काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रसँग एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरे पनि टिकट पाएनन्। गत निर्वाचनमा नेकपा एमालेको बलियो आधार क्षेत्रबाट चुनाव हारेका उनले यसपटक माओवादी केन्द्रबाट प्युठानमा चुनाव लड्ने चर्चा थियो । तर उनी उम्मेदवार भएनन्।
अघिल्लो पटक चुनाव हारे पनि पाँच वर्ष नपर्खी संसदमा जाने हुटहुटीले विवादमा तानिँएका वामदेव गौतम यसपटक चुनाव नलड्नुलाई चासोका साथ हेरिएको छ। तर यसमा उनको चाहना भन्दा पनि प्रचण्डको भूमिका देखिन्छ ।
नेपाल समाजवादी पार्टी (नेसपाबाट) ६ जनाले माओवादीको चुनाव चिन्हबाट प्रतिनिधि र प्रदेशतर्फ उम्मेदवारी दिएका छन्। तर वामदेवको नेकपा एकता राष्ट्रिय अभियानका कसैले पनि टिकट पाएनन्। कहिले वामदेव उनको पुरानो घर रहेको प्युठान त कहिले बर्दियाबाटै चुनाव लड्ने चर्चा चलाइएको थियो। तर, उनी उठेनन् ?
कहिले वामदेव उनको पुरानो घर र जितेको प्युठान त कहिले बर्दियाबाटै चुनाव लड्ने चर्चा चलाइएको थियो। तर, उनी उठेनन्
सत्ता गठबन्धनका दलमा सिट बाँडफाँट हुँदा वामदेवले टिकटको अपेक्षा गरेको प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले उम्मेदवारी दिएकी छन्। बर्दियाको क्षेत्र नं १ मा कांग्रेसका सञ्जय गौतमले उम्मेदवारी दिएका छन्, जसले अघिल्लो पटक वामदेवलाई हराएका थिए।
प्रतिनिधिसभाबाट चुनावमा निर्वाचित भई प्रधानमन्त्री हुने सपना देखेका वामदेवले सांसद हुने बाटो समेत छेकिएको छ। माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा जाने विषयमा सहमति जनाएपछि पुनः चर्चामा आएका वामदेव प्रत्यक्ष चुनावमा समेत नउठेपछि यसपछाडिका कारण खोजी भएका छन्।
यसरी रोकियो वामदेवको प्रतिनिधिसभा यात्रा
एमालेको उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका गौतम सत्ता गठबन्धनबाट टिकट पाउनेमा आशावादी थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकट दिनेमा उनी ढुक्क भए पनि उनकै कारणले वामदेवले टिकट पाएनन्। किनकि माओवादीमा पनि प्रचण्डले नचाहेका व्यक्तिले टिकट पाएनन्।
माओवादी छिरेर चुनाव लड्ने मनस्थिति बनाएका र अरू केही आकांक्षीलाई छेक्न प्रचण्डले एउटा मापदण्ड बनाए। जुन मापदण्डले वामदेवलाई चुनाव लड्न रोक्यो। त्यो थियो, ‘राष्ट्रिय सभाका सांसदलाई टिकट नदिने।’
त्यो मापदण्डले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि चुनाव लड्न रोक्यो। उनी पनि प्रतिनिधिसभा चुनाव लड्ने मनस्थितिमा थिए। श्रेष्ठ र गौतम दुवै राष्ट्रिय सभाका सांसद हुन्।
तर श्रेष्ठ पार्टीमा भए पनि गौतम भने बाहिर नै थिए । गौतम मात्रै हैन उनको समूहका कसैले पनि टिकट पाएनन् । त्यसको मुख्य कारण भने सत्ता गठबन्धनभित्रै टिकटका लागि भएको हानथाप हो ।
प्रचण्डले भित्रै मिलाउन नसकेपछि बाहिरका वामदेवका लागि सोच्नै भ्याएनन् । जसका कारण वामदेव उम्मेदवार बन्नबाट बन्चित भए ।
प्रतिनिधिसभा छिर्न फेरि अर्को पाँच वर्ष कुर्नुपर्ने
वामदेव उम्मेदवार बनेका ६ चुनाव मध्ये ३ पटक जितेका छन्। वि.सं ०४८ र ०५१ को निर्वाचनमा उनी बर्दियाबाट निर्वाचित भएका थिए। ०५६ र ०६४ मा पराजित भए। ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठान दुवै ठाउँबाट निर्वाचित भएका थिए। पछिल्लो पटक ०७४ को निर्वाचनमा उनी बर्दियाबाटै पराजित भए । उनी फेरि प्रतिनिधिसभा छिर्न भने अर्को पाँच वर्ष कुर्नुपर्ने भएको छ।
नेकपा एमाले विभाजनपछि कुनै पनि पार्टीमा नलागेका उनले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दै ‘आफ्नो अभियानबाट सारा नेपाली चकित पर्ने’ दाबी गरेका थिए। ०७४ मा बर्दिया १ बाट चुनाव हारे पनि पाँच वर्ष नपर्खी संसदमा पुग्ने हुटहुटीले विवाद पनि ल्यायो ।
डोल्पाका एमाले सांसद धनबहादुर बुढालाई राजीनामा गराई वामदेवले आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा सांसद बन्न खोजेका थिए। रामवीर मानन्धरले पनि वामदेवका लागि राजीनामा दिने घोषणा गरे । तर विवाद चर्कँदै गएपछि वामदेव ब्याक भए ।
पछि राष्ट्रियसभामा जाने विषयमा पनि उस्तै विवाद भयो तर कसैले छेक्न सकेन। अन्ततः वामदेवलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त गरियो ।
Facebook Comment
Comment