दाइजोको निहुँमा आगोले जलाएर हत्या प्रयास

दाइजोको निहुँमा आगोले जलाएर हत्या प्रयास

जनकपुरधाम । धनुषामा पुनः एक महिलालाई दाइजोको निहुँमा जिउँदै आगोले जलाएर हत्या गर्ने प्रयास गरिएको छ ।

दाइजो वापत तीन तोला सुन नदिएको भन्दै श्रीमान् सहित परिवारका अन्य सदस्यहरु मिलेर श्रीमतिलाई जिउँदै जलाएर मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया स्वेता झालाई आफ्नै श्रीमान राजिव झा सहित परिवारका अन्य सदस्यले आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन् ।

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएकी स्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्य संग मिलेर आफूलाई शरीरमा आगो लगाई जलाएर मार्ने प्रयास गरेको जानकारी दिइन् ।

स्वेताले आफूलाई श्रीमान राजिव, ससुरा शिवशंकर झा, सासु र देवर लगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो विवाह भएको १० वर्ष वितिसक्दा पनि दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई सुरु देखि नै कुटपिट गर्दै आएका थिए । अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरे ।’

‘घटना नयाँ वर्षका दिन वैशाख १ गते हो । राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेको थियो । मैले छोरालाई बचाउन खोज्दा आफ्नो भाइ, बुबा र आमाको सहयोगमा मेरो शरीरमा आगो लगाइ हत्या गर्ने प्रयास गरे’, स्वेताले रुँदै भनिन् ।

राजिवको परिवारले आफूलाई कुटपिट गरेर शरीरमा आगो लगाएर घाइते भएपनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको उनले दुःखेसो पोखिन् । उनले भनिन्, ‘म आगोमा जलेर घाइते अवस्थामा यतिका दिन देखि छटपटाइ रहेको बारे माइतीलाई जानकारी गराएपछि बुवा र भाइ यहाँ आएर अस्पतालमा उपचारको लागि भर्ना गराउनुभयो।’

घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगा स्थित पोठिया गाउँ माइत रहेकी स्वेताका बुबा जयकुमार झा, भाइ लगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका हुन् । स्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

घाइते अवस्थामा रहेकी स्वेताले श्रीमान राजिव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताइन् । त्यतिबेला आफ्नो बुबाले २ लाख भारतीय रुपैयाँ दिएपनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक पटक आफूलाई प्रताडित गर्दै आएको आरोप लगाएकी छिन् ।

स्वेताले विवाह पश्चात् आफ्नो बुबाले निरन्तर राजिव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समेत सुनाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved