ग्राउन्ड जिरो– चितवन २

घण्टीको ध्वनिसँग झस्किरहेका दुई ठूला दलका जिल्ला अध्यक्ष, मत फर्काउन रस्साकस्सी

रविले अघिल्लोपटक पाएको मत खोस्न सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जीतनारायण र एमालेका रामप्रसाद घरदैलोमा व्यस्त छन्। के उनीहरुको प्रयास सफल होला ? कांग्रेस र एमालेको चुनावी अभियानबारे चितवनबाट स्थलगत रिपोर्ट ।

घण्टीको ध्वनिसँग झस्किरहेका दुई ठूला दलका जिल्ला अध्यक्ष, मत फर्काउन रस्साकस्सी

भरतपुर। चुनाव प्रचारमा विभिन्न वडामा भोट माग्दै हिँडेका कांग्रेस कार्यकर्ताको गाडी आइतबार अपराह्न ४ बजे चितवन ११ को मुनाल चोकमा रोकियो। जहाँ थिए, कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ पनि । मुनाल चोकको कोणसभालाई सम्बोधन गर्न काठमाडौंबाट आएका रहेछन्, कांग्रेस नेता उदय शमशेर राणा। महामन्त्री गगन थापा आउने भनिए पनि पछि राणा आएका थिए ।

जितको खोजीमा गठबन्धनका कार्यकर्ता अघि पछि लगाएर हिँडिरहेका जितनारायणले सभा सुरु गरे। सबैलाई थाहा छ, कांग्रेसको चुनाव चिन्ह रूख हो। संयोगवश मुनाल चोककै पीपलको रूखमुनि सभा थियो ।

पीपलको रूखको फेद घेरेर बनाइएको बस्ने ठाउँ मञ्च थियो। वरपर ५०-६० जनाको हाराहारीमा मानिस थिए। हेर्दा चुनावी सभाभन्दा पनि घरदैलो कार्यक्रम जस्तो देखिन्थ्यो। हुन पनि त्यो ठूलो सभा नभएर घरदैलोकै क्रममा चोक-चोकमा गरिँदैआएको कोणसभा थियो।

मुनाल चोकको सभामा उम्मेदवार जीतनारायण श्रेष्ठ, कांग्रेस नेता उदय शमशेर राणालगायत ।

नेताहरूले भाषणमा तत्कालीन अवस्थामा रास्वपाको जीतलाई हावाहुरीको संज्ञा दिँदै त्यस्तो सधैँ नआउने दाबी गरे। उम्मेदवार जीतनारायणले आफ्नो प्रतिस्पर्धा एमालेसँगै हुने बताउँदै भने, ‘‘मुलुकको कुनै पनि कालखण्ड र परिवर्तनमा योगदान नै नभएको पार्टीलाई जनताले सधैँ विश्वास गर्दैनन्। हावाहुरी सधैँ आउँदैन।’’

काठमाडौंदेखि आएका अतिथि उदय शमशेर राणाको बोल्ने पालो आयो। ज्यामितीका स्वयंसिद्ध तथ्यझैँ उनले बोले, ‘‘हाम्रा उम्मेदवार जीतनारायणले चुनाव जित्नुहुन्छ।’’

चर्चामा चितवन

चितवन क्षेत्र नम्बर २ यति बेला चर्चामा छ। मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा अत्यधिक मतले विजयी रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि सांसद पद खारेज भएको थियो । त्यसैकारण चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो । अहिले यस क्षेत्रमा चुनावी रस्साकस्सी जोडतोडले बढेको छ।

देशैभरमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित लामिछाने पुनः चुनावी मैदानमा छन्। रविविरुद्ध यस क्षेत्रबाट एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति जीतनारायण उठेका छन्। दुई ठूला दलका जिल्ला अध्यक्ष तथा एक दलका केन्द्रीय सभापति नै उम्मेदवार भएकाले पनि यस क्षेत्रको चुनाव रोचक बनेको छ । रविले अघिल्लोपटक पाएको मत खोस्न सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जीतनारायण र एमालेका रामप्रसाद घरदैलोमा व्यस्त छन्।

 

रास्वपाको चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार रवि लामिछाने

सत्ता गठबन्धनमा चिसो

शनिबार अपराह्नदेखि आइतबार अपराह्नसम्म यही चुनावी टोली पछ्याउँदै उम्मेदवार, मतदाताको अन्तर्क्रिया नियालिरहेको नेपालभ्युजको टिमले सत्ता गठबन्धनको मुख्य घटकभित्र व्याप्त चिसोपना प्रस्टै अनुभव गर्‍यो। कांग्रेसबाहेक अरू दलका नेता कार्यकर्ता खासै थिएनन्।

रूखमुनि बसेर रूखलाई भोट मागिएको सभामा कांग्रेसबाहेक अरू दलका एक-दुईजना नेता आएका थिए। त्यो पनि बाध्यताले हुनुपर्छ । थोरै देखिएका गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादीका कार्यकर्ता भने खुला दिलले रूख चिह्नमा भोट मागिरहेका थिए।

चितवनमा ‘रवि मोह’, तर अघिल्लो चुनावको मत जोगाउन चुनौती

तैपनि, आफ्नै दलबाट उपचुनावमा संसद्को उम्मेदवार पाएर पनि स्वयं कांग्रेस कार्यकर्ता भने विभाजित देखिए। विगतदेखि नै दलभित्र झाँगिएको गुटगत तुष, अनि कार्यकर्ता र मतदाताबीच तुलनात्मक रूपमा कम चिनिएका र केही विवादमा मुछिएका उम्मेदवार जीत नारायण नै यसको मूल जड रहेछन्।

भरतपुर-११ को मुनालचोकमा कांग्रेसको सभामा उपस्थित भएकाहरू

कांग्रेस क्षेत्रीय कार्यसमितिका एक पदाधिकारीले हामीसँग भने, ‘‘रवि लामिछानेलाई हराउन हामीलाई कठिन छैन तर, त्यसका लागि आन्तरिक एकता निर्माण नै चुनौती बनिदियो। गठबन्धनमा पनि कसले भोट देला नदेला भन्ने चिन्ता छ।’’ यसले पनि स्पष्ट हुन्छ एकातिर कांग्रेसमा आन्तरिक र अर्कातिर गठबन्धनमा विश्वासको संकट छ ।

गठबन्धनमा अविश्वास नरहेकाले जितनारायणले सबैको भोट पाउने कतिपय कार्यकर्ता बताउँछन्। जे भए पनि जीतनारायण चुनौतीरहित छैनन्। यसैले प्रत्येकको चित्त बुझाउन द्रुत गतिमा घरदैलो गरिरहेका छन्। उनी आफू बलियो दाबी गर्दै अरूभन्दा बढ्ता भोट पाउने अपेक्षा राख्छन्। नेपालभ्युजसँग उनले भने, ‘‘मलाई चुनाव जित्न सहज छ ।’’

यसपालि पनि बज्ला घण्टी ?

यसअघिको चुनावमा रास्वपाका सभापति रवि लामिछानेले ३४ हजार फराकिलो मतान्तरले चुनाव जिते। एमाले मात्रै नभई कांग्रेस र गठबन्धनतर्फ ढल्किँदै आएको परम्परागत भोट काटियो । अघिल्लो ४ मंसिरको चुनाव जस्तो घण्टिकै पक्षमा माहोल बन्ने हो की भन्ने गठबन्धन उम्मेदवारलाई मात्र होइन एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई पनि चिन्ता छ।

विगतमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा भोट हाल्दै आएका मतदातामध्ये थुप्रैले मंसिरमा नयाँ पार्टी र उम्मेदवारतर्फ झुकाव राखे। यसपल्ट पनि अहिलेसम्मको चुनावी रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी नै अघि देखिन्छ । मंसिरमा घण्टीमा भोट हालेका केहीले यसपल्ट फेर्ने बताएको पाइन्छन् । तर त्यो संख्या धेरै ठुलो छैन । तुलनात्मक रूपमा घण्टीले पुरानो मत संरक्षण गर्न नसक्ने देखिएको स्थानीय जनकराज घिमिरे बताउँछन्।

कालीका १ मा भेटिएकी पार्वती पराजुली भन्छिन्, ‘‘वर्षौंदेखि हामी एमालेका मतदाता हौँ । मंसिरमा भएको चुनावमा भोट घण्टीमा दिएका थियौँ । अब पुग्यो। उसले पनि पारा देखायो।’’ रवि लामिछानेको मत पहिले भन्दा घट्ने लगभग निश्चित छ । तर त्यो कति हुन्छ भन्ने अझै स्पष्ट छैन ।

जसप्रति किन उघ्रिएन जनप्रतिनिधिको दृष्टि ? के चाहन्छन् चितवन -२ का मतदाता ? (भिडिओ)

रामप्रसाद पनि बलिया

यसअघि, सहज जित हासिल गरेका रविलाई चितवन २ बाट फेरि पनि जित्नैपर्ने दबाब छ । तर, एमालेले युवा उम्मेदवार उठाइदिएकाले उनलाई चुनौती बढेको कतिपयको तर्क छ । स्थानीय क्षेत्रमा भिजेका ४३ वर्षिय रामप्रसादका कारण रविलाई पहिलेको मतान्तर कायम राख्न चुनौतीपूर्ण रहेको मतदाता बताउँछन्।

‘‘यसपालि रविलाई भोट दिन्न भन्नेका लागि रामप्रसाद प्रतिस्पर्धी बनेर आएका छन्, उहाँको क्रेज र माहोल रविको जत्तिकै देखिन्छ’’ कालीका १ गुम्बा चोकमा भेटिएका नागेन्द्र गिरी भन्छन्।

उनका धेरै मतदाता मंसिर ४ को चुनावमा आएको मतान्तर अहिले दोहोरिन नसक्ने बताउँछन् । कालिका नगरपालिका– १ का ८४ वर्षीय चेतनाथ भट्टराई भन्छन्,‘‘ नयाँ मात्र भनेर हुँदोरहेनछ। काम पनि गर्न सक्नुपर्ने रहेछ। यसैले होला पहिलेको जस्तो रविको पक्षमा माहोल छैन। हारजित यसै भन्न सकिँदैन।’’

कालिका-१ मा घरदैलोको क्रममा मतदाताले एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई आशीर्वाद दिँदै

मंसिरमा भएको निर्वाचनमा लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए। त्यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत ल्याएका थिए । जुन आँकडाबाट एमाले र कांग्रेस एकै हैसियतको रहेको प्रमाणित हुन्छ । तैपनि, एमाले आफ्नो पुरानो विरासत फर्काउन लागिरहेको छ।

यसअघि, चितवन– २ मा एमालेका कृष्णभक्त पोखरेलले दुईपटक जित हासिल गरे पनि मंसिरको चुनावमा रविको सामु उनी लगभग निरीह भएका थिए । जनता सचेत भएकाले अबको जित आफूहरूको पक्षमा आउने एमाले उम्मेदवार न्यौपानेले दाबी गरे । उपचुनावको मुखैमा भएको विभिन्न किसिमका आरोप रविको जितका लागि तगारो बनेको एमालेको विश्लेषण छ। रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको जस्ता विषयलाई एमालेले चुनावी मुद्दा बनाएको छ ।

उनलाई कारबाही गर्दै पार्टी र सांसदबाट हटाइए पनि रविको कोर टिमले पैसा माग्न लगाएको भन्ने चर्चाले केही भोट घट्ने रास्वपाकै कार्यकर्ताको आकलन छ। यदि यसो भएमा मतदाताको विकल्प आफू बन्ने रामप्रसादको विश्वास छ । तर अहिलेसम्मको अवस्था हेर्दा रविलाई नजिकबाट चुनौती दिने अवस्थामा भने रामप्रसाद पुगिसकेका छैनन् ।

कालिका-१ मा घरदैदलोको क्रममा मतदाताले एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई आशीर्वाद दिँदै

– फोटो : सरोज बस्नेत (नेपाल भ्युज)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved