कला-संसार

डीरामको फराकिलो क्यानभास

जीवन-यात्राको आधा शताब्दी छिचोलिसके, पाल्पालीले। जीवन रङ, ब्रस र क्यानभासकै वरिपरि घुमिरहे। घट्टझैँ, निरन्तर-निरन्तर। बिहानदेखि बेलुकीसम्मै रङसँग खेल्न अभ्यस्त स्वप्रशिक्षित सर्जक यिनलाई राज्यद्वारा प्रदत्त पदीय हैसियत, ठूला पुरस्कार र सम्मानप्रति कुनै लालच छैन।

डीरामको फराकिलो क्यानभास

भयो दुई सातामात्रै। दुई साताअघि नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे अमेरिकातिर उडे। अमेरिका जाँदा उनले साथमै लगे, नेपाली परिवेश झल्किने एउटा सुन्दर पेन्टिङ। अमेरिकामा कुनै व्यक्तिलाई उपहार दिने हेतुले लगिएको त्यो पेन्टिङका सर्जक थिए- डी. राम पाल्पाली।

पछिल्लो समय पाल्पालीका कलाकारितालाई अधिक रुचाउनेमध्ये पर्दछन्, बैंकर पाण्डे। बर्सेनिजसो निस्किने बैंकको क्यालेन्डरमा पनि पाल्पालीकै कला-सिर्जनाहरू सजाइएका हुन्छन्। पाल्पाली भन्छन्, “मेरा पेन्टिङ उहाँ (पाण्डे) ले असाध्यै रुचाउनु हुन्छ। हरेक २-३ महिनामा उहाँले मेरा पेन्टिङ किनिरहनु हुन्छ।”

काठमाडौंमा थुप्रै चित्रशिल्पी छन्। पूर्ववर्ती र वर्तमान दुवै पुस्ताका। आखिर, किन पाल्पालीकै पेन्टिङमाथि सम्भ्रान्त वर्ग, बैंकर र क्याफे सञ्चालकहरूको आँखा पर्छ त ?

लाग्छ, यो कुनै प्रश्न होइन। यद्यपी यसको सहज जवाफ फेला पार्न सकिन्छ- पाल्पालीको पेन्टिङको भव्यता र जीवन्तता। खासगरी भूदृश्य-चित्र उतार्ने कार्यमा बढी केन्द्रित रहँदै आएका पाल्पालीका सिर्जनाहरूले मन-मस्तिष्कलाई आनन्दित र तरंगित तुल्याउने दुवै शक्ति राख्छन्। सानेपा हाइटको क्लासिक भेन्यूको भित्री कोठामा टाँगिएको अठार बाई चार फिटको दुइटा चित्रले यति धेरै तान्छ कि, हेर्नेहरूले त्यही थलोमै पुगेको आभास पाउँछन्। पाटन दरबार स्क्वायर र काठमाडौं उपत्यकालाई क्यानभासको संसारमा नियाल्न ती दुई चित्र पर्याप्त देखिन्छन्।

नेपाल नै बजार

पाल्पालीको कला-सिर्जना उनको जीवनयापनको मुख्य आधार बन्दै आएको छ, साढे तीन दशकयता। उनी बेच्नकै लागि क्यानभास रङ्ग्याउँछन्, स्टुलहरू खेलाउँछन्। उनले सयौं कला बेचिसके। विदेशी र स्वदेशी ग्राहकलाई। पछिल्लो समय भने उनका कलाको पारख गर्नेहरूमा स्वदेशीकै बाहुल्य छ। भन्छन्, “अब नेपालीहरूले पनि दिल खोलेर पेन्टिङ किन्न थालेका छन्।”

पूर्ववर्ती समयमा एउटा मान्यता प्रबल थियो- ‘नेपालीहरूले कहाँ पेन्टिङ किन्छन् र ? पेन्टिङ त विदेशीहरूले पो किन्ने हो त !’ नेपालीहरूले किनि हाले पनि केही सम्भ्रान्त वर्गका मानिसहरूका साथै व्यापारिक घरानाहरूका हुन्थे। दुई दशकअघिसम्म पनि कुनै सर्जकले चित्रकला प्रदर्शनी गर्दा उद्घाटन गर्न व्यापारिक घरानाकै मानिसलाई निम्त्याउँथे। वा, राजपरिवारका सदस्य र नातेदारहरूलाई। त्यसमा एउटै मात्र लोभ हुन्थ्यो- मैले व्यापारिक घरानाका मानिसलाई प्रमुख अतिथि बनाएँ भने दुई-चार वटा पेन्टिङ बिक्ने पक्का।

सम्भ्रान्त वर्ग र व्यापारिक घरानाहरू त नेपाली चित्रकलाका असल ग्राहक भइहाले। पछिल्लो समय भने मध्यम वर्गले पनि पेन्टिङ किन्न रुचि देखाउन थालेका छन्। भन्छन्, “अब त मध्यम वर्गका मानिसले पनि पेन्टिङ किन्न थालेका छन्। घरको बैठक कोठामा सजाउनका लागि पनि उनीहरूले चित्र किन्न थालेका छन्।”

पहिला पेन्टिङहरू महँगा हुन्छन् भनेर नेपालीहरू किन्न हच्किन्थे। अचेल भने नेपालीहरूको पनि आँखा जान थालेको छ। भन्छन्, “यस्तो हुनुमा नेपालीहरूको क्रयशक्ति पनि बढेको हुनुपर्छ। अर्कोचाहिँ नेपालीहरू विदेश गइरहन्छन्। विदेशीहरूका घर वा कुनै होटलमा पेन्टिङ टाँगिएका हुन्छन् र हामीले पनि घरको सजावटका लागि पेन्टिङ राख्नुपर्ने रहेछ भन्ने सोचेर नेपालीहरूले किन्न थालेको हुनुपर्छ।”

अर्को, देखासिकीले पनि आफ्नो घरको भित्तामा पेन्टिङ सजाउन थालेको उनको बुझाइ छ। भन्छन्, “फलानाको घरमा कति राम्रो पेन्टिङ राखिएको रहेछ, हामी पनि त्यस्तै पेन्टिङ राखौं भन्नेको संख्या बढ्दै छ। त्यही कारण पनि नेपाली पेन्टिङले नेपालभित्रै बजार पाउँदै गएको देखिन्छ।”

अशोकमानसिंलाई गुरु थाप्दै

५३ वर्षअघि तानसेन बजारस्थित भन्सार टोलमा जन्मिए, दयाराम (डी. राम) पाल्पाली। पाल्पाली थर उनले विरासतमै पाए। बुबाले पनि पाल्पाली नै लेख्थे। कलाक्षेत्रमा यही नामले चिनिँदै आएका छन्।

तानसेन, पश्चिमको पुरानो पहाडी सहर। नेवार समुदायको बाहुल्य भए पनि अरू जाति/समुदायले समेत गुल्जार गरेको सहर। प्राकृतिक रूपले पनि अत्यन्तै सुन्दर। माथि श्रीनगर डाँडा, तल माडी फाँट। धेरै साहित्य, कला, संगीतसर्जक जन्माएको छ तानसेनले। त्यही तानसेनको टक्सार टोलमा थियो- वरिष्ठ कलाकर्मी अशोकमानसिंहको पसल। मूलतः साइनबोर्ड बनाउने पसल।

अशोकमानसिंहको पसल र पाल्पालीको घर एकदमै नजिक। कहिलेकाहीं घुम्दै-डुल्दै उनी पुग्थे, अशोकमानसिंहको पसलमा। अशोकमान सधैँ व्यस्त। हातमा ब्रस लिएर कुनै न कुनै सिर्जना गर्न व्यस्त। ती सबै दृश्य परै बसेर हेर्थे, पाल्पाली। भन्छन्,  “उहाँको पसलमा राम्रा-राम्रा आर्ट सजिएका हुन्थे। म ती आर्टहरू हेर्थेँ र घरमा आएर बनाउँथेँ। त्यसैबाट प्रभावित भएर म कलाक्षेत्रमा लागेँ।”

६-७ वर्षको हुँदादेखि नै अशोकमानको पसलमा सजाइएका पेन्टिङहरूले पाल्पालीलाई तानिसकेको थियो। तत्कालीन समय पाल्पामा एउटा मात्रै सिनेमा हल थियो- सन्तोष चलचित्र मन्दिर। अशोकमानले त्यो हलमा प्रदर्शित फिल्महरूका कलाकारहरूको मुहार-चित्र पनि बनाउँथे। कहिले अमिताभ बच्चन, कहिले अरू कलाकारका। कहिले फिल्मको पोस्टर पनि बनाउँथे। भन्छन्, “मैले ती कलाकारहरूका पेन्टिङ हेर्थेँ र घरमा आएर पेन्सिलले कापीमा उतार्थेँ।”

तानसेनमा रहुन्जेलसम्म उनले अशोकमानलाई चित्रकलाप्रति आफ्नो पनि रुचि पोखिएकोबारे कुनै भेउ दिएनन्। पछि काठमाडौंमा भेट्दा मात्र उनले सबै रहस्य खुलाए। भन्छन्, “पछि मात्र मैले तपाईंकै पेन्टिङहरू हेरेर म चित्रकलातिर आकर्षित भएको हुँ भनेँ। मेरो कुरा सुनेर उहाँ हाँस्नुभयो।”

किम्बुको रससँग अभ्यस्त

पाल्पालीले चित्रकलाको सुरुआत गरे, पेन्सिलबाट। सहज थियो, त्यो नै। रङको अनुहार त उनले धेरैपछि पोखरामा रहेर पानी-रङसँग खेल्न थालेपछि मात्रै देखेका हुन्।

तानसेनमा छँदा भने उनी प्राकृतिक रङबाट चित्र बनाउन अभ्यस्त रहे। त्यो थियो- किम्बुको रस। घर छेउमै थियो, किम्बुको बोट। वसन्त ऋतुछेक उल्कै फल्थ्यो। उनी किम्बुको पाकेको दाना टिप्थे र त्यसलाई निचोरेर रस निकाल्थे। गाढा रातो रङको किम्बुको रस उनी कापीमा रङ्ग्याउँथे। भन्छन्, “त्यतिबेला मसँग कलर किन्ने आर्थिक हैसियत पनि थिएन। गाउँघरमा उपलब्ध प्राकृतिक रङहरूबाट नै चित्र बनाउन सिकेँ।”

गाउँतिर पाइन्थ्यो- पहेँलो माटो। पहेँलो माटोले पनि चित्रलाई पोत्थे उनी। भन्छन्, “पहेँलो माटोबाट ठ्याक्कै पहेँलै कलर त आउँदैनथ्यो तर अलिअलि इफेक्ट भने देखाउँथ्यो।”

धेरै पछि मात्र उनले मोमबत्ती कलर किनेर पेन्टिङ सजाउन थाले।

बुटवल, पोखराहुँदै काठमाडौँ

तत्कालीन समय साइनबोर्ड बनाउँदा जीवन धान्ने गतिलो आधार मिल्थ्यो। जीवन संघर्षकै यात्रामा एक जना साथीको सुझावलाई शिरोधार्य गर्दै उनी बुटवलतिर झरे र बनाउन थाले-साइनबोर्ड।

२-४ वर्ष बुटवलमै रहेर व्यावसायिक कलाको बाटो पछ्याए। एकदिन उनका साथी ओम गुरुङले एउटा प्रस्ताव राखे, “पोखरा जाऔँ। पोखरामा साइनबोर्ड र पेन्टिङ दुवैको काम पाइन्छ।”

बुटवलबाट हान्निए उनी पोखरातिर। पोखरा गएपछि कलाक्षेत्रका दिग्गजहरूसँग उनको उठबस हुन थाल्यो। दुर्गा बरालको पेन्टिङलाई चिने, बुद्धि गुरुङको पेन्टिङलाई बुझे र यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, बीपी कोइराला, कृष्णप्रसाद श्रेष्ठलगायतका पेन्टिङसँग प्रत्याक्षानुभूति गर्ने अवसर पाए उनले। भन्छन्, “पोखरामा गएपछि मैले राम्रा कलाकारहरूद्वारा सिर्जित पानी-रङका चित्रहरू देख्ने मौका पाएँ। एक हिसाबले पोखरा मेरा निम्ति वाटर कलरको स्कुलिङ नै सावित भइदियो।”

“मेरो कलाको वास्तविक यात्रा पोखराबाटै सुरु भयो,” भन्छन् पाल्पाली।

पोखरामै बुद्धि गुरुङ र यादवचन्द्र भुर्तेलको आर्ट ग्यालरी थियो। उनको दिनचर्या त्यही आर्ट ग्यालरीमा जाने र पानी-रङसँग खेल्दै बित्न थाले। भन्छन्, “मैले त्यही आर्ट ग्यालरीमा गएर नै अनौपचारिक रूपमा पेन्टिङ सिक्ने अवसर पाएँ।”

अहिले पनि उनी गुरुङ र भुर्तेललाई गुरुका रूपमा लिन्छन्।

उनी ‘सिकारु’ नै थिए, पोखरा छँदा। उनका सिर्जना खासै बिक्री हुँदैनथे। अरू अग्रज कलाकारहरूका चित्रले उचित मूल्य पाउँथे। एक पटक भने उनको एउटा पेन्टिङ बिक्री भयो। हिमालको दृश्यचित्र। हातमा त्यस्तै २-३ सय रुपियाँ पर्‍यो। त्यति रकम उनका निम्ति रङ किन्न पर्याप्त भयो। आफ्नो सिर्जनाले मूल्य पाएपछि उनलाई औधि खुसी लाग्यो र मनमनै कल्पिए, “मैले बनाएको पेन्टिङ पनि बिक्री हुँदोरहेछ। पेन्टिङ गरेर पनि बाँच्न सकिने रहेछ।”

कस्तो भने त्यो समय पोखरामा रङ किन्न पाइँदैनथ्यो। न त पाइन्थ्यो क्यानभास नै। काठमाडौँबाट फर्किने मानिसबाट रङ र क्यानभास मगाउनुपथ्र्यो।

पोखरा बसाइँ ४-५ वर्षभन्दा धेरै तन्किएन। यद्यपि, पछिल्लो समय काठमाडौँमा कलाक्षेत्रमा रमाउने र जीवन धान्ने जग भने उनले पोखरा छँदा नै राखिसकेका थिए।

बुद्धि गुरुङ र यादवचन्द्र भुर्तेल दुवै जनाले पोखरामा कलासिर्जना गरे पनि काठमाडौँका ग्यालरीहरूलाई पनि चित्र दिन्थे। एक पटक दुवैले उनलाई ‘काठमाडौं जाऔं’ भनी प्रस्ताव राखे। मूलतः काठमाडौं घुम्ने र काठमाडौंका ग्यालरीहरू नियाल्ने हेतुले उनी काठमाडौं आएका थिए।

दरबारमार्गस्थित जे. आर्ट ग्यालरीमा राखिएका पेन्टिङहरू देखेपछि उनले कलाको फराकिलो क्षितिजलाई अझै नियाल्ने मौका पाए। भन्छन्, “काठमाडौंमा २-४ दिन घुम्दा मठमन्दिरहरूमा पनि घुमेँ र पोखरा फर्किएर तिनै मठमन्दिरहरूलाई मैले पेन्टिङमा उतार्न थालेँ।”

उनले तिनै पेन्टिङहरू काठमाडौंका ग्यालरीहरूलाई दिए र अधिकांश बिक्री पनि भए। भन्छन्, “मैले बनाएका पेन्टिङहरू बिक्री हुन थालेपछि पोखरामा बसेर किन काठमाडौंका मठमन्दिरहरूका पेन्टिङ बनाउने ? काठमाडौंमै बसेर किन नबनाउने ? भन्ने लाग्यो र म काठमाडौंमै रहेर पेन्टिङमा व्यस्त रहन थालेँ।”

बढीमा तीन लाख

संयुक्त रूपमा थुपै्र पटक कला प्रदर्शनी गरिसकेका पाल्पालीले एकल कला प्रदर्शनी भने नेपालको जे. आर्ट ग्यालरी र दक्षिण कोरियामा मात्र गरेका छन्। प्रदर्शनीमा राखिएका उनका अधिकांश चित्रहरू बिक्री नहुने कुरै भएन। त्यसमा अहिलेसम्म एउटा चित्रलाई तीन लाख रुपियाँसम्ममा बेचेका छन् उनले।

झम्सिखेलको क्लासिक भेन्यूमा राखिएका दुइटा चित्र पनि उनले ३-३ लाखमा बेचेका हुन्। ती चित्र बनाउन उनले २४-२५ दिन समय खर्चिएका थिए। भन्छन्, “ती चित्रहरू बनाउँदा समय पनि धेरै लाग्यो र मिहिनेत पनि धेरै पर्‍यो। त्यही भएर राम्रै मूल्य लिएको हुँ।”

पानीरङसँग मात्र खेल्दैनन् उनी। एक्रेलिकमा पनि बसेको छ हात उस्तै। सिंगापुरका एक जना कलापारखी नेपाल आउँदा उनका चार थान एक्रेलिक सिर्जना खरिद गरे। ती चित्रहरू मन्दिरहरूका शृंखला थियो। पछि एकजना कोरियनले कोरियामा प्रदर्शनीका लागि चाँजोपाँजो मिलाइदिए। राजधानी सोल र अरू दुई सहरमा प्रदर्शनी भए। भन्छन्, “मैले ३५-४० वटा पेन्टिङ लगेको थिएँ, सबै बिक्री भए।”

जीवन-यात्राको आधा शताब्दी छिचोलिसके, पाल्पालीले। जीवन रङ, ब्रस र क्यानभासकै वरिपरि घुमिरहे। घट्टझैँ, निरन्तर-निरन्तर। बिहानदेखि बेलुकीसम्मै रङसँग खेल्न अभ्यस्त स्वप्रशिक्षित सर्जक यिनलाई राज्यद्वारा प्रदत्त पदीय हैसियत, ठूला पुरस्कार र सम्मानप्रति कुनै लालच छैन। उनका समकालीनहरूले भने यस्ता विषयमा छलाङ नै मारिसके। बस, एउटा राम्रो सिर्जना गर्न पाइयोस्, त्यसले उचित दाम पाऊन र घर-व्यवहार चलोस् राम्ररी। उनको महत्वाकांक्षा यत्ति नै छ भन्दा हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved