युट्युबरको कठघरामा ऋषि धमलाको ‘चीरहरण’

ब्ल्याकमेलिङमा परिरहँदा पनि निरिह बन्न बाध्य धमलाको अन्तर्कथा

चर्चामा आउन जति नै सोख भए पनि सामाजिक सञ्जालमा तमासाको पात्र बन्न को चाहला र ! तर, भइदियो त्यस्तै । चर्चित पत्रकार ऋषि धमला पछिल्लो केही सातायता यस्तै पात्र बनिरहेका छन् ।

नेपाल भ्युज

युट्युबरको कठघरामा ऋषि धमलाको ‘चीरहरण’

काठमाडौं। चर्चामा आउन जति नै सोख भए पनि सामाजिक सञ्जालमा तमासाको पात्र बन्न को चाहला र ! तर, भइदियो त्यस्तै। पछिल्लो केही सातायता चर्चित पत्रकार ऋषि धमला यस्तै पात्र बनिरहेका छन्। सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर र युट्युबका लाखौँ प्रयोगकर्ता रमिते छन्।

चर्चामा आउनकै लागि युट्युबमा जे पायो त्यही बोल्दै आएकी ‘भाइरल महिला’ तथा स्वघोषित अभियन्ता शर्मिला वाइबा र धमलाको ‘काण्ड’ले सामाजिक सञ्जाल हेरिनसक्नु छ।

शर्मिलाले धमलासँगको व्यक्तिगत सम्बन्धका विषय छताछुल्ल बनाएकी छन्। ‘काजु काण्ड’को नाममा सञ्जालमा धमलाका ट्रोल र किस्सा’ चर्चामा छन्। त्यति मात्र होइन केही युट्युबरले धमला र शर्मिलाको पक्ष र विपक्षमा अनेक फैसला सुनाइरहेका छन्।

यी विषय उनीहरूका नितान्त व्यक्तिगत जीवनका हुन्, तैपनि धमला सार्वजनिक व्यक्ति भएकाले सबैको चासो रहनु अस्वाभाविक होइन। यसैले पनि सञ्जालमा यो विषयमा चर्चा सेलाइसकेको छैन।

बार्गेनिङले तनावमा धमला

युट्युब र टिकटकमा भाइरल अडिओअनुसार केही युट्युबरले धमलाका केही कमजोरीमा टेकेर लाखौँ रुपैयाँको बार्गेनिङ गरिरहेका छन्। आफूलाई पत्रकार दाबी गर्ने युट्युबर (सोसल मिडिया युजर) मनोजकुमार महतो उर्फ मनोज मानवले शर्मिलासँगको गोप्य भिडिओ आफूसँग रहेको भन्दै धमलालाई ‘ब्ल्याकमेलिङ’ गरेको अडिओ नै सार्वजनिक छ।

घरझगडा लगायतका विषयलाई प्राथमिता दिँदै आएको देखिने ‘स्टार अनलाइन टीभी’ नामको युट्युब च्यानलमा शर्मिलाका अन्तर्वार्ता र धमलासँगका केही अडिओ कलका रेकर्ड अपलोड गरिएका छन्।

सार्वजनिक एक अडिओमा आफूलाई पीडित बताउने शर्मिलासँगको संवादमा युट्युबरले धमलाबाट पैसा पाएको आधा घण्टामै युट्युबबाट भिडिओ डिलिट गरिदिने भनेका छन्।

‘भिडिओ नहाली धमलाले टेर्दैन क्या। सबुतसहित हाल्दिऊँ न सिध्याइदिऊँ। त्यसले आखिर तपाईँलाई केही गर्ने होइन, मनोजले यति भनेपछि शर्मिलाले ‘‘भिडिओ हालेर समाधान छ त ?’ भन्दै जिज्ञासा राखेकी छिन्।

जवाफमा मनोजले भनेका छन्, ‘आधा घण्टामा उडाइदिउँला नि त्यो भिडिओ। फेरि म सबै ठाउँबाट डिलिट गर्न लाइदिन्छु नि पैसा पाएपछि। तर, एउटा सबुत पनि चाहियो क्या, केही न केही।’

यसबाट शर्मिलाले धमलालाई लगाएको आरोप सत्य नभएको आँकलन गर्न सकिन्छ। धमलाबाट पैसा असुल्न ब्ल्याकमेलिङ भइरहेको बुझ्न यति संवाद नै काफी हुन्छ।

मान्छेका दु:ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने

बार्गेनिङ गर्न मात्रै बनाइएको भिडिओ भाइरल भएपछि…

भिडिओ प्रसारण नगर्ने र ऋषि धमलालाई धम्क्याउन उनैलाई मात्रै देखाउने शर्तमा अन्तरवार्ता दिएको शर्मिलाले पोल खोलेकी छिन्। तर, युट्युबरले धमला र आफ्नो सम्बन्धबारे दिएको अन्तर्वार्ता शर्तविपरीत अपलोड गरेको शर्मिलाको गुनासो छ।

भिडिओ सार्वजनिक नगर्ने विषयमा दुई पक्षबीच भएको सम्झौता नै शर्मिलाले सार्वजनिक गरेकी छिन्। ‘भिडिओ नहाल्ने सर्तमा वकिल राखेर मिलेका हौँ तर मनोजले भिडिओ राखेर धमलालाई सिध्याइहेको छ,’ शर्मिलाले भन्दै आएकी छिन्।

यसबाट कतिपयले शर्मिलाले धमलालाई लगाएको आरोप सत्य नभएको आकलन गरेका छन्। धमलाको कुनै कमजोरीमाथि टेकेर ‘ब्लाकमेलिङ’ गर्दै पैसा झार्नको लागि भिडिओ बनाएको आशंकालाई बल पुगेको छ। फेसबुक र टिकटक लाइभमार्फत शर्मिलाले पनि आफूहरूबीचको विवादमा पसेर युट्युबरले पैसा मागिरहेको गुनासो गर्न थालेकी छन्।

युट्युबर र शर्मिला वाइबाबिच भिडिओ अन्तरवार्ता युट्युबमा प्रसारण नगर्ने शर्तनामा सहितको कागज

यूट्युबरले धमलासँग ५० लाख र आफूसँग ५ लाख मागेको शर्मिलाले बताएकी छिन्। सामाजिक सञ्जाल हेर्दा धमलामाथि ब्ल्याकमेलिङ गर्नेको प्रतिस्पर्धा नै चलेको देखिन्छ।

आफूलाई ‘जनयुद्ध’को घाइते दाबी गर्ने नरनाथ गौतम नामका ‘भाइरल म्यान’ले समेत धमलालाई धम्क्याएको भिडिओ सञ्जालमा छरपस्ट छ।

‘शर्मिला वाइबासँगको सेक्स भिडिओ मसम्म आइपुग्यो, के गरौँ, उनी न्याय माग्न म कहाँ आएकी छिन्’’ भन्दै नरनाथले धमलालाई फोन गरेका रहेछन्।

उनको आशयमा धमलाले अन्तरवार्ता नलिएको प्रतिशोधका कारण बदला लिन खोजेको देखिन्छ। साथै, ‘केश मिलाइदिने’ भन्दै मोटो रकम असुल्ने योजनामा नरनाथ देखिन्छन्।

शर्मिलाले फेसबुक लाइभमा आफ्नो बेइजत गर्नेहरू भन्दै केही युटयुबरको नाम लिएकी छन्। भाइरलम्यान नरनाथ गौतम, हरि उदासी, युट्युबहरू मनोज मानव, विशाल नेपाल, पासाङ लामालगायतले आफ्नो व्यक्तिगत घटनामा घुसेर बार्गेनिङ गरिरहेको बताएकी छिन्।

पीडितको आँसुमा डलर देख्ने युट्युबरको कठघरामा आमा गुमाएकी ७ वर्षे बालिका

धमलाविरुद्धका आरोप र ‘पटाक्षेप’

२२ माघमा रवि लामिछानेले पत्रकार सम्मेलन गरेर १२ भाइ पत्रकारको नाम लिएसँगै शर्मिला युट्युबमा आइन्। रविले नेपाली मिडियालाई विभिन्न आरोप लगाएसँगै धमलाले आफूलाई ज्वरो आएको बताएका थिए।

लगत्तै शर्मिलाले फेसबुकमा लेख्दै ‘आफूसँग गोप्य सम्बन्ध रहेको र यो खुलासापछि धमलाको थप ज्वरो बढ्ने’ भन्दै सरप्राइज पोस्ट गरिन्। लगतै ‘स्टार अनलाइन टीभी’ नामक एक युट्युब च्यानलमा शर्मिलाको अन्तरवार्ता आयो।

‘धमलासँग आफ्नो ११ वर्ष पुरानो सम्बन्ध रहेको र एक बच्चासमेत रहेको’ भन्दै शर्मिलाले सबैलाई तीनछक पारिन्। त्यति मात्र कहाँ हो र, आफू सहमत नहुँदा नहुँदै पनि धमलाले आफूसँग जबर्जस्ती यौन सम्बन्ध राख्ने गरेको पनि बताइन्।

न्याय चाहिएर आफू मिडियामा आएको उनको भनाइ थियो। धमलाले आफूसँग ३० लाख रुपैयाँ लिएर फिर्ता नदिएको समेत उनको आरोप थियो। यसरी शर्मिलाले बोलेपछि समाजिक सञ्जाल तात्यो। त्यसपछि शर्मिला र धमलासँगै बसेका विभिन्न फोटो र टिकटक भिडिओ भाइरल भए। ‘काजु काण्ड’ समेत यसैमा जोडिएर आइपुग्यो।

ऋषि धमलासँग शर्मिला वाइबा

विगतमा पनि भाइरल हु कुनै हर्कत बाँकी नराखेकी ‘शर्मिला’को सोही भनाइलाई आधार मान्दै कतिपयले धमलालाई ‘बलात्कारी’ सम्मको आरोप लगाए। सञ्जालमा उग्र रूप लिँदै थियो। सो प्रकरणमा ‘क्लाइमेक्स आयो’ जब शर्मिलाले केही दिनपछि अर्को अन्तर्वार्ता दिइन्। बोली फेर्दै शर्मिलाले भनिन् ‘ऋषि धमला जस्तो महान् र असल मानिस विश्वमै छैन।’

युट्युबरले धम्की र प्रलोभनामा पारेर जे पायो त्यही बोल्न लगाएको उनले खुलाइन्। ‘धमलासँग नराम्रो सम्बन्ध नभएको र पवित्र भावनात्मक नाता रहेको शर्मिलाले बताइन्। त्यसपछि पनि सञ्जालमा ‘काण्ड’ सेलाएन, झनै धेरै तातियो।

कहिले ऋषि धमलासँगको सम्बन्धबारे सार्वजनिक रूपमा खुलेर बोल्न चाहेता पनि कुनै कुराले डर मानेको उनले बताइरहिन्। कहिले ‘अदालत पुगेपछि सबै कुरा समयले नै बाहिर ल्याउने’ चेतावनी दिँदै आइन्। कहिले धमलासँग कहीँकेही सम्बन्ध नभएको बताउँदै आइन्।

युट्युबरको अत्याचार: मानसिक समस्या भएकी युवतीलाई समेत छाडेनन्

धमलामाथिको आरोपसँगै पछिल्लो समय युट्युबरले ‘बार्गेनिङ’ गरिरहेका भिडिओ आएका छन्। व्यक्तिगत फोन रेकर्ड सञ्जालमा छाएका छन्। धमला दोषी हुन सक्लान्, तर युट्युबरले नै अनेक फैसला सुनाउँदै भाइरल गराइरहेका छन्।

युट्युबरले ‘काजु काण्ड’ भनेर धमला र शर्मिलाबीचको व्यक्तिगत विषयलाई लिएर चरित्र हत्या गरिरहेका छन्। सुरुमा धमलालाई आरोप लगाएकी शर्मिलाले पनि आफू युट्युबरबाट पीडित भएको गुनासो गरिरहेकी छिन्।

उनीहरूले आफ्ना निजी कुरा बाहिर ल्याइदिन्छु र तँलाई दुनियाँका अगाडि नंग्याइदिन्छु’ भन्दै बारम्बार ब्ल्याकमेलिङ गरेको उनले बताएकी छिन्। त्यही कारण आफूले धमलालाई आरोप लगाउँदै अन्तर्वार्ता दिन बाध्य भएको शर्मिलाको प्रष्टीकरण छ।

आफ्नो चरित्रहत्या हुँदा धमला पनि चैनमा छैनन्। सञ्जालमा भाइरल अडिओ कल रेकर्डमा धमलाले ‘भीमसेन थापाले शेरिएर मर्नुपरेको उदाहरण दिँदै आफ्नो जीवनमा समेत त्यस्तो खतरा रहेको’ चरम पीडा ओकलेका छन्। धमला कति धेरै तनावमा छन् त्यो बुझ्न त्यही संवाद नै काफी हुन्छ।

युट्युबमा फस्टाउँदो छ झुटको खेती : सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू

धमलाको निरिहता

‘जनता जान्न चाहन्छन्’ भन्दै अरुलाई नैतिकता र इमानदारिताको पाठ सिकाउने धमलालाई युट्युबरले अनैतिक र अत्यन्तै तल्लो स्तरको पात्रको रूपमा देखाएका छन्। तैपनि, धमला यस प्रकरणमा मौन छन्। आचारसंहिताको धज्जी उडाउँदै आफूमाथि चरित्र हत्या गरेर खुलेआम बार्गेनिङ गर्नेप्रति धमलाले किन कानुनी उपचारमा जाने आँट गर्न सकेका छैनन् ?

प्रतिष्ठित पेसामा क्रियाशील व्यक्ति धमलाको इज्जत युट्युबरले धूलिसाथ मात्र गरेका छैनन् पैसा माग्दै बार्गेनिङ गरिरहेका छन्। तर, त्यसविरुद्ध धमलाको प्रतिक्रिया केही छैन। उल्टो पीडा सहेर ‘भीमसेन थापाले सेरिएर मर्नुपरेको’ उदाहरण दिँदै बसेका छन्।

सञ्जालमा भाइरल भएको एक अडिओमा युट्युबरसँग धमलाले भनेका छन्, ‘इतिहासमा भीमसेन थापाले शेरिएर मर्नुपरेको थियो नि याद छ। हाँसी मजाक नगर भाइ, जीवन बर्बाद भएपछि सिद्धियो। एउटा मान्छेलाई लगेर बदनाम गरायौ नि।’

त्यति मात्र होइन धमलाले यही कारणले आफ्नो डिभोर्स हुन लागेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘‘तिमीलाई यसमा ठूलो अपराध लाग्छ, मलाई मेरो मिसेसले डिभोर्स दिन्छु भनिसकी, तिम्रो एउटा कारणले।’’

पछिल्लो प्रकरणले धमलाको वैवाहिक जीवनमै संकट आएको उनैले खोलेका छन्। तैपनि सञ्जालमा यति विघ्न बेइजत गर्ने र परस्त्रीसँग जोडेर आफूसँग बार्गेनिङ गर्नेप्रति धमलाको रहस्यमय निरिहतालाई धेरैले आश्चर्य मानेका छन्।

यदि, कसैले गाली गर्‍यो भने मुसुक्क हाँसेर टारिदिने धमलाको शालीन स्वभाव हो। आलोचना र समर्थन हुन्छ भने बुझाइ राख्ने धमलाको सकारात्मक पक्ष हो। तर, युट्युबरको पछिल्लो हर्कत भने सामान्य र सह्य नरहेको उनी निकट व्यक्ति बताउँछन्।

कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

युट्युबरको धन्दाको फन्दा

‘ठूलो ओहोदामा बसेकालाई हाक्काहाक्की प्रश्न गर्ने धमलालाई त युट्युबरले सताएका छन् भने सामान्य व्यक्तिलाई केसम्म बाँकी राखेका होलान् ?’ यो प्रकरणले प्रस्ट पारेको छ।

सिंहदरबारदेखि शीतल निवास, बालुवाटारदेखि बालकोट, सानेपा र पेरिसडाँडा जता पनि सहज पहुँच भएका प्रभावशाली व्यक्ति नै युट्युबरबाट पीडित छन् भने सोझा सिधा नागरिकको हालत के होला ?

युट्युबमा पारिवारिक झगडा र निजी जीवनका बारेमा भिडिओ प्रशस्त भेटिन्छन्। ती प्रकरणमा युट्युबरबाट उनीहरू कति पीडित भए होलान कुनै हिसाब छैन।

धमला र शर्मिलाबीचको वास्तविकता के हो उनीहरू नै जानून्, तर यसरी आफूलाई पत्रकार भन्दै अरूको व्यक्तिगत र सामाजिक चरित्रलाई आघात पुर्‍याउने काम राम्रो नभएको जानकार बताउँछन्। त्यति मात्र नभई मिडियाको आवरणमा धम्क्याउँदै पैसा माग्ने काम गैरकानुनीसमेत हो।

यही प्रकरणबारे सामाजिक सञ्जालमा कतिपयले चिन्ता गर्दै लेखिरहेका देखिन्छन् ‘‘मिडियाको खोल ओढेर अरूको व्यक्तिगत विषयमा घुस्दै बार्गेनिङ गर्ने प्रवृत्तिको अन्त्य गर्न कारबाही जरुरी छ। नत्र पत्रकारिताकै साख थप गिर्दै जान्छ।’’

‘भिडिओले दीर्घकालीन असर के पर्छ’ भन्ने नबुझ्ने तप्काका मानिसको पारिवारिक समस्यामा युट्युबर घुस्ने गरेका छन्। युट्युबरलाई पत्रकार र युट्युब च्यानललाई टेलिभिजन मिडियाको रूपमा बुझेर ‘आफ्ना लागि राहत मिल्छ की’ भन्ने सोचाइमा आफ्नो झगडा र समस्या खिचाइरहेका देखिन्छन्।

युट्युबरले पनि आफैँले पत्रकार घोषणा गर्दै व्यक्तिगत सम्बन्ध, श्रीमान् श्रीमतीको घर झगडा जस्ता विषयमा पीडक, पीडित, उनीहरूका नातेदार, छिमेकीलगायतलाई आफ्नो कठघरामा उभ्याइरहेका छन्। यतिसम्मकी उनीहरूको बिना अनुमति चोटा, कोठा र ओछ्यानसम्म पुगेर भिडिओ खिचिरहेका छन्।

आममानिसले भने युट्यबुरलाई पनि पत्रकारकै रूपमा बुझ्दै आएका छन्। यसैले पछिल्लो समय विकास भइरहेको युट्युबकारिताको शैलीले पत्रकारिताकै बदमान बनाइरहेको छ।

पल शाह प्रकरणमा युट्युबरले फैलाए भ्रम

बलात्कारलाई मजाकको विषय बनाउँदै कलाकार र नेता, पीडितलाई उल्टै आरोप लगाउने क्रम घटेन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved