प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने शिर्ष नेताहरुबीच सहमति : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने शिर्ष नेताहरुबीच सहमति : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताएका  छन् ।

बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने आफूहरुका बीचमा सहमति भएको बताएका हुन् । उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धती अनुसार काम गरिरहेको बताए ।

‘हामीहरुको भेट बढी चाहीँ सदनलाई कसरी सुचारु रुपले लैजाने, त्यहाँ समितिहरु बनाउने, संयुक्त समितिहरु बनाउने विषयमा नै छलफल हामीले गरेको हो । तपाईहरुलाई लागेको छ त्यही एउटै केसमा होला भनेर त्यो चाहीँ होइन । आशंका गर्नुपर्ने केही कारण छैन । हामीले बिल्कुल क्लियर भाषामा भनेका छौँ । दोषि कोही नछुटोस् । निर्दोष कोही नपरोस्’ उनले भने,  ‘प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर हामीले स्ट्यान्डिङ अर्डर दिएकै छौँ प्रहरीलाई । प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा दुविधा हुनुपर्ने, आशंका गर्नुपर्ने केही कारण छैन ।’

‘जे भएको छ विधि, विधान अनुसार, नियम, पद्धती अनुसार प्रहरीले आफ्नो काम गरेको छ ।’ हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ । यो विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडी बढाएको छ, उसलाई कुनै डिस्टर्ब गर्नु हुँदैन भन्ने हाम्रो सबैको सहमति छ, उनले भने ।’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषि देखिएकाहरुलाई प्रहरीले नछाड्ने बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए ।

उनले भने, ‘अनुसन्धानले माग गर्ने हदसम्म, अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानको निम्ति तानिएका  छन् । यसलाई निष्कर्षमा पुर्‍याउन हामी दृढ छौँ । केपी ओली र म बीच के सहमती भयो भने (केही दिन अघिको बालकोटमा भएको भेटमा) यो सामान्य भ्रष्टाचारको केश मात्रै होइन । यो राष्टको अपमान गर्ने, राष्टको स्वाभिमान गिराउने, राष्ट्रघाती कुकर्म पनि हो । त्यसकारणले यसका बिरुद्ध अनुसन्धानको प्रक्रिया अगाडी बढाउनुपर्छ ।

‘दोषि जोसुकै भएपनि कारबाही गर्नुपर्छ भन्नेमा सहमती भयो र मैले त्यसमा सहयोगको माग गरेँ । आड, भरोसाको माग गरेँ । उहाँले म सहयोग गर्छु पुरै । निर्दोष नफस्नेगरी र दोषिलाई नछोड्नेगरी अगाडी बढ्नुस् भन्नुभयो । जुन मैले निर्देशन प्रहरीलाई दिएको छु’ उनले भने, ‘त्यसको आधारमा प्रहरी निर्भिकतापूर्वक, निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडी बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन लागिपरेको छ । जो अनुसन्धानले देखाउँछ, उनीहरुलाई प्रहरी प्रशासनले छोड्दैन ।’

उनले प्रहरीले निर्भिकतापूर्वक र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडी बढाइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved