ग्राउन्ड जिरो– चितवन २

रविलाई मतदाताको प्रश्न- ५ वर्षका लागि चुनेर पठाएका थियौँ, फेरि चुनाव हुने अवस्था कसरी आयो ?

रविलाई जिताएमा उनको राहदानी प्रकरणले फेरि पद जाने र फेरि पनि चुनावै हुने चितवनवासीको आशंका

नेपालभ्युज

रविलाई मतदाताको प्रश्न- ५ वर्षका लागि चुनेर पठाएका थियौँ, फेरि चुनाव हुने अवस्था कसरी आयो ?

भरतपुर। ६ महिनाअघि ४ मंसिरको निर्वाचनमा चितवनमा जताततै घण्टीको एकोहोरो किरिङरिङ आवाज घन्किराख्थ्यो। स्वतः स्फूर्त सबै सडकमा निस्किरहेका देखिन्थे। तर, ठिक ६ महिनापछि दोस्रो पटक हुन लागेको उपनिर्वाचनमा परिस्थिति फेरिएको छ।

पछिल्लो केही सातायता चितवन २ का विभिन्न क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार समेत रहेका सभापति रवि लामिछाने भोट माग्न हिँडिरहेका छन्। तर, अघिल्लो निर्वाचनको जस्तो भीड छैन।

विगतझैँ घर–घरबाट घण्टी बोकेर निस्किनेको जमात पनि देखिँदैन।
‘घण्टी’ को पक्षमा लहर बिस्तारै कम भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र आफूलाई घेराबन्दी गरिएको भन्दै रविले मतदाताको सहानुभूति बटुल्ने प्रयास गरिरहेका छन्। समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक हुँदा उनले ७२ घण्टाभित्र सार्वजनिक गर्न नसके ‘यहीँ बलि चढाउनू।’

यो चुनावमा धेरैले मत हाल्ने जाँगर देखाएका छैनन्। अर्कोतर्फ रविप्रतिको आकर्षण कम भएको छ। किनकि फेरि दोहोराएर चुनाव हुनुको कारण रविलाई देखेका चितवनका केही मतदाता रविप्रति खुसी छैनन्। यो चुनावमा थोरैले भोट हाल्न जाँगर देखाए पनि, फेरि दोहोराएर भोट हाल्न जान परेकामा दिक्क मानेका छन्।

चितवनमा ‘रवि मोह’, तर अघिल्लो चुनावको मत जोगाउन चुनौती

नेपाल भ्युजको स्थलगत रिपोर्टिङमा चितवनमा मतदाताले व्यक्त गरेको भावनाले यसको प्रस्ट संकेत गरेको छ । विगतमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा भोट हाल्दै आएका मतदातामध्ये थुप्रैले यसपल्ट रासवपाका उम्मेदवारतर्फ झुकाव देखाए पनि उनलाई कानुन मान्न छुट नभएको भन्दै सचेत गराइरहेका छन्।

रास्वापाको चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार रवि लामिछाने

रविको लापरबाहीका कारण राज्यले दोहोरो खर्च गरेर चुनाव गर्नु परेको र आफूहरूले समेत दुख पाएको उनीहरूको गुनासो छ। भ्रष्टाचारमुक्त समाज बनाउने, सुशासन र विकास दिने भनी गरेका वाचातर्फ मतदाता आकर्षित देखिए पनि उनीहरूले सभापति तथा उम्मेदवार रविकै कार्यशैली अपरिपक्व भएको भन्दै गुनासो पोखेका छन्।

‘‘रास्वपाले जान्नेलाई छान्ने नारा बनाएको छ। तर, रवि आफैँले पुन नागरिकता लिएका रहेनछन्। पुरानै नागरिकता लिएका रहेछन्। यसकारण हामीले जिताएपछि उनको सांसद पद गयो। फेरि नागरिकता पुन प्राप्तीगर्दा गर्दा विदेशी नागरिकता त्यागेको निस्सा बुझाएका छैनन् भन्ने कुरा आएको छ। अर्कातर्फ राहदानी दुरुपयोग मुद्दा चलिरहेको छ’’ कालीका १ की पार्वती अधिकारी भन्छिन्, ‘‘यदि उनी आफ्नो मुद्दा राफसाफ गरेर चुनावमा आएको भए, प्रक्रिया पुरा गरेर नागरिकता लिएको भए आज फेरि चुनाव गर्नै नपर्ने थियो। पाँच वर्षलाई चुनेर पठाएको पाँच महिनामै फेरि चुनाव गर्ने दिन कसको कारण आयो?’’

संसदमा ठूलो हैसियतमा रहेका एमाले, कांग्रेस, माओवादीप्रति नागरिकहरू चरम निराश र आक्रोशित भए पनि रविको विभिन्न कार्यशैलीका कारण उनीप्रति आकर्षण समेत घटेको कतिपयको बुझाइ छ।

जसप्रति किन उघ्रिएन जनप्रतिनिधिको दृष्टि ? के चाहन्छन् चितवन- २ का मतदाता ? (भिडिओ)

‘‘ठुला तीन दलले एकलाई अर्कोको विकल्प भनी अहिलेसम्म अर्थ्याउँदै आएको रास्वपाका धेरै गल्ती कमजोरी देखिए। मन्त्री बन्न पैसाको बार्गेनिङ गर्ने, रवि आफैँ मन्त्री भएपछि विना प्रतिस्पर्धा एक सातामै विदेशै कम्पनीलाई संवेदनशील विषयको ठेक्का दिने काम भएको छ। चुनाव लगतै सरकारमा जाने, आफूले भनेको मन्त्रालय चाहिनैपर्ने, आफ्नो स्वार्थ पुरा नभएपछि सरकारबाट बाहिरिने काम शोभनिय होइन। देशलाई राजनीतिक अस्थिरताको सिकार बनाएको घटनाबाट वाक्क भएको हामीले भोट दिएका हौँ, फेरि नयाँ पार्टीले पनि उही पारा देखाएपछि कस्लाई विश्वास गर्नु ?’’

धेरै मतदातालाई स्थापित दलहरूप्रति वितृष्णा भए पनि नयाँले पनि पुरानै दलको चरित्र देखाएको भन्दै असतुष्ट छन्।
भरतपुर १२ का स्थानीय राजनारायण अधिकारी भन्छन्, ‘‘बरु विगतमा रुख, सूर्यलगायत चिह्नमा भोट हाल्नेले ४ मंसिरमा ‘घण्टी’ रोजेको थिए। फेरि उनीहरु पुरानै ठाउँमा फर्कने अवस्था छ।’’

भोट माग्न जाँदा मतदाताले सोधेको प्रश्नमा रविले भने ढाँटछल गर्दै आएका छन्। चुनाव जितेर काम गर्न थालेपछि चुनौती देखेर आफूलाई अनेक विवादमा फसाउन खोजिएको उनको आरोप छ। रविले आफ्नो बचाउमा मतदातालाई जिकिरपूर्ण जवाफ दिँदै आएका छन्, ‘‘नागरिकतामा समस्या थियो भने पहिल्यै निर्वाचन आयोगले किन हेरेन ?’ आरोप त गौतम बुद्धलाई पनि लागेको थियो । आरोप लाग्दैमा दोषी भन्ने हुँदैन ।’’

चितवन २ मा रविसँगै कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेबीच तीव्र प्रतिस्पर्धा छ। मंसिरमा भएको निर्वाचनमा रविका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए। त्यस्तै, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत ल्याएका थिए । जुन आँकडाबाट एमाले र कांग्रेस एकै हैसियतको रहेको प्रमाणित हुन्छ । तैपनि, एमाले आफ्नो पुरानो विरासत फर्काउन लागिरहेको छ।

रविलाई जिताएमा उनको राहदानी प्रकरणले फेरि पद जाने र फेरि पनि चुनावै हुने चितवनवासीको आशंका

यसअघि, चितवन– २ मा एमालेका कृष्णभक्त पोखरेलले दुईपटक जित हासिल गरे पनि मंसिरको चुनावमा रविको सामु उनी लगभग निरीह भएका थिए । जनता सचेत भएकाले अबको जित आफूहरूको पक्षमा आउने एमाले र कांग्रेसका उम्मेदवारको दाबी छ।

उपचुनावको मुखैमा भएको विभिन्न किसिमका आरोप रविको जितका लागि तगारो बनेको एमालेकांग्रेसको विश्लेषण छ। रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको जस्ता विषयलाई उनीहरूले चुनावी मुद्दा बनाएका छन्।

उनलाई कारबाही गर्दै पार्टी र सांसदबाट हटाइए पनि रविको कोर टिमले पैसा माग्न लगाएको भन्ने चर्चाले केही भोट घट्ने रास्वपाकै कार्यकर्ताको आकलन छ। यदि यसो भएमा मतदाताको विकल्प आफू बन्ने एमाले र कांग्रेस दुवै दलको विश्वास छ । तर, अहिलेसम्मको अवस्था हेर्दा रविलाई नजिकबाट चुनौती दिने अवस्थामा भने अरू उम्मेदवार पुगिसकेका छैनन् ।

घण्टी ध्वनिको इपिसेन्टर चितवन, परकम्प तनहुँ !

नेता घुमीफिरी आइपुगे, जनताका दुःख उस्तै

उपनिर्वाचनको प्रचार तीव्र, चुनाव जित्ने आ-आफ्नो दाबी (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved