नजिकिँदै एमाले र एकीकृत समाजवादी, होला त पार्टी एकता ?

ओली र नेपालबीच भेट गराउने प्रयास

मन्त्रिमण्डल विस्तार अघि नै एकीकृत समाजवादीसँग एकताको पहल भइरहेको एमालेका नेताहरू बताउँछन्।

नेपालभ्युज

नजिकिँदै एमाले र एकीकृत समाजवादी, होला त पार्टी एकता ?

काठमाडौं। एउटा भनाई छ ‘‘राजनीति सम्भावनाको खेल हो।’’ नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्किएर अप्रत्याशित रूपमा नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेको छ। क्षणभरमै सत्ता राजनीतिको ‘इपिसेन्टर’ बालुवाटारबाट बालकोट सर्‍यो।

फरकफरक ध्रुवमा रहेका एमाले र माओवादी मिलेपछि अरू दलपनि थपिए। परिणाम स्वरूप नयाँ गठबन्धनले नयाँ सरकार बनायो । संसद्को पहिलो दल नेपाली कांग्रेस केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने अवस्था आयो।

राजनीतिले नचिताएको कोल्टे फेरेपछि एमाले र एकीकृत समाजवादीबीचको एकता चर्चा पनि बढ्न थालेको छ । दुईदलबीच एकता भएमा राजनीतिमा अर्को नयाँ घटना थपिने छ, प्रतिनिधिसभाको ठुलो दल नेपाली कांग्रेस र एमालेकाे हाराहारीमा सिट हुनेछ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरेर नेपाली कांग्रेस कुल ८९ सांसदसहित ठूलो दल बन्यो। प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिटसहित एमाले दोस्रो ठुलो दल भएको छ।

एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ। एकता भएमा एमालेको सिट ८८ हुनेछ ।

‘‘हेर्दाहेर्दै केही घण्टाकै अन्तरालमा गठबन्धन टुटेर नयाँ गठबन्धन बन्यो। जुन कसैले सोचेका थिएनन्। जसरी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिले अब त्यसैगरी ओली र माधव नेपाल पनि मिल्नेछन् ’’ नयाँ सरकार बनेपछि कतिपयले यस्तो बताउँदै आएका छन्।

एकताको गृहकार्यमा एमाले र समाजवादीका नेताहरू जुटेका छन् । नयाँ समीकरण बनेसँगै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेट बाक्लिएको छ।

बुधबार बिहानै प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच झन्डै दुई घण्टा छलफल भएको छ। उता पार्टी अध्यक्ष ओली खुमलटारमा प्रचण्डसँग छलफलमा रहँदा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत  कोटेश्वरस्थित माधवकुमार नेपालको निवास पुगेका थिए ।

अध्यक्ष ओलीसँग भेटका लागि मनाउन बस्नेत नेपाललाई भेट्न गएका थिए । नेपाल ओलीसँग भेट्न तयार भए पनि त्यसका लागि आफ्नै निवासमा आउनुपर्ने अडानमा छन् ।

बाक्लियो भेटवार्ता

यसअघि मंगलबार साँझ उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माधव नेपाललाई भेटेका थिए।

भेटमा दुवै नेताले नेता नेपाललाई एमालेमा फर्किन आग्रह गरेको बताइन्छ। उनीहरूले एमाले अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गराउने तयारी गरिरहेका छन् । बुधबार खुमलटारमा भेट्ने भनिएपनि नेपाल गएनन् ।

बुधबार छलफल सकारात्मक भएको नेता बस्नेत बताउँछन् ‘‘भेटमा समसामयिक विषयमा कुराकानी भयो। उहाँहरूको सरकारमा सहभागिता, वाम एकता लगायतका विषयमा कुराकानी भयो।’’

अहिले नयाँ सरकारले पूर्णता पाइसकेको छैन। मन्त्रिमण्डल विस्तार अघि नै एकीकृत समाजवादीसँग एकताको पहल भइरहेको एमालेका नेताहरू बताउँछन्।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन् ‘‘वामपन्थी दलको एकताको कुरा हो। विभिन्न घटनाक्रमले सहकार्य हुन सम्भव देखिए पनि पार्टी एकीकरण नै हुन भने लामो प्रक्रिया लाग्न सक्छ । तर अहिले नै के हुन्छ भन्न सकिन्न।’’

एमालेका कतिपय नेताले एकीकृत समाजवादीसँग पार्टी एकता नै गर्नुपर्ने भन्दै पहल गरिरहेका छन्। एकीकृत समाजवादीका धेरै नेताहरू भने सहकार्य गरेर सरकारमा सामेल हुने तर पार्टी एकता भने  तत्काल नगर्ने पक्षमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved