को हुन् प्रीतम सिंह ? जो प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाए !

सरदार प्रीतम सिंहबारे सोध्ने/खोज्नेहरूको सङ्ख्या बढेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाउने, नेपालभित्रै पनि धेरै पार्टी र नेतासँग कुराकानी गर्ने सरदार प्रीतम सिंह को हुन् त ?  

नेपालभ्युज

को हुन् प्रीतम सिंह ? जो प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाए !

काठमाडौं ।  काठमाडौंमा सोमबारआयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रीतम सिंहको प्रशंसा मात्रै गरेनन्, आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको स्मरणसमेत गरे ।

“उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ,” सिंहको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिपछि कतिपयले प्रधानमन्त्री प्रचण्डले विवादस्पद अभिव्यक्ति दिएको भन्दै आलोचनासमेत सुरू गरेका छन् । साथै सरदार प्रीतम सिंहबारे सोध्ने/खोज्नेहरूको सङ्ख्या पनि बढेको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाउने, नेपालभित्रै पनि धेरै पार्टी र नेतासँग कुराकानी गर्ने सरदार प्रीतम सिंह को हुन् त ?

+++

सरदार प्रीतम सिंह भारतको जम्मूका हुन् । तर, उनी आजभन्दा करिब ७ दशकभन्दा पहिल्यै नेपाल आए ।

उनले कहीँ सुनाएका छन्, लगभग २० वर्षका हुँदा साथीको बिहेका लागि तुल्सीपुर आएका थिए । साथीहरूको लहै-लहैमा उनी त्यहाँबाट काठमाडौं हान्निए । तर, काठमाडौंमा अडिन सकेनन् । यसपछि २ दिनमै जम्मू फर्किए । त्यसबेला काठमाडौंमा खेतका गह्राहरू मात्रै बढी थिए । यद्यपि कतिपय ठाउँमा भने चौडा सडक बनिरहेका थिए । सिंहले आफ्नो नेपाल यात्रा र यातायातका सम्भावनाबारे बुवा सरदार कहन सिंहलाई सुनाए । जो जम्मूका पहिलो यातायात व्यवसायीका रूपमा स्थापित थिए । यसपछि कहन सिंहले नेपालमा नयाँ सम्भावना छन् भनेर बुझे ।

यसपछि केही समयपछि प्रीतम सिंह ६ चक्के ट्रक लिएर नेपाल आए । ट्रक कसरी आइपुग्यो, त्यसका आफ्नै कथा छन् । रोचकचाहिँ के छ भने ट्रक लिएर जब बिहारको पटना आइपुगे, त्यसपछि गङ्गा नदीमा पुल नभएको थाहा पाए । त्यसपछि इन्तु न चिन्तु भएका प्रीतम सिंहले अन्तत: स्टीमरमा राखेर ट्रक तारे । त्यसबाट अघि बढ्दा खेत मात्रै देखिए र धान माडिएबापत् उनले किसानलाई पैसा बाँड्दै आए ।

भारतमा जन्मिए पनि कर्मभूमि नेपाल बनाएका प्रीतम सिंहले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले कहीँ भनेका छन्, “मैले नेपालको यातायात क्षेत्रमा झन्डै २५ प्रतिशत योगदान दिएँ होला ।”

एक बखत; प्रीतम सिंह, उनका बुवा कहन सिंहसहित स-परिवार नेपाल घुम्न आए । त्यही बखत उनले बुवा कहन सिंहलाई नेपालका यातायात क्षेत्र, सडक तथा व्यावसायिक सम्भावनाबारे बताए । त्यसपछि बुवा कहन सिंहले फेरि नेपालमा  व्यावसायिक अवस्थाबारे बुझ्न प्रीतम सिंहलाई पठाए ।

प्रीतम सिंह न्यूरोडमा घुमिरहेका बेला पाइलट तालिम गरेका त्रिलोचन सिंह दुलटलाई भेटे । दुलटले राजा महेन्द्रसँग भेट गराइदिए । त्यसको केही समयपछि राजा महेन्द्र जम्मूको अमरनाथ यात्रामा जाँदा दोस्रो पटक भेट भयो । महेन्द्रले नेपालमा व्यवसाय गर्न सिंहलाई आग्रह गरे । त्यही प्रस्तावपछि प्रीतम सिंह नेपाल आएर व्यवसाय सुरू गरे । यसपछि उनले नेपालको यातायात क्षेत्रमा मात्रै होइन, शिक्षा क्षेत्रमा समेत योगदान दिएका छन् । उनले स्थापना गरेको मोर्डन इन्डियन इंग्लिस स्कूलले शिक्षा क्षेत्रमा धेरै योगदान दिएको छ ।

प्रीतम सिंहको राजा महेन्द्रसँग मात्रै होइन, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि राम्रो सम्बन्ध छ । प्रचण्डले गरेकै जनआन्दोलनहरूका कारण राजतन्त्र गर्ल्यागुर्लुम ढलेको देखे प्रीतम सिंहले । प्रचण्डसँग अहिले पनि उनको भेटघाट भइरहन्छ । प्रचण्डबारे उनले कहीँ भनेका छन्, “युद्धकालमा प्रचण्डजीले धेरै ठाउँ तोडफोड गर्नुभयो । त्यो एक हिसाबले ठिकै पनि रहेछ । तर, शीखहरूप्रति उहाँको सधैँ सम्मान देखेँ र देख्दै आएको छु ।”

प्रचण्डलाई उनले शान्ति प्रक्रियामा आएसँगै भेटेका हुन् । पहिलो भेटमै उनले प्रचण्डसँग इतिहासका धेरै पाटा खोलेका थिए । प्रीतम सिंहलाई सुनेर प्रचण्ड दङ्ग परेका थिए । आतङ्कको नाम बनेका प्रचण्ड त्यसरी सहजै प्रस्तुत होलान् भन्ने उनले सोचेका पनि थिएनन् रे ! त्यसबेला प्रीतम सिंहले प्रचण्डलाई प्रशस्त सल्लाह दिएका थिए रे ! अहिले प्रीतम सिंह-प्रचण्ड परिवारबीच भावनात्मक सम्बन्ध रहेको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved