भूकम्पको त्रासले रातभर खुल्ला ठाउँमा बास (तस्वीरहरू)

नेपालभ्युज

भूकम्पको त्रासले रातभर खुल्ला ठाउँमा बास (तस्वीरहरू)

काठमाडौं। गएराति सुदूरपश्चिममा पटक पटक भूकम्प जाँदा त्रसित बनेका स्थानीय रातभर खुल्ला ठाउँमा जाग्राम बसेका छन्।

सुदूरपश्चिमको डोटी, अछाम, बाजुरा, बझाङ लगायतका पहाडी जिल्लाका अधिकांश स्थानीय भूकम्पको त्रासले रातभर खुल्ला ठाउँमा जाग्राम बसेका हुन्।

सुरुमा अछामको देविस्थान केन्द्रविन्दु बनाएर ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्नेच्युटको भूकम्प गएको थियो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दोस्रो पटक सोही क्षेत्रमा राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटकोको र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नेच्युटको ठूलो भूकम्प गएको थियो।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्पले डोटीमा ६ जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन्।

पटक पटक भूकम्प गएपछि स्थानीयहरू डरले रातभर खुल्ला ठाउँमा बसेको अछामको कुष्कोटका रामबहादुर साउँदले बताए। भूकम्पको डरले खुल्ला ठाउँमा रात विताउँदा बृद्धबृद्धा, महिला तथा बालबालिकालाई चिसोले थप समस्या भएको उनले बताए।

भूकम्पले थुप्रै भौतिक संरचनाहरूमा क्षति पुर्‍याएको खबरहरू प्राप्त भएका भएका छन्। अधिकांश कच्ची घरहरू चर्किएकाले बस्न सक्ने अवस्था नरहेको अछामको बयलपाटाका धर्म कठायतले बताए।

प्रहरीले विभिन्न जिल्लामा भूकम्पले पुर्‍याको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।

डोटीमा घाइतेको उद्धार गर्दै नेपाली सेना र स्थानीय।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved