प्रधानमन्त्री प्रचण्ड इमानमा अड्न नसकेको ओलीको टिप्पणी

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड इमानमा अड्न नसकेको ओलीको टिप्पणी

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल इमानमा अड्न नसकेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरुको गठजोडमा आफूहरु नलाग्ने बताए । आईतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताए ।

दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उनले इमान नभएकाहरुसँग एकता गर्न नहुने पनि  बताए । यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उनले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दावी समेत गरे ।

ओलीले आफ्नो पार्टीले आगामी ४ वर्ष भित्र राष्ट्रिय शक्तिको रुपमा उदाएर अघि बढने संकल्प लिएकाले सोही अनुसारको गम्भिरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘समृद्ध नेपालः सुखी नेपाली बनाउनका लागि एमाले एक्लैले बहुमत ल्याउन सक्छ । यहाँ बामपन्थी एकता, बामपन्थी एकता । अस्ती भर्खर हामीले गरेर हेरेनौं वामपन्थी एकता ? कुहेँका ढोडको लौरा टेक्न खोजेनौ हामीले । यहाँ प्रधानमन्त्री खुवाईयो ।’

‘एउटा पत्रिकाले अस्ती एउटा कार्टुन निकाले छ । अंकमाल गरेको । मुख उता फर्काको । थुतुनो उतापटि यति लामो निकालेको । मैले यसो हेरेँ–पत्रकारले पनि बुझेकै रहेछ । हामीलाई त थाहा थियो नै । तर पत्रकारले पनि बुझेकै रहेछ । अंगालो मसँग मारेको छ । मुन्टो उता फर्काको छ । थुतुनो यति पसारेको छ’, उनले अगाडी थपे, ‘यस्तो एकता खोजेर, यस्ता एकताको पछाडि लागेर, यस्ता इमानमा अड्न नसक्ने र इमान नभएको स्वार्थका पछाडि कुद्ने तत्वहरुसँग गठजोड गरेर हुँदैन ।

‘आफू कमजोर हुने अनि यता खोज्ने, उता खोज्ने, प्रचण्ड चाल भई गो नि त्यो । त्यो चाल होइन  सुदृढ शक्ति । अव चार वर्ष हामी यसरी आफ्नो शक्ति निर्माण गरौं जहाँबाट हामी हरेक क्षेत्रमा, हरेक ठाउँमा बहुमत प्राप्त गर्न सकौं । हरेक ठाउँमा हामी नै निर्वाचित हुन सक्छौं । त्यो स्थिति हामी बनाउन सक्छौं । कसैको केही लाग्दैन । तर हामीले यस कुरामा लाग्नु पर्‍यो ।’

उनले मुलुकको राष्ट्रियतालाई जोगाउन, मुलुकको स्वाभिमानलाई माथि उठाउन एमाले मुलुकको सुदृढ शक्ति बन्नुको विकल्प नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved