काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गर्दै रियल मड्रिडले जित निकालेको छ। शनिबार राति रियल मड्रिडले घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई ३-१ ले हराएको हो।
लुका मोड्रिचको गोलमा रियल मड्रिडले सुरुआती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा गोल गर्दै मोड्रिचले खेलको पाँचौ मिनेटमा रियललाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५४ औं मिनेटमा ईरिक लामेलाले गोल गर्दै सेभिल्लालाई बराबरीको अवस्थामा पुर्याए। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुकास वाजक्विज र फेड वाल्वरडेले लगातार दुई गोल गरेपछि रियल मड्रिडले सहज जित निकालेको हो।
जितसँगै रियल मड्रिडले लिग तालिकामा ६ अंकको अग्रता लिएको छ। दोस्रो स्थानको बार्सिलोनाले गत हप्ता बर्नवेउको रियल मड्रिडसँग हार ब्यहोरेको थियो।
कार्लोस एन्सेलोटी नेतृत्वको रियलले ला लिगाको पछिल्लो ११ खेलमध्य १० खेलमा जित निकालेको छ। शीर्ष स्थानको रियलले ११ खेलबाट ३१ अंक जोडेको छ। दोस्रो स्थानको बार्सिलोनाको २५ अंक छ। सेभिल्ला १० अंक सहित तालिकाको १४ औं स्थानमा छ।
Facebook Comment
Comment