गोरखामा बाबुराम : गाउँ रित्तो बनाएर समृद्धि आउँदैन

नेपालभ्युज

गोरखामा बाबुराम : गाउँ रित्तो बनाएर समृद्धि आउँदैन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले जनतालाई विकास र समृद्धिसँग जोड्न नसक्दासम्म जस्तोसुकै भौतिक विकास गरेपनि निरर्थक रहने बताएका छन् ।

आफ्नै गृहनगर गोरखा पालुङटारमा आयोजित ‘पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजना’को शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले गाउँमा विकास ल्याउने तर त्यो विकासलाई उपभोग गर्ने मानिस गाउँमा नहुने हो भने त्यसको अर्थ नहुने तर्क गरेका हुन् ।

गोरखाबाट निर्वाचित भएर अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म भइसकेका भट्टराईले गाउँमा नै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नुपर्ने र शहर गएकालाई गाउँमै विकल्पसहित फिर्ता ल्याउनुपर्नेमा पनि जोड दिए । ‘गाउँ रित्तो बनाएर गरिएको विकासले राष्ट्रलाई के दिन्छ ?,’ उनले भने, ‘डाँडापाखो सबै बाँझो राखेर रोजगारीको खोजीमा युवाश्रम पलायन हुनु दुखद् पक्ष हो । गाउँमै रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई रोकौँ ।’

गुणस्तरीय शिक्षा, आधुनिक कृषि प्रणाली तथा जडीबुटीको संकलन र प्रशोधन उद्योग गाउँमै खोल्न सकेमा विदेश जाने युवाशक्ति र छोराछोरीको पढाइका निम्ति शहर बस्नेहरू गाउँमै फर्किनेसमेत उनले बताए ।

गाउँमा सडक आउने तर, जनता बाहिर जाने भएपछि त्यो सडकबाट बेच्ने कुरा केहिपनि नहुने र किन्ने मात्रै भएपछि आर्थिक अवस्था झन् टाट पल्टिने उनको भनाइ थियो । ‘सडक त बन्यो तर, यहाँबाट बेच्ने कुरा केही पनि छैन । गाउँमा कोही नबस्ने । छोराछोरीको पढाइका निम्ति बाबु आमा शहर जाने र उतै बस्ने भयो । गाउँमा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर मिल्यो भने शहर जाने र गाउँघर रित्तिने अवस्था पनि आउँदैन ।’

कार्यक्रमका लागि गोरखा पुग्दा आफ्नो पुर्ख्यौली घरमा रात बिताएका भट्टराईले कृषिको आधुनिकीकरण नहुँदा डाँडा पाखा र खेतबारी सबै बाँझो भएको र गुणस्तरीय शिक्षा अनि उत्पादनमूलक रोजगारीको अभावमा गाउँ रित्तो भएको तितो अनुभवसमेत सुनाए ।

उनले बाटो, पुल, अस्पताल, विद्यालय, बिजुलीजस्ता आधारभूत आवश्यकताका कुरासँगै रोजगारी र स्तरीय शिक्षा गाउँमा अझै हुन नसकेको कारण गाउँ रित्तो भएको बताए । ‘गाउँको विकास भए पो समृद्धि आउँछ । सडक मात्रै आएर समृद्धि हुँदैन, सडक आउने तर श्रमचाहिँ बाहिर जाने अवस्था रहँदा सम्म कसरी विकास हुन्छ ?’

उनले थप भने, ‘बाटो त बन्यो तर गुणस्तरीय शिक्षा छैन । गाउँघर पूरै खाली भइसक्यो । शहरका मानिस गाउँ फर्कने अवस्था भए मात्रै समृद्धि आउँछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved