काठमाडौं। आम निर्वाचन २०७९ को अन्तिम नतिजाले वाम दल पहिलेभन्दा कमजोर भएको देखाएको छ। अन्य दलको तुलनामा वामपन्थी भन्ने दलहरूको भोट र सिट दुवै खुम्चिएको छ ।
नयाँ संसदमा प्रतिनिधित्व गर्ने १२ दलमध्ये ५ वटा वाम छन्, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेमकिपा । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति भने गैरवाम दल हुन् ।
वाम दलले प्रत्यक्षमा पाएको सिट एमाले -४४, माओवादी केन्द्र-१८, एकीकृत समाजवादी- १०,राष्ट्रिय जनमोर्चा-१ र नेमकिपा- १ गरि जम्मा ७४ हुन्छ। गत चुनावमा यस्तो संख्या ११८ थियो । २०७४ मा एमालेले ८०, माओवादी केन्द्रले ३६, राष्ट्रिय जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेका थिए ।
गैर वाम दलले यसपटक प्रत्यक्षमा जितेको सिट ८६ छ । नेपाली कांग्रेस- ५७, रास्वपा- ७, राप्रपा- ७, जसपा-७, लोसपा-४, नागरिक उन्मुक्ति- ३ र जनमतले- १ सिट जितेका छन् । स्वतन्त्र ५ मध्ये ३ जना वाम विचारको नजिक छन् । अर्थात् प्रत्यक्ष तर्फको १६५ मध्ये ७७ जना वाम विचारका छन् भने ८८ गैर वाम । गत चुनावमा जम्मा ४७ सांसद मात्रै गैर वाम विचारका थिए ।
समानुपातिकतर्फ पनि वाम दलको सिट संकुचन भएको छ। गत चुनावमा एमालेले ४१ सिट पाएको थियो भने यसपटक ३४ मा सीमित भएको छ । माओवादीले गत चुनावमा १७ सिट पाएकोमा यसपटक १४ सिट मात्रै पाउँदैछ। गत चुनावमा वाम दलले समानुपातिक तर्फको ११० मध्ये ५८ सिट पाएका थिए । यसपटक ४८ मात्रै पाउँदै छन्।
एकीकृत समाजवादी, जनमोर्चा र नेमकिपाले थ्रेसहोल्ड भेट्न सकेनन्। गत चुनावमा गैरवाम पार्टीले पाएको समानुपातिक सिट ५२ थियो भने यसपटक ६२ हुनेछ । जसमध्ये कांग्रेसले ३२, रास्वपाले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ पाउनेछन्। प्रत्यक्षतर्फ ४ सिट जितेको लोसपाले भने थ्रेसहोल्ड कटाउन सकेन। त्यसैगरी, ३ सिट जितेको नागरिक उन्मुक्तिले पनि थ्रेसहोल्ड काट्न सकेन।
हुनत नेपाली कांग्रेसले पनि जनमत केही गुमाएको छ तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाजस्ता गैर वाम दलमा त्यो सरेको छ। कांग्रेसको मत घटे पनि गैर वाम समूहको कुल मत बढेको छ। थ्रेसहोल्ड नकाट्ने वाम समूहहरू, एकीकृत समाजवादी, नेमकिपा, राष्ट्रिय जनमोर्चा, माले, जनसमाजवादी, मार्क्सवादी जस्ता समुहको मत एक ठाउँमा जोड्दा करिब ६ लाख हुन्छ । थ्रेसहोल्ड नकाट्ने गैर वाम समूहले भने करिब ८ लाख मत पाएका छन्।
थ्रेसहोल्ड माथि रहेका एमाले र माओवादी केन्द्रको मत जोड्दा करिब ४० लाख २१ हजार हुन्छ भने थ्रेसहोल्ड काट्ने गैरवाम दलले करिब ५२ लाख मत पाएका छन्। यी तथ्यांकले दिने प्रष्ट निष्कर्ष हो- वाम दलको जनमत यसपटक साँघुरिएको छ।
किन खुम्चिए त वाम दल ?
विश्लेषकका अनुसार यसका ७ वटा कारण हुन सक्दछन् ।
एक- गत निर्वाचनमा वाम गठबन्धनलाई मतदाताले झन्डै दुईतिहाइको बहुमत दिएका थिए । तर, पनि वाम दलले बाचा गरे अनुरूप राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धि दिन सकेनन्। यसबाट मतदाता निराश भए ।
दुई- गत चुनावमा वाम समूह तुलनात्मक रूपमा एकताबद्ध थिए। यसपटक थप विभाजित भए। यो विभाजन, तिक्तता र आरोप-प्रत्यारोपले मतदातामा वितृष्णा फैलियो ।
तीन- युवा मतदाताको अनुपात बढ्दो छ। युवा मतदातामा वाम विचार वा वैचारिक राजनीतिको प्रभाव कमजोर छ। फलत स्विङ भोट बढ्दै गइरहेको छ।
चार- भूमण्डलीकरणले नेपालीलाई विभिन्न तवरले लोकतान्त्रिक मुलुकको नजिक लगेको कारण मतदातामा कम्युनिस्ट विचारप्रतिको मोह कमजोर हुँदै गइरहेको छ । लोकतान्त्रिक मुलुक विशेषत युरोप, अमेरिका र अस्ट्रेलियातिरको बढ्दो अन्तर्क्रियाले नेपालीको सोचमै भिन्नता आउन थालेको छ।
पाँच- गत चुनावमा यसपटक जस्तो नयाँ पार्टीको जन्म र विकासको आकार सानो थियो । यसपटक उदय भएका रास्वपा, जनमत र नागरिक उन्मुक्तिजस्ता पार्टीले जनमत चुड्दा वाम जनमत पनि नयाँ दलहरूतर्फ विभक्त भयो।
छ- निर्वाचनमा डिजिटल स्पेशको भूमिका बढ्दै गएको र त्यसलाई वाम पार्टीहरूले भन्दा युवापंक्ति बढी भएका नयाँ दलले राम्रो उपयोग गरेका छन्।
सात- सीमान्तकृत वर्ग र समुदायको मोह वाम दलप्रति कमजोर हुन थालेको छ। तिनले हिजोजस्तो कम्युनिस्टहरूलाई गरिबको पार्टी र उत्पीडित समुदायको मुक्तिदाताको साटो शोषक, उत्पीडक वृत्तकै एक तप्का ठान्न थालेका छन्। उदाहरणका लागि सुदूरपश्चिमका थारू समुदाय हिजो माओवादीप्रति आशावादी थिए । यसपटक उनीहरूले भिन्नै नागरिक उन्मुक्ति पार्टी बनाए ।
संकुचनका बाबजुद नेपालमा वाम दल अझै शक्तिशाली छन। तर, विचार, एजेन्डाको पुनर्पुष्टि, आचरण तथा कार्यशैलीगत सुधार नगर्ने हो भने वाम समूहहरू भविष्यमा झन झन् कमजोर हुन सक्नेछन् । नेपाली कांग्रेस तथा अन्य गैरकम्युनिस्टका तुलनामा यो चुनावको परिणामले वाम दललाई चर्को खतराको घण्टी बजाएको छ।
Facebook Comment
Comment