आरोन फिन्चले घरेलु टी–२० प्रतियोगितालाई निरन्तरता दिने

नेपालभ्युज

आरोन फिन्चले घरेलु टी–२० प्रतियोगितालाई निरन्तरता दिने

काठमाडौं। अस्ट्रेलियाका टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका कप्तान आरोन फिन्चले घरेलु टी–२० प्रतियोगितालाई भने निरन्तरता दिने भएका छन्।

सन् २०२४ को टी–२० विश्वकपमा सहभागी हुन नसक्ने महशुस भएसँगै टोलीलाई सोहीअनुरूप योजना बनाएर अघि बढ्न मद्दत पुगोस् भनेर उनले सन्यास लिएका थिए।

फिन्चले बिग बाश लिगलगायतका घरेलु टी–२० प्रतियोगितालाई निरन्तरता दिनेछन्। ओपनिङ ब्याटर फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए।

अस्ट्रेलियालाई सन् २०२१ मा पहिलो टी–२० विश्वकपको भूमिका जिताउन पनि फिन्चले महत्त्वपूर्ण योगदान गरेका थिए। सन् २०१५ मा एकदिवसीय विश्वकपको उपाधि जित्ने अस्ट्रेलियाली टोलीमा पनि फिन्चको उपस्थिति रहेको थियो।

उनले अस्ट्रेलियाको लागि ५ टेस्ट, १५६ एकदिवसीय र १०३ टी–२० खेल खेलिसकेका छन्। अस्ट्रेलियाको पुरुष टी–२० मा फिन्च सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्।

उनले अन्तर्राष्ट्रिय टी–२० मा २ शतक प्रहार गरेका छन्। एकदिवसीयमा भने उनले १७ शतकसहित ५ हजार ४०१ रनको योगदान गरेका छन्।

सन् २०१८ मा जिम्बाब्वेविरुद्धको टी–२० खेलमा उनले ७६ बलमा १७२ रन जोड्दै टी–२० मा सर्वाधिक व्यक्तिगत अंक बनाएका थिए। यसअघि, सन् २०१३ मा उनले इङ्ल्यान्डविरुद्ध १५६ रन जोडेका थिए। अन्तर्राष्ट्रिय टी–२० मा सर्वाधिक रन जोड्ने सूचीमा फिन्च तेस्रो स्थानमा छन्।

सन् २०११ मा उनले इङ्ल्यान्डविरुद्धको टी–२० खेलमा फिन्चले डेब्यू गरेका थिए। सन् २०१३ मा उनले श्रीलंकाविरुद्धको खेलमा आफ्नो एकदिवसीय डेब्यु गरेका थिए। सन् २०१८ मा उनले ५ टेस्ट खेल खेल्दा २ अर्धशतक बनाउन सफल भएका थिए।

उनले सन् २०१४–२०१६ सम्म अस्ट्रेलियाको टी–२० कप्तानको जिम्मेवारी पनि लिएका थिए। सन् २०१८ मा फिन्चले पुनः कप्तानको जिम्मेवारी पाए।

फिन्चको नेतृत्वमा अस्ट्रेलिया सन् २०१९ मा एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको थियो। सन् २०२१ मा दुबईंमा भएको टी–२० विश्वकपमा भने अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो। उनले ५५ एकदिवसीय र ७६ टी–२० खेलमा अस्ट्रेलियाको कप्तानी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved