बागमती प्रदेशसभा : विनियोजित बजेटमाथि छलफल प्रारम्भ

नेपालभ्युज

बागमती प्रदेशसभा : विनियोजित बजेटमाथि छलफल प्रारम्भ

काठमाडौं। बागमती प्रदेशसभामा विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । आज अपराह्न बसेको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल सुरु भएको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाएका जिज्ञासाप्रति उत्तर दिँदै सरकारले आगामी आव २०८०/८१ का लागि ल्याएको बजेट सन्तुलित र समानुपातिक एवं व्यावहारिक भएको दाबी गरे । बजेट सफलापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै प्रतिपक्षले उठाएका मागलाई सम्बोधन गर्ने बताए।

मन्त्री लामाले बजेट प्रस्तुतका क्रममा देखिएका केही कमीकमजोरी र अव्यावहारिक पक्षलाई आत्मसमीक्षा गरेर अगाडि बढ्ने जानकारी गराए । उनले प्रतिपक्ष दलहरूले उठाएका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको र केही समयभित्रै ती मागलाई बजेटको किताबमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे।

बजेटले कृषि उत्पादन, गुणस्तरीय शिक्षाको विकास र स्वास्थ्य उपचार सेवालाई गुणात्मकरूपमा प्रदेशको हरेक अस्पताललाई स्तरोन्नति गरी अगाडि बढाउन प्रयास गर्ने उल्लेख गर्दै मन्त्री लामाले प्रदेश सरकार दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशको राष्ट्रिय गौरवको आयोजना एवं विपन्न जनतालाई आर्थिक आत्मनिर्भर तुल्याउने र भौतिक पूर्वाधारको विकासलाई सहजीकरण गरी समान व्यवहारका साथ योजनाको बाँडफाँट गरी कार्यान्वयन गर्दै लैजाने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।

मन्त्री लामाले आजै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), प्रतिपक्ष दल राप्रपा र नेमकिपासँग मुख्यमन्त्री र आफू बसेर बजेटको विभेद् हटाएर थप योजनाहरू समावेश गरी क्रमिकरूपमा प्रदेशमा कार्यान्वयन गर्दै लैजाने सहमतिका साथ संसद् अवरोध टुङ्गिएको बताए ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारद्वारा ल्याएको विनियोजित बजेट अव्यावहारिक र राजनीतिक स्वार्थमा आधारित भएकाले विरोध गरेको स्पष्ट पारे । उनले प्रतिपक्षहरूले उठाएका योजनालाई क्रमशः सरकारले बजेट पुस्तिकामा समावेश गरी कार्यान्वयन गर्दै लैजाने विश्वास गरी आजदेखि प्रदेश सरकार र प्रतिपक्ष दलसँग सहमति भएको उल्लेख गरे ।

यसैगरी, राप्रपा संसदीय दलका नेता उद्धव थापाले संसद्लाई नियमित सञ्चालन गरी बजेटलाई पारित गर्नका लागि संशोधन गर्नुपर्ने बताउँदै सहमति गरेर आवश्यकताअनुसार बजेट कार्यान्वयनमा लैजानुपर्ने तर्क गरे ।

नेमकिपाका सदस्य सिर्जना सैंजूले सरकारले ल्याएको बजेट सन्तुलित र परिपक्व ढङ्गबाट सार्वजनिक हुन नसकेको भन्दै चिन्ता व्यक्त व्यक्त गरे । उनले प्रदेश सरकार जनताप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै आत्मसमीक्षा गरेर बजेट कार्यान्वयन पक्षलाई दरिलो र प्रभावकारी बनाउन सुझाव दिए ।

उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री लामाले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गरे।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक असार १९ गते मङ्गलबार अपराह्न ३ बजे बस्नेगरी आजको बैठक स्थगित गरे। आजको बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको भए पनि सरकार र प्रतिपक्षको वार्ता लम्बिएपछि ढिला गरी छलफल सुरु भएको थियो ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved