ललितपुरलाई हरित पालिका बनाउने कोसिस गरिरहेका छौंः उपप्रमुख बज्राचार्य

नेपालभ्युज

ललितपुरलाई हरित पालिका बनाउने कोसिस गरिरहेका छौंः उपप्रमुख बज्राचार्य

काठमाडौँ । ग्रामीण समुदायको शिक्षामा जलवायु परिवर्तनको असरका मुद्दालाई सम्बोधन गराउन तीनै तहका सरकार र सबै नागरिकले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ एजुकेसन, डेभलपमेन्ट अफ एजुकेसन’ ले आज आयोजना गरेको ‘ग्रिन स्कुल : एजुकेशन फर अ सस्टेनेबल प्लानेट’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरकारी अधिकारी, शिक्षाविज्ञ, राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले जलवायु परिवर्तनले ग्रामीण समुदायका मानिसका जीवनका सबै आयाममा तिव्रतर, अनपेक्षित एवं दूरगामी असर पार्ने भएकाले जलवायु अनुकूलनका अशल अभ्यासका आधारमा जनचेतना फैलाउन आग्रह गरिएको हो ।

वक्ताहरुले दिगो विकासका लक्ष्यहरु हासिल गर्न दक्षिण एसियाली क्षेत्रमा हरित विद्यालय अवधारणमा भएका कार्यको प्रवर्द्धन र सहकार्यमा जोड दिँदै नीतिगतका साथै व्यावहारिक हस्तक्षेप गर्न सुझाएका थिए ।

कार्यक्रममा ललितपुरमा महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले हरेक नागरिकले धर्ती मेरो मात्र होइन र मान्छेको मात्र होइन भन्ने कुरालाई आत्मसात् गरेर भावी पुस्ताका लागि हस्तान्तरण गर्नुपर्छ भन्ने सोच्न सकेमा जलवायु परिवर्तनका जोखिम न्यूनीकरणमा साझा दायित्वको प्रत्याभूति हुने बताइन् ।

उनले आफ्नो महानगरपालिकाले बिरुवा अध्ययन गर्ने सल्लाहकारसमेत राखेर हरित पालिका बनाउने कोसिस गरेको सुनाइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले सरकारले एक विद्यालय : एक बगैँचालाई कार्यक्रम र अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी गराए।

काठमाडौँ विश्वविद्यालयका ‘स्कुल अफु एजुकेसन’ का डीन डा बालचन्द्र लुइँटेलले सामाजिक रुपान्तरणका लागि शिक्षा भन्ने ध्येयका साथ आफूहरुले विद्यालयका बगैँचालाई कक्षा कोठासँग जोड्ने विधिहरुमा बढी ध्यान दिँदै आएको जानकारी दिए ।

कार्यक्रममा भारत, पाकिस्तान, बङ्गलादेशलगायतका मुलुकका विभिन्न विश्वविद्यालयका प्रतिनिधिले सम्बन्धित मुलुकमा जलवायु परिवर्तनको असर न्यूनीकरण र हरित विद्यालयका लागि भएका अभ्यासबारे भर्चुअल माध्यमबाट प्रस्तुतीकरण गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved