काठमाडौं। मतदान सकिएपछि सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी नगर्ने प्रस्ताव अघि सारिएको छ। निर्वाचन आयोगले सुरक्षा निकायका गाडीमा मतपेटिका राखेर ओसार्दा मतपेटिका साटिएको वा धाँधली भएको आरोप खेप्नु परेका कारण यसपटक अर्को गाडीमा मतपेटिका राखेर सुरक्षाकर्मीहरुले सुरक्षा दिने गरी ढुवानी गर्ने प्रस्ताव गरिएको हो।
सशस्त्र प्रहरी बलले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने जनाएपछि यो प्रस्ताव अघि सारिएको हो। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा सशस्त्र प्रहरीको तर्फबाट यस्तो प्रस्ताव गरिएको स्रोतको दावी छ।
मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएको कारणले आफूहरू हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सशस्त्रको प्रस्ताव छ।
सशस्त्र प्रहरीले निर्वाचनमा अत्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरू परिचालन गर्नुपर्ने तर ढुवानीका लागि सुरक्षाकर्मीहरुकै निगरानीमा अर्को गाडीको व्यवस्था गर्नुपर्ने कुरा उठेको वैठकमा सहभागी एक अधिकारीले बताए।
निर्वाचनमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिनु पर्ने भएकाले सुरक्षाकर्मीहरुकै साथमा अर्को गाडी राख्नुपर्ने तथा त्यहाँ राजनीतिक दलका उम्मेदवारहरुको प्रतिनीधिहरु पनि त्यही रहनु पर्ने सशस्त्र प्रहरीको प्रस्ताव थियो।
सो बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने र त्यहाँ पनि सवारी साधानको प्रयाप्त व्यवस्था गरेर मात्रै मतपेटिका सुरक्षित ढंगले केन्द्रमा पठाउनुपर्ने बताएका थिए।
उनले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरे। प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले निर्वाचनको मौन अवधिमा झडप हुनसक्ने भन्दै आवश्यक ध्यान दिन आग्रह गरेका थिए।
विगतका निर्वाचनहरूमा उम्मेदवारले सुरक्षाकर्मीसँग मिलेर मतपेटिका साट्ने गरेका गुनासाहरू आउने गरेका थिए। केही नेताहरूका अभिव्यक्तिहरूले पनि मतपेटिका साट्ने काम भएको हो कि भन्ने आशंका बेलाबेलामा उब्जिने गरेको छ।
Facebook Comment
Comment