विश्लेषण

बाबुरामले आशंका गरेझैं मंसिर ४ गते पुराना नेता बढारिने सम्भावना कति ?

रवि लामिछानेदेखि रेशम चौधरीसम्मको अवस्था विश्लेषण गर्दा देखिने चित्र

आगामी निर्वाचनमा काठमाडौंका मेयर बालेन समर्थकको भूमिका के होला भन्ने जिज्ञासा धेरैमा छ । कतिपयको आकलन छ कि आफूसँग सल्लाह नगरी रवि लामिछानेले पार्टी खोलेकोमा बालेन खुसी छैनन् । फेरि पनि बालेन आफ्ना समर्थकको मत पुराना दलतिर नजाओस् भन्ने चाहन्छन् ।

बाबुरामले आशंका गरेझैं मंसिर ४ गते पुराना नेता बढारिने सम्भावना कति ?

नेपाल भ्युज । असोज १ गते प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने, ‘आगामी निर्वाचनमा हामीले शीर ठाडो गरेर जनताको बीचमा मत माग्न जाने अवस्था छैन । युवापुस्ताको असन्तुष्टिलाई कम न आँक्नुहोस् । आगामी निर्वाचन तपाईं हामीलाई त्यति सहज हुनेवाला छैन । हामी को-को बढारिन्छौँ ? म भन्न सक्दिन । आगामी प्रतिनिधिसभामा तपाईं हाम्रो भेट हुन्छ हुँदैन, थाहा छैन।’

डा. भट्टराईले यसो भनिरहँदा संसदमा रहेका अधिकांश बुढा, पुराना नेता र सांसदको अनुहार मलिन देखिन्थ्यो । डा. भट्टराईको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा खुबै चर्चा पनि भयो। प्रष्ट बुझ्न सकिन्छ कि यसपटक पुराना र स्थापित  या मूलधार भनिएका धेरै पार्टीलाई सहज छैन । धेरैको मनमा चिन्ता देखिन्छ । त्यसैले, कतिपय पाका नेता समानुपातिकतर्फ लागेका छन् ।

गत स्थानीय चुनावमा जस्तै बालेन र हर्कको जस्तो लहर चल्यो भने के होला ? देशको राजनीतिक कोर्स कता जाला भन्ने प्रश्न पनि उठ्न थालेको छ ?

बालेन र हर्कको बिम्ब

काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङ राई यतिखेर देशभरिकै युवा पुस्ता र मतदाताका लागि विशेष चर्चा र आकर्षणका पात्र बनेका छन् । देशभरि स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने लहर चल्नुमा बालेन र हर्क नै प्रेरणा हुन्। डा. भट्टराईले समेत सम्बोधनमा बालेन र हर्कको नाम लिन छुटाएनन् ।

उनले भने–‘जुन खालको लहर अहिले आउँदैछ, युवापुस्तामा यस्तो विद्रोहको लहर आउँदैछ, यसलाई सानो झिल्को मात्रै देखिरहेको छु मैले । यसलाई सम्बोधन  गर्न सकिएन भने, गाउँमा त त्यति प्रभाव नपर्ला, हाम्रो जुन संगठन छ, त्यसको प्रभावमा चुनाव जितिएला तर, सहरमा हामी त्यति सहज चुनाव जित्नेवाला छैनौं । म आफूलाई नवीकरण गरिरहने मान्छे, मलाई त आत्मविश्वास छैन।’

डा. भट्टराईले आफ्नो सम्बोधनमा डेनिस लेखक हान्स क्रिश्चियन एन्डरसनको ‘बादशाहको नयाँ लुगा’ कथाको सन्दर्भ लिँदै प्रश्न गरे, ‘हामीलाई सडकबाट नयाँ पुस्ताले तिमीहरु नाङ्गै छौ भनिरहेको छ, हामीले यो स्वीकार गर्ने कि नगर्ने ?’

सहरमा मात्रै कि गाउँमा पनि ?

स्वतन्त्र, युवा, नयाँ र  वैकल्पिक उम्मेदवार प्रतिको आकर्षण काठमाडौं धरानजस्ता शहरमा मात्रै हैन, गाउँतिर पनि सर्दै गएको पाइन्छ । पूर्वी नेपालको इटहरीमा बसोबास गर्ने लेखक तथा स्तम्भकार मोहन तिम्सिना भन्छन, ‘यसपाली पूर्वमा स्थिति बढो अनौठो छ । सामाजिक सञ्जालको शक्ति बढ्दो छ । युवा र नयाँ मतदाताले बालेन र हर्कको भन्दा अरूको कुनै गर्दैनन् । स्वतन्त्र भन्नेवित्तिकै हल्लाकै भरमा त हुँदैन होला, तर, राम्रा मान्छे स्वतन्त्र आए भने ठूला सहर बाहिर पनि नजित्लान् भन्न सकिन्न ।’

तिम्सिना थप्छन्, ‘तर,अहिलेसम्म हर्कको नगर धरानमै त्यस्तो आकर्षक स्वतन्त्र उम्मेद्वार देखिएको छैन । हर्कलाई मतदान गरेकाले अहिले कसलाई समर्थन गर्छन्, प्रष्ट छैन।’

झापामा तीन स्वतन्त्रको चर्चा 

सुदूरपूर्वको झापा जिल्लामा तीनजना स्वतन्त्र उम्मेदवारको विशेष चर्चा छ । लेखक युृग पाठकले एमाले अध्यक्षको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी घोषणा गरिसकेका छन् । झापा–४ मा युक्त भेटवालको चर्चा छ, उनले ‘लौरो अभियान’ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । स्वागत नेपालले झापा–२ मा उम्मेदवार हुने बताएका छन्।

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा गठबन्धनले माओवादीका विद्यार्थी नेता रञ्जित तामाङलाई टिकट दिने सम्भावना छ । झापा राजनीतिका एक जानकार भन्छन, ‘ओलीको क्षेत्रमा तामाङ बिल्कुलै कमजोर उम्मेदवार हुनेछन् । कांग्रेसले यो क्षेत्र छोड्नु भनेको ओलीका लागि बाटो सहज गर्नु हो । सायद त्यसको साटो ओलीले पनि डडेलधुरामा देउवाका लागि सहज बनाउन कमजोर उम्मेदवार दिन सक्छन्।’

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा गठबन्धनले माओवादीका विद्यार्थी नेता रञ्जित तामाङलाई टिकट दिने सम्भावना छ । झापा राजनीतिका एक जानकार भन्छन, ‘ओलीको क्षेत्रमा तामाङ बिल्कुलै कमजोर उम्मेदवार हुनेछन् । कांग्रेसले यो क्षेत्र छोड्नु भनेको ओलीका लागि बाटो सहज गर्नु हो । सायद त्यसको साटो ओलीले पनि डडेलधुरामा देउवाका लागि सहज बनाउन कमजोर उम्मेदवार दिन सक्छन्।’

झापाका स्वतन्त्रमध्ये युक्त भेटवाल सबैभन्दा बलिया हुन सक्ने सम्भावना छ । उमेरले युवा नभए पनि उनी पुराना राजनीतिक कार्यकर्ता तथा समाजमा स्थापित र स्वच्छ छवि भएका व्यक्ति हुन्।

नागरिक उन्मुक्तिले बदल्दै छ सुदूरपश्चिमको राजनीति

सुदूरपश्चिमको तराई क्षेत्रमा भने टिकापुर काण्डमा जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी ‘नयाँ शक्ति’ का रूपमा उदाउन खोजेजस्तो देखिन्छ । दाङदेखि कैलालीसम्म त्यसमा पनि विशेषतः दाङ, बर्दिया र कैलालीमा नागरिक उन्मुक्ति पार्टीको प्रभाव पर्ने देखिन्छ ।

टिकापुर थारू विद्रोहलाई दमन गरेवापत अहिले केही पुराना दलमा हिनता र पश्चातापको भावना देखिन थालेको छ । कैलालीमा त पुराना र स्थापित भनिएका दलका राजनीतिक कार्यकर्ताको ‘करिअर’ नै जोखिममा परेको छ ।

कैलाली १, २ र ३ भने नागरिक उन्मुक्ति पार्टीले जित्ने या पुराना दललाई बलियो टक्कर दिने विश्लेषण गरिँदै छ । नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरी भन्छन्, ‘कैलालीका ३ वटा क्षेत्र हामी निश्चित जित्छौं, बर्दिया र दाङमा पनि राम्रै मत ल्याउँछौं ।’

टिकापुर थारू विद्रोहलाई दमन गरेवापत अहिले केही पुराना दलमा हिनता र पश्चातापको भावना देखिन थालेको छ । कैलालीमा त पुराना र स्थापित भनिएका दलका राजनीतिक कार्यकर्ताको ‘करिअर’ नै जोखिममा परेको छ ।

देउवालाई मल्ल र ढकालको चुनौती

२०४८ साल यताका सबै निर्वाचन जित्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा यसपटक दुई नयाँ चुनौती देखिएका छन् । कांग्रेस परित्याग गरी नेपाली कांग्रेस (बीपी) का उपाध्यक्ष बन्न पुगेका कर्ण मल्ल र सागर ढकाल ।
डडेलधुराका एक राजनीतिक कार्यकर्ता भन्छन, ‘सागरबारे अहिले नै केही भन्न सकिन्न । डडेलधुराका गाउँहरू काठमाडौं र धरानजस्तो सहज छैनन । उनी बाहिरका पनि परे । यहाँका धेरै चिज उनलाई थाहा छैन । तर, कर्ण मल्ल देउवाका लागि चुनौती बन्न सक्छन् ।’

उनी थप्छन्, ‘डडेलधुराको राजनीति कसरी जान्छ, ओली र एमालेको निर्णयमा पनि भर पर्छ । एमालेले मल्ललाई सहयोग गर्‍यो भने देउवासँग राम्रै प्रतिस्पर्धा हुन्छ । ओलीले मल्ललाई सहयोग गर्न चाहेनन् भने त्यहाँ एमालेले कुनै कमजोर उम्मेदवार देला र सहज बनाइदेला ।’ गत स्थानीय निर्वाचनमा डडेलधुरामा नेपाली कांग्रेस बीपीले २ वटा वडा जितेको छ, त्यसमध्ये एक स्वयं देउवाको गृह वडा हो ।

मध्य नेपालमा रवि लामिछानेको क्रेज 

प्रदेश १, मधेस र सुदूर पश्चिममा रवि लामिछाने नेतृत्वको  राष्ट्रिय स्वतन्त्र पार्टीको खासै आकर्षण देखिएको छैन । तर, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीमा भने लामिछानेले राम्रै मत ल्याउने संकेत देखिएको छ । कतिपय स्वतन्त्र उम्मेदवारले रविको पार्टीको चुनाव चिन्ह लिने इच्छा देखाएका छन् ।

स्रोतका अनुसार काठमाडौं २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका ओनसरी धर्ती उठेमा रवि यहाँबाट उम्मेदवार हुन सक्छन् । काठमाडौं ७ बाट मानुषी यमी उम्मेदवार नबने त्यहाँबाट उठ्ने सम्भावना पनि रहेको बताइन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बुटवल, पोखरा, काठमाण्डौं र सुर्खेतका कार्यक्रममा अन्यत्रको तुलनामा बढी भीड पनि देखिएको थियो । रवि लामिछाने आफै कहाँबाट उम्म्दवार हुने हुन् अहिलेसम्म घोषणा गरेका छैनन् । उनले काठमाडौंको कुनै एक निर्वाचन क्षेत्र छान्ने सम्भावना छ ।

स्रोतका अनुसार काठमाडौं २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका ओनसरी धर्ती उठेमा रवि यहाँबाट उम्मेदवार हुन सक्छन् । काठमाडौं ७ बाट मानुषी यमी उम्मेदवार नबने त्यहाँबाट उठ्ने सम्भावना पनि रहेको बताइन्छ ।

बालेन समर्थकले के गर्लान् ?

आगामी निर्वाचनमा काठमाडौंका मेयर बालेन समर्थकको भूमिका के होला भन्ने अर्को जिज्ञासा धेरैमा छ । कतिपयको आँकलन छ कि आफूसँग सल्लाह नगरी रवि लामिछानेले पार्टी खोलेकोमा बालेन खुसी छैनन् । अर्कोतिर बालेन र हर्कले ब्रान्ड बनाएको ‘लौरो’ निर्वाचन आयोगमा अरूले नै दर्ता गरिसकेको छ।

फेरि पनि बालेन आफ्ना समर्थकको मत पुराना दलतिर नजाओस भन्ने चाहन्छन् । त्यसैले, बालेन यो चुनावमा मौन बस्ने र आफूलाई ‘रिजर्भ’ राख्ने तर समर्थकले भने प्रत्यक्ष भोट स्वतन्त्र उम्मेदवार र समानुपातिक भोट रवि लामिछानेको पार्टीलाई दिने सम्भावना बढी छ ।

मधेसको भिन्नै कथा

मधेस प्रदेशको कथा भने भिन्नै छ । राष्ट्रिय मूलधारका लागि नयाँ र वैकल्पिक मानिएका यी प्रवृति मधेसमा भने कमजोर छन् । एकप्रकारले कहीँ कतै दृष्यमै देखिँदैनन् । मधेस प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नयाँ र वैकल्पिक शक्ति’ को भूमिका खेल्न खोजेको देखिन्छ ।

सीके राउतले सप्तरी–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिने मनसाय बनाएका छन् । तर, यी दुई नेताबीच आन्तरिक मोलमोलाई हुने सम्भावना छ । उपेन्द्रले अर्को कुनै निर्वाचन क्षेत्रमा सहयोग गरे राउत सप्तरी–२ बाट पन्छिदिन सक्छन् ।

जनकपुरस्थित एक राजनीतिक विष्लेषकका अनुसार मधेसमा रवि लामिछानेको पार्टी कार्यक्रममा खासै आकर्षण देखिएन। उनी जनकपुर गए र फर्किए, मुस्किलले सय जना मानिस पनि भेला भए ।

सीके राउतले सप्तरी–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिने मनसाय बनाएका छन् । तर, यी दुई नेताबीच आन्तरिक मोलमोलाई हुने सम्भावना छ । उपेन्द्रले अर्को कुनै निर्वाचन क्षेत्रमा सहयोग गरे राउत सप्तरी–२ बाट पन्छिदिन सक्छन् ।

तर, गठबन्धन अनुशासनको कारणले उपेन्द्रले त्यसो गर्न सक्ने सम्भावना कमै छ ।सप्तरीमा सिके राउतको बढ्दो क्रेजले उपेन्द्र केही हच्केका भने छन् । उनी सप्तरी छोडेर पर्सा गएमा कुनै आश्चर्य हुने छैन ।

मधेसमा पछिल्ला दिनमा एमाले प्रवेश गर्नेको पनि राम्रै लहर देखिन्छ तर, तीमध्ये अधिकांश पाँच दलीय गठबन्धनको टिकट पाउने सम्भावना नभएका मान्छे हुन भन्छन् सप्तरीका दलित अभियन्ता तथा लेखक राजेश विद्रोही ।

विद्रोही आफैँ सप्तरी–४ बाट स्वतन्त्र चुनाव लड्ने मनस्थितिमा छन् । उनी भन्छन्–‘देशको अरु भाग र मधेसको मनोविज्ञान फरक छ । यहाँ काठमाडौंका नयाँ र वैकल्पिक भनिनेहरूको खासै प्रभाव पर्दैन ।’

बढारिएलान् त पुराना नेता ?

डा. बाबुराम भट्टराईले आशंका गरेझैं स्थापित मूलधारका पुराना र शीर्ष नेता मंसिर ४ को चुनाव हार्छन नै भनेर ग्यारेन्टी गर्न सकिने अवस्था देखिँदैन । तर, माहोल दिन प्रतिदिन फरक हुँदै गइरहेको छ। विशेषतः युवाले नयाँ उम्मेदवार खोजिरहेका छन् ।

लामो समयदेखि पार्टीमा लाग्दै आएको मध्यम उमेर समूहको मतदाता भने यसपाली अन्योलग्रस्त छ । गठबन्धनका कारणले उम्मेदवार थोरै हुने र विकल्प सीमित हुने हुँदा यो फ्याक्टरले पनि स्वतन्त्र र नयाँलाई फाइदा पुग्न सक्छ ।

चुनाव आउन अझै दुई महिना बाँकी रहेकाले अब माहोल कसरी अघि बढ्छ भन्नेले पनि परिणाम प्रभावित हुनेछ । पुराना दलप्रति वितृष्णा भए पनि मतदाताले तत्कालै उपयुक्त विकल्प फेला पारिसकेका छैनन् ।

स्वतन्त्र भन्नेहरू पनि आफैमा लडिरहेको जस्तो देखिन्छन् । त्यसैले आगामी चुनावबाटै पुराना दल बढारिने अवस्था अहिलेसम्म देखिएको छैन । तर, चुनावले केही नयाँ संकेत भने अवश्य गर्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved