काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रधानमन्त्रीको ‘रेस’ मा छन् । उनी मंसिर ४ पछि संसदीय दलका नेता निर्वाचित भएर प्रधानमन्त्री बन्न चाहन्छन् । यो गगन स्वयम्को ‘डिक्लिरियसन’ हो ।
उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले त समर्थन गरिसकेका छन् । गगनको प्रधानमन्त्रीको दाबीले नेपाली राजनीतिमा उज्यालो प्रकाश छरेको प्रतिक्रिया छ विश्वप्रकाशको । ‘मेरो साथी, मेरो भाइ प्रधानमन्त्री हुन्छु भनेर भन्दै गर्दा मैले किन समर्थन नगर्ने ? जो योग्य छ, युवा छ र काम गर्न सक्छ । जसले भिजन दिन सक्छ र काम गर्न सक्छ । अनि उसको यात्रालाई मैले किन रोक्न खोज्ने ? बरु म त यो भन्छु कि, उहाँको प्रधानमन्त्रीको दाबीले राजनीतिमा उज्यालो प्रकाश छरेको छ,’ विश्वप्रकाशले नेपालभ्युजसँग भनेका छन् ।
त्यसो त राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रधानमन्त्री बन्न संसदीय दलका नेता र संसदीय दलका नेता बन्न पहिले सांसद बन्नुपर्छ । अनि गगन सांसद बन्छन् ? स्वाभाविकरूपमा जिज्ञासा हुने नै भयो । उनलाई कति सहज छ काठमाडौं ४ मा ? यसबारे केही चर्चा गरौँ ।
यसपटक पनि गगनका प्रतिस्पर्धी हुन् नेकपा (एमाले) कै नेता राजन भट्टराई । यसअघि २०७४ सालको निर्वाचनमा पनि गगनले उनै राजनलाई झन्डै ७ हजार मतान्तरले पराजित गरेका थिए ।
तर, आसन्न निर्वाचनको परिदृश्य अलिक फरक देखिन्छ । काठमाडौं ४ अन्तर्गत पर्ने क्षेत्रमा एमाले निकै बलियोगरी आएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने त्यहाँ कांग्रेसभन्दा एमाले बलियो छ ।
काठमाडौं ४ अन्तर्गत काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नं वडा, बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ गरी १२ वटा वडाहरू पर्दछन् । १२ वटा वडामा कांग्रेसले ३ वटा मात्रै जितेको छ भने बाँकी ९ वटा एमालेले जित निकालेको छ । त्यहाँ एमालेसँग १६ हजार ९ सय ८१ मत छ भने कांग्रेसको पक्षमा १६ हजार ८४ मत छ ।
गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) सँग २ हजार ६ सय ८८ मत छ भने माओवादी केन्द्रसँग ८ सय ७३ मात्रै छ । सत्ता गठबन्धनका तीन दलले पाएको मत जोड्दा १९ हजार ६ सय ४५ हुन्छ । जुन एमालेको भन्दा २ हजार ६ सय ६४ मतले बढी हो ।
तर, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत निर्णायक देखिएको छ । उसँग त्यहाँ २ हजार ३ सय ७६ मत छ । तर, उसले एमालेलाई सघाउने निर्णय गरिसकेको छैन । अन्य केही क्षेत्रमा एमाले-राप्रपाबीच चुनावी तालमेल भएपनि काठमाडौं ४ मा भएको छैन ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्षसमेत रहेका एमाले नेता नवराज भट्टराई भन्छन्, ‘राप्रपासँग वार्ता भएको छैन । उसले आफ्नो मतदातालाई के भनिरहेको छ, त्यो पनि थाहा छैन । तर, यहाँ उसँग राम्रै मत छ ।’
यदि राप्रपाले एमालेलाई समर्थन गर्ने निर्णय गर्यो भनेचाहिँ गगन-राजनबीचको प्रतिस्पर्धा अझ ‘टफ’ हुने देखिन्छ । तर, आफूहरूले काठमाडौं ४ मा एमालेलाई समर्थन नगर्ने राप्रपाका एक केन्द्रीय नेताले बताए । ‘अन्य क्षेत्रमा चुनावी तालमेल भएपनि काठमाडौं ४ मा भएको छैन । राप्रपाले एमालेलाई समर्थन गर्दैन,’ ती नेताले भनेका छन् ।
राप्रपाले समर्थन गरेको खण्डमा एमालेसँग १९ हजार ३ सय ५७ मत पुग्छ । यसरी हेर्दा राजनभन्दा गगन २ सय ८८ मतले मात्रै अघि देखिन्छन् । योसँगै काठमाडौं ४ को दुई ‘हेभीवेट’ नेताबीचको प्रतिस्पर्धालाई प्रमुखताका साथ हेरिएको छ ।
यद्यपि कांग्रेस नेताहरू गगनसँग ‘पपूलर भोट’ रहेको र सहजरूपमा जित निकाल्ने ठान्छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा नै भन्छन्, ‘गगनजीको पपूलर भोट आउँछ । उहाँले जित्नुहुन्छ ।’
अन्य नेताहरूले पनि यसै भन्छन् । नेता चन्द्र भण्डारीले भने, ‘उहाँ युवाहरूमाझ निकै लोकप्रिय नेता हुनुहुन्छ । उहाँसँग पपूलर भोट टन्नै छ ।’ गगन पनि आफू जित्नेमा ढुक्क छन् ।
आफ्नो प्रमुख प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग पनि झन्डै आफ्नोजत्ति नै मत भएको राम्रोसँग बुझेका गगन अहिले चुनावी भेटघाट तथा घरदैलोमा छन् । घरदैलोका क्रममा बूढानीलकण्ठ ११ मा भेटिएका गगनले नेपालभ्यूजसँग भने, ‘जित्छु भनेर हिँडेको छु । बाँकी कुरा परिणामले बताउँछ ।’
प्रधानमन्त्री बन्छु भनेर हिँड्नुभएको तपाईंलाई त सांसद बन्ने गाह्रो होलाजस्तो पो छ त ? भन्ने जिज्ञासामा उनले भनेका छन्, ‘त्यस्तो हुँदैन । म यत्ति भन्छु, काठमाडौं ४ बाट जितेरै जान्छु ।’ हतारोमा देखिएका गगनले भने, ‘प्रधानमन्त्रीका विषयमा पछि कुरा गरौँला ।’
Facebook Comment
Comment