जनमतकी बबिता राउत बनिन् मधेस प्रदेशको उपसभामुख

नेपालभ्युज

जनमतकी बबिता राउत बनिन् मधेस प्रदेशको उपसभामुख

जनकपुरधाम । मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित भएकी छिन् ।

समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी राउत मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।

मधेश प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ९ र ७ को उपनियम ४ बमोजिम उपसभामुख चयन गरिएको हो ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीकी समानुपातिका सांसद राउतलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ७२ मत परेसँगै उनी उपसभामुखमा चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २९ मत खसेको थियो ।

उपसभामुखको निर्वाचनमा १०१ जना सांसद उपस्थित भएका थिए । राउतलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका हुन् ।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य बेची लुंगेलीलाई प्रदेशसभा सदस्य रतनेश्वर गोइत यादवले निर्वाचित गरियोस् भन्ने पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

यसअघि मंगलबार दिउँसो बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved