नयाँ सत्ता समीकरणअनुसार मधेस प्रदेश सरकार गठनमा सहज

नयाँ सत्ता समीकरणअनुसार मधेस प्रदेश सरकार गठनमा सहज

जनकपुरधाम। संघीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ। नयाँ सत्ता गठबन्धन अनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन।

प्रदेशमा सत्ता घटक नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रत्यक्ष र समानु्पातिक गरी एमालेले २३ सहित पहिलो दलको रूपमा रहेको छ भने जसपा को १६, जनमत पार्टीको १३, नेकपा माओवादी केन्द्रको ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट रहेको छ। संघमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको भने प्रदेशमा प्रतिनिधित्व छैन।

मधेस प्रदेशमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सभा सदस्य छन्। जसमध्ये सरकार बनाउन कम्तीमा ५४ सिट आवश्यक पर्छ। तर, संघीय सरकारमा सहभागी राजनीतिक दलको मधेस प्रदेशमा ६२ सिट पुग्छ। यसरी हेर्दा मधेस प्रदेशमासत्ता गठबन्धनलाई आवश्यकताभन्दा आठ सिट बढी भएकाले सरकार बनाउन सहज छ।

यता स्वतन्त्रबाट पनि ६ जनाले जितेका छन्। अहिलेको सत्ता गठबन्धनमध्येकै दलबाट असन्तुष्टहरूले अधिकांशले स्वतन्त्रबाट जितेका हुन्। सरकारमा उनीहरू पनि सहभागी हुने अनुमान गरिएको छ।

यता यस प्रदेशमा २२ सिट सहित दोस्रो दलको रूपमा रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा जाने निश्चित देखिएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ९ र नेकपा (एकीकृत समाजवादी) ले ७ सिट प्राप्त गरेका छन्।

संसदीय दलको नेताको आकांक्षी बढ्यो

प्रदेश सभा सचिवालयले यही पुस १५ गते शुक्रबार प्रदेश सभा सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सचिव यादवका अनुसार संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ।

तर, प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता चयन गर्न सकेका छैन।

नेकपा (एमाले) मधेश प्रदेशका सह-इन्चार्ज सुमनराज प्याकुरेलले गठबन्धन दलको सहमति र समीकरणमा प्रदेश सरकार नेतृत्वको टुङ्गो लगाउने जानकारी दिए। एमाले प्रदेश संसदीय दलको नेता यसै साताभित्र छनोट गर्ने गृहकार्य भइरहेको उनले बताए।

यता सरकार नेतृत्वको सम्भावना बढेको हुँदा एमालेमा प्रदेश संसदीय दलको नेता बन्ने आकांक्षीहरू पनि थपिँदै गएका छन्। प्याकुरेलले भने, “एमालेभित्र रामचन्द्र मण्डल, सरोजकुमार यादव, राजकुमार लेखी थारू, हरिनारायण महतो, महम्मद समिर र शारदादेवी थापा दलको नेता बन्न आकांक्षी हुनुहुन्छ। सिनियर र अनुभवी मध्येबाट चुनिने सम्भावना छ।”

त्यसैगरी, जसपा वा जनमत पार्टीको नेतृत्वमा पनि प्रदेश सरकार बन्न सक्ने आँकलन पनि गरिएको हुँदा जसपामा पनि आकांक्षीहरू बढेका छन्। जसपामा पाँच वर्ष मुख्यमन्त्री रूपमा कार्यकाल चलाई सकेका लालबाबु राउतलगायत सरोजकुमार यादव, मनीषकुमार सुमन, रामअशिष यादव दलको नेता बन्न आकांक्षी देखिएका छन्। दलको नेता छान्न यही पुस १४ बिहीबार बैठक बस्ने तय भएको जसपाका प्रदेश सभा सदस्य सुमनले जानकारी दिए।

जनमतमा पनि सतिशकुमार सिंह, महेशप्रसाद यादव, त्रिभुवन साह, चन्दनकुमार सिंह र वसन्तकुमार कुशवाहालगायत सभा सदस्य दलका नेताका लागि आकांक्षी देखिएका छन्। दलको नेता छान्न सकस देखिएपछि सोको जिम्मेवारी पार्टी अध्यक्ष डा. सीके राउतलाई दिइएको छ।

यता प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेसले दलको नेता छान्न एक समिति नै गठन गरिसकेको छ। कांग्रेसमा रामसरोज यादव, रामकृष्ण यादव, वीरेन्द्र सिंहलगायत आकांक्षी छन् । अन्य दल पनि दलको नेता छान्न गृहकार्यमा लागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved