श्रममन्त्री शेरबहादुर कुँवरलाई भारी पर्न सक्छन स्वतन्त्र उम्मेदवार राजन कुँवर
नेपालभ्युज
काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले टिकट नपाएको अछाम क्षेत्र नम्बर १ मा रोचक भिडन्त हुने देखिएको छ। सत्ता गठबन्धनकै उम्मेदवार विरुद्ध नेपाली कांग्रेसका युवा नेता राजन कुँवर पनि चुनावी मैदानमा उत्रिएपछि यहाँ त्रिपक्षीय रोचक भिडन्त हुने देखिएको हो।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले टिकट पाएका छन्। एमालेले रावललाई टिकट नदिएर झपट बहादुर बोहोरालाई दिएको छ।
राजनको उम्मेदवारीले मन्त्री शेरबहादुरलाई चुनाव जित्न त्यति सजिलो देखिँदैन। संगठनका रुपमा बलियो कांग्रेसको भागमा यो क्षेत्र नपरेपछि नेता कार्यकर्ताहरूमा व्यापक असन्तुष्टि रहेको सामाजिक सञ्जालमा छरपस्ट देखिन्छ।
एमालेमा पनि जिल्लाबाट प्रतिनिधि सभाका लागि एकल नाम सिफारिस भएका रावललाई पार्टीले टिकट नदिएर पूर्व माओवादी झपट बहादुर बोहोरालाई टिकट दिएपछि असन्तुष्टि बढेको छ। रावलले टिकट नपाएपछि एमालेका वडा, पालिका, क्षेत्र तथा जिल्ला कमिटीका दर्जनौं नेता कार्यकर्ताहरूले पदबाट राजीनामा दिएका छन्।
झपट बहादुर बोहोरा
एमालेका कुशल संगठनकर्ता शेरबहादुर पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका हुन्। एकीकृत समाजवादी अछाममा चौंथो स्थानमा छ।
स्वतन्त्र उठेका राजन युवामाझ लोकप्रिय छन्। उनले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएर आम युवाहरूको चाहाना भएको बताए। उनी कांग्रेसको दुई पटक महासमित सदस्य भइसकेका छन्। राजनीतिक दलहरूप्रतिको आम जनताको बितृष्णा र ठूला सबै पार्टीमा टिकट वितरणप्रति रहेको असन्तुष्टि नै आफ्नो जित्ने आधार भएको राजनले बताए। युवाहरूको आफूप्रतिको बढ्दो आकर्षणले नै आफ्नो जित बलियो भएको उनले दाबी गरे। नेविसंघ अछामको अध्यक्षसमेत भइसकेका राजनले जिल्लाभरमा आफ्ना समर्थकहरू भएकाले पनि आफ्नो जित सहज भएको दाबी गरे। उनले पुतली चुनाव चिह्न पाएका छन्।
मन्त्री कुँवरले भने कुनै व्यक्तिको स्वतन्त्र उम्मेदवारीले आफ्नो जितमा केही असर नपर्ने बताए। ‘यो तीन ठूला पार्टीको महागठन्धन हो, हामीसँग दुईतिहाइ मत छ’, कुँवरले भने,’म व्यक्तिगत रुपमा नभएर गठबन्धन चुनाव लडेकाले स्वतन्त्र उम्मेदवारीले कुनै असर पर्दैन।’
कहिले आफ्नै बागी र कहिले बाम गठबन्धनका कारणले दुई दशकदेखि प्रतिनिधि सभाको चुनाव जित्न नसकेको कांग्रेस यसपटक चुनाव जिताएर संसद्मा आफ्नो प्रतिनिधि पठाउने दाउमा थियो। तर बाम गठबन्धनका कारण क्षेत्र नम्बर १ समाजवादीको भागमा परेपछि पाँच वर्षका लागि आफ्नो प्रतिनिधि जिताएर संसद्मा पठाउने कांग्रेसको इच्छामा ब्रेक लागेको छ।
कांग्रेसबाट टिकटका दाबेदार मध्येका एक केन्द्रीय सदस्यसमेत रहेका पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले पार्टी केन्द्रले गरेको निर्णय अनुसार गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए। बुधबार काठमाडौंमा उपलब्ध अछाम कांग्रेसका नेता कार्यकर्ताहरूकै छलफलमा शाहले गठबन्धनमा इमान्दार भएर मत दिनुपर्ने सबैको दायित्व भएको उनको भनाई थियो।
चुनावको मुखैमा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरेण्ड भट्टराई पुरानै पार्टी एमालेमा फर्किएका छन्। ४१ वटा वडा रहेको अछाम क्षेत्र नम्बर १ मा गत स्थानीय निर्वाचनमा समाजवादीले जितेका दुई वटा वडामध्ये एउटा वडा भट्टराईको हो। समाजवादीले भट्टराईको वडा मेल्लेख गाउँपालिका-६ षोडशा र साफेबगर नगरपालिका-९ बुढाकोट जितेको थियो। बुढाकोटमा कांग्रेससँगको गठबन्धन थियो।
साँफेबगर नगरपालिकामा कांग्रेस-समाजवादीको गठबन्धन हुँदा उपमेयर पनि समाजवादीले जितेको छ। ०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा ‘ख’ बाट जितेका प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका बोहोरा नेकपा विभाजनपछि एमालेतिर लागेका हुन्।
०७४ को निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधि सभामा भीम रावलले जितेका थिए। रावलले २४ हजार ८८३ मत ल्याउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारले १७ हजार ७१९ मत ल्याए।
गत बैशाखको स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर १ मा रहेका पाँचवटा पालिकामध्ये चार वटामा नेपाली कांग्रेस प्रमुख तथा एउटामा कांग्रेससँगको गठबन्धनमा माओवादीले जितेको छ। एमालेले क्षेत्र नम्बर १ मा कुनै पनि पालिका जितेको छैन। पाँचवटा पालिका मध्ये दुईमा कांग्रेस एकल चुनाव लडेर जितेको छ भने एकमा माओवादी र एकमा समाजवादीसँग तालमेल गरेर प्रमुख जितेको छ। अछाम क्षेत्र नम्बर २ मा भने संघ र एक प्रदेशमा कांग्रेस तथा एक प्रदेशमा माओवादीले टिकट पाएको छ।
तेस्रो पटक सफल हुने प्रयासमा खड्का
गठबन्धनमा प्रदेश ‘क’ कांग्रेस तथा प्रदेश ‘ख’ नेकपा माओवादीको भागमा परेको छ। क मा कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का चुनावी मैदानमा छन् भने प्रदेश ख मा माओवादीका झपट साउँद छन्।
खड्का ०७० को संविधानसभा निर्वाचनमा एमालेका भीम रावलसँग पराजित भएका थिए भने ०७४ को प्रदेशसभा निर्वाचनमा रावलकै भिनाजु एमालेका गोविन्द कुँवरसँग झिनो मतान्तरले पराजित भएका थिए। प्रदेश सभामा बाम गठबन्धन थियो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र खड्काले निष्ठावान राजनीतिज्ञको परिचय बनाएका छन्।
मेघराज खड्का
ख प्रदेशका दुवै पालिका कांग्रेसले जितेको र त्यसैमा गठबन्धनसमेत भएकाले यसपटक आफू चुनाव जित्नेमा ढुक्क भएको खड्को दाबी छ। खड्कालाई सुदूरपश्चिम प्रदेशको सम्भावित मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ। खड्कासँग एमालेका देवबहादुर कुँवर प्रतिस्पर्धा गर्दैछन्।
प्रदेश ख मा चुनाव लडेका माओवादीका झपट साउँद ०६४ को संविधानसभा निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार उनै शेरबहादुर कँवरसँग पराजित भएका थिए।
झपटसँग यसपालि एमालेका पुराना नेता कृष्णप्रसाद जैशी प्रतिस्पर्धा गर्दैछन्। पूर्व जिविस सभापतिसमेत रहेका एमालेको संगठन निर्माता मध्येका एक जैशी भीम रावलको पेलानमा परेर हालसम्म टिकटबाट बञ्चित हुँदै आएका थिए। यसपटक टिकट पाए पनि सत्ता गठबन्धन बनेकाले उनलाई चुनाव जित्न त्यति सजिलो देखिँदैन।
Facebook Comment
Comment