्दा उच्च ४८.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved