रवि लामिछाने र सिके राउतसँगै ‘नयाँ शक्ति’हरूको सहकार्य हुँदै

माओवादीलाई उछिन्दै तेस्रो शक्ति बन्ने तयारी

स्रोतका अनुसार कांग्रेस र एमाले पछिको तेस्रो दल माओवादी केन्द्रको भन्दा बढी सिटको तयारीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा‍.सिके राउत छलफलमा छन्।

रवि लामिछाने र सिके राउतसँगै ‘नयाँ शक्ति’हरूको सहकार्य हुँदै

काठमाडौं। प्रतिनिधिसभामा तेस्रो शक्तिको रूपमा रहेको सत्ता गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रलाई चुनौती दिन ‘नयाँ शक्ति’को रूपमा उदायका दलहरूले तयारी थालेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टी नेकपा माओवादी केन्द्रको संसदमा ३२ सिट छ। यो तेस्रो शक्ति हो। स्रोतका अनुसार कांग्रेस र एमाले पछिको तेस्रो दल माओवादी केन्द्रको भन्दा बढी सिटको तयारीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा‍.सिके राउत छलफलमा छन्।

उपराष्ट्रपति निर्वाचनको बेलादेखि नजिकिएका यी दुई दल वैशाख १० को उपनिर्वाचनसँगै झन् नजिक छन्। उपराष्ट्रपति निर्वाचनमा रास्वपाले जनमतकी उम्मेदवार ममता झालाई मत दिएको थियो।

पछिल्लो समय रास्वपा, जनमत पार्टीसँगै नागरिक उन्मुक्ति र प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सहकार्य गर्ने तयारीमा रहेको बताइन्छ। यदि यो प्रयास सफल भएमा संसदमा ३३ सिट हुनेछ। हाल रास्वपाको २१, जनमत पार्टीको ७, नागरिक उन्मुक्ति पार्टीको ४ र प्रभु साहको १ सांसद छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल पनि जनमतसँगको सहकार्यको कुरा स्विकार गर्दछन्। ‘हो,जनमत पार्टी र हामी धेरै कुरामा सहकार्य गर्नसक्ने ठाउँमा छौं’ उनले नेपालभ्युजसँग भने,–‘एजेन्डाका हिसाबले हामीलाई जनमत पार्टीसँग सँगै हिँड्न धेरै असजिलो छैन। पुराना दलहरूले भनेजस्तो कार्यगत एकता होइन, तर हामी सहकार्य गर्छौं।’

उनले नागरिक उन्मुक्ति पार्टी र आमजनता पार्टीसँग चाहिँ त्यो खालको कुराकानी नभएको तर, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि एक-अर्कामा नजिक रहेकोले एजेन्डाहरूमा छलफल गरेर सहकार्य गर्न सकिने बताए।

रवि लामिछाने र सिके राउतबीचको भेटघाट बाक्लिँदै गएपछि नयाँ शक्तिको रूपमा उदायका नागरिक उन्मुक्ति र आम जनता पार्टी पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बुझिएको छ। यद्यपि, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ हाल सरकारमा मन्त्री छिन्।
अन्य तीन दल भने सरकारमा छैनन्। त्यसमा पनि रवि लामिछाने र प्रभु साहको पार्टीले समर्थन फिर्ता लिएको छैन भने जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै गठबन्धनबाट समेत अलग्गिएको घोषणा गरिसकेको छ।

उता नयाँ शक्तिहरूको कार्यगत एकताको सुईंको पाएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्नो ३२ सिट माथि जसपाको १२ र नेकपा एकीकृत समाजवादीको १० सिट मिलाएर ५४ सिट सहितको सशक्त तेस्रो शक्ति बनाउने प्रयाससमेत गरेका छन्। यसको गृहकार्य भइरहेको तर तीन पार्टी मात्रै भन्दा पनि समाजवादी धारका सबै पार्टी मिलाएर समाजवादी केन्द्र नै बनाउने प्रयासमा रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन्।

समाजवादी केन्द्र बन्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र पूर्वमाओवादी घटकहरू समेत थपिनेछन्।
यसैको तयारीमा बारा-२ बाट उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरूको दौडधुप देखिन्थ्यो ।

तर, पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसँग समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष यादव खुसी छैनन्।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारमा आफ्नो पार्टीलाई हटाएर रास्वपा र जनमतलाई प्रवेश गराउन खोजेको अध्यक्ष यादवको बुझाइ छ।

यता समाजवादीका अध्यक्ष नेपालले त प्रचण्डको व्यवहारले दुःखी भएको भन्दै खुलेरै गठबन्धन धरापमा पर्ने बताइसकेका छन्। नेपालले भनेका छन्–‘हामी गठबन्धन टिकाउन हरेक प्रयास गरिरहेका छौं, टिकाउने क्षमता, खुबी र हिस्सेदारी पनि छ । तर, हामीलाई नै पीडा दिन थालेपछि मर्माहत भएका छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved