हुम्लामा खाद्यान्न पुगेन, ढुवानीमा ढिलाइ

नेपालभ्युज

हुम्लामा खाद्यान्न पुगेन, ढुवानीमा ढिलाइ
हुम्ला (फाइल फोटो)

हुम्ला। हुम्लामा खाद्यान्न कम हुँदै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो ।

लिमिटेडका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार गोदाममा खाद्यान्न मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न अभाव हुने जोखिम बढिरहेको छ ।

हाल गोदाममा तीन सय क्विन्टल मात्र खाद्यान्न मौज्दात छ । यस आर्थिक वर्षका लागि आठ हजार क्विन्टल खाद्यान्नमध्ये सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट दुई हजार क्विन्टल कोटा निर्धारण भएकामा यसको ढुवानीका लागि टेन्डर प्रक्रिया लामो भएका कारण हालसम्म सो खाद्यान्न ढुवानी हुन सकेको छैन । हवाई मार्गको खाद्यान्न ढुवानीका लागि खाद्य कम्पनीले दुई पटक टेन्डर निकाल्नुपरेको थियो ।

खाद्य कम्पनीले पहिलो पटक टेन्डर निकाल्दा ढुवानी दर कम भएको भन्दै कुनै पनि ढुवानीकर्ताले आवेदन गरेनन् । यसमा नेपालगञ्जका लागि प्रतिकेजी १५० रूपियाँ र सुर्खेतबाट प्रतिकेजी १४० रूपियाँ ढुवानी दर लाग्ने टेन्डर निकालिएको थियो । पुनः दोस्रो पटक सुर्खेतबाट प्रतिकेजी १५५ रूपियाँ र नेपालगन्जबाट प्रतिकेजी १६० रुपियाँ टेन्डर निकालिएको थियो ।

प्रमुख अधिकारीले गोदाममा मौज्दात खाद्यान्न न्यून हुँदा बिक्री वितरण गर्न नपुग्ने भएको कारण असोजपछि सूचना नै निकालेर बिक्री बन्द गर्नुपरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved