कास्की-२

विद्यालाई बरालको चुनौती : पहिलेका आफ्नै चुनावी कमाण्डर, अहिलेका मुख्य प्रतिस्पर्धी

यदि गठबन्धनको सबै मत बरालले पाए भने जित्ने सम्भावना प्रवल छ । तर निकै थोरै मत भएको पार्टीलाई सिट दिएको भन्दै कांग्रेसमा असन्तुष्टि देखिन्छ । एमालेभित्र पनि चरम विवाद छ । त्यसको प्रभाव गत स्थानीय चुनावमा पनि देखिएको थियो ।

नेपालभ्युज

विद्यालाई बरालको चुनौती : पहिलेका आफ्नै चुनावी कमाण्डर, अहिलेका मुख्य प्रतिस्पर्धी

काठमाडौं। मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनको माहोलका बीच केही ठाउँको चुनावी भिडन्त भने रोचक बन्ने देखिन्छ ।

हिजो एउटै पार्टीमा रहेकाहरू अहिले मुख्य प्रतिस्पर्धी बनेका छन् । कास्की–२ मा नेकपा एमालेकी विद्या भट्टराईका लागि पुर्व सहकर्मी मात्रै नभइ गत निर्वाचनका मुख्य सहयोगी श्रीनाथ बराल प्रतिस्पर्धी बनेर आइपुगेका छन् ।

एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका बराल पोलिट्ब्युरो सदस्य तथा गण्डकी प्रदेश सह-इन्चार्ज हुन् ।

३० वैशाखको स्थानीय चुनावमा उनले पोखरा महानगरपालिकाको मेयर उठ्न चाहेका थिए । तर, उनले त्यो बेला टिकट पाउन सकेनन् । प्रतिनिधिसभा चुनावका लागि बराल कास्की क्षेत्र नम्बर १ बाट सिफारिस भएका थिए, तर सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीले क्षेत्र नम्बर २ पाएपछि उनी उम्मेदवार बनेका हुन् ।

विद्या भट्टराई एमालेको पूर्व हैसियत जोगाउने प्रयासमा छिन् भने चार दशकको राजनीतिक जीवनमा पहिलोपटक उम्मेदवार बनेका बराल गठबन्धनको बलमा जित निकाल्ने योजनामा छन् ।

राजनीतिमा विद्याको बढ्दो सक्रियता

भट्टराई एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीकी पत्नी हुन्। तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय उनी अखिलको सचिवसम्म बनेकी थिइन्।

रवीन्द्र अधिकारीसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिमा कमै देखिइन । रवीन्द्रको निधनपछि शीर्ष नेताकै आग्रहमा उनी कास्की–२ बाट उपनिर्वाचनमा उम्मेदवार बनिन् र जितिन ।

उनी ०४९ सालको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्ववियू सभापतिकी प्रत्यासी बनेकी थिइन्। शंकर पोखरेल अनेरास्ववियूको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन्।

०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट केही टाढै बसिन् । अधिकारीको निधनपछि फेरि उनी सक्रिय राजनीतिमा आएकी छन् ।

पहिलोपटक उम्मेदवार

सधैँ चुनावी कमान्डर बनेर चुनाव जिताउने बराल यो पटक आफैँ चुनाव लड्दै छन् । २०४१ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका उनी २०४६ सालको जनआन्दोलनमा गण्डकी अञ्चलमा वाममोर्चाका सदस्य थिए ।

२०४४ सालमा साथीहरू अपहरणमा परेको विरुद्धमा पृथ्वीनारायण क्याम्पसमा १३ दिन आमरण अनसन बसेका बराल पञ्चायतकालमा नजरबन्दमा परेका थिए ।

उनी नेकपा हुँदा  केन्द्रीय सदस्य तथा कास्की सह-इन्चार्ज थिए। त्यसो त कास्कीमा एमालेको बलियो पकड थियो तर माधव नेपाल समूहले भने कहिल्यै अवसर नपाएको गुनासो सुनिन्थ्यो।

एमालेमा हुँदा उनी २०६४ सालको चुनावमै कास्की क्षेत्र नम्बर २ मा ३ जनाभित्र सिफारिस भएका थिए । तर, त्यो बेला उनले टिकट पाएनन्।

दोस्रो संविधान सभाको निर्वाचनमा पनि गजकुमारी गुरुङ, श्रीनाथ बराल र पूर्वमेयर कृष्ण थापाकै नाम सिफारिस भएको थियो । त्यो बेला पनि उनले पाएनन् । पार्टी फुटेपछि बल्ल बराललाई उम्मेदवार हुने मौका मिलेको छ ।

राज्य पुनर्संरचनापछि कास्कीमा ३ निर्वाचन क्षेत्र कायम भयो । बराल २०७६ को उपनिर्वाचनमा विद्यालाई चुनाव जिताउने कमान्डरमध्ये एक थिए । सधै त्याग गर्ने नेता बराल यो पटक आफैले जिताएकासँग प्रतिस्पर्धा गर्दैछन् ।

स्थानीय निर्वाचनको मत र भावि परिणाम 

पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा कास्की क्षेत्र नम्बर २ अन्तर्गत पर्छन् । यी ११ वटा वडाध्ये ६ वडामा नेपाली कांग्रेसले जितेको छ भने ५ वडामा एमाले विजयी भएको छ ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा प्रतिनिधि सभाको निर्वाचन कसले जित्छ यसै भन्न सकिने अवस्था छैन । एमालेका वडाध्यक्षका उम्मेदवारले २१ हजार हाराहारीमा मत प्राप्त गरेका थिए ।

यस्तै, कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत ल्याएका थिए । एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ५३ र माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८ मत पाएका थिए ।

राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले २ हजार ७९ र स्वतन्त्र तथा अन्यले ७५० मात्र मत प्राप्त गरेका थिए । बराललाई सत्ता गठबन्धनको समर्थन छ । त्यस आधारमा उनी कमजोर छैनन् ।

यदि गठबन्धनको सबै मत बरालले पाए भने जित्ने सम्भावना प्रवल छ । तर निकै थोरै मत भएको पार्टीलाई सिट दिएको भन्दै कांग्रेसमा असन्तुष्टि देखिन्छ । अर्कातिर विद्या लोकप्रिय व्यक्तित्व हुन् । उनलाई केही सहानुभूतिको मत समेत जान सक्छ ।

यस आधारमा हेर्दा कास्की दुईमा कांग्रेसको मत नै निर्णायक हुने देखिन्छ । कांग्रेसले खर्लप्पै बराललाई मत दिए भने विद्यालाई अप्ठेरो हुनेछ ।

एमालेका मत जोगाउँदै कांग्रेसका मत पनि तान्नुपर्ने चुनौती विद्यालाई छ । कास्कीमा एमालेभित्र पनि चरम विवाद छ । त्यसको प्रभाव गत स्थानीय चुनावमा पनि देखिएको थियो । आगामी चुनावमा एमाले र कांग्रेस कति एक ढिक्का रहन सक्छन् परिणाम त्यसले नै निर्धारण गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved