पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशका केही स्थानमा वर्षा

नेपालभ्युज

पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशका केही स्थानमा वर्षा

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले पश्चिमी वायु केही कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले विशेषगरी पहाडी भू–भागहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रि–मनसुन चलिरहेकाले पनि अझै केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । ‘प्रि–मनसुनमा अपराह्नपछि मेघ गर्जन/चट्याङसहित ‘आइसोलेटेड रेन’ खण्ड–खण्ड वर्षा हुन्छ’, मौसमविद नगरकोटीले भने, ‘यो केही समय निरन्तर हुन्छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहन्छ ।’

काठमाडौँ उपत्यकामा साँझपख हल्का वर्षा भएको छ । बिहान र साँझ केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved