दासढुंगा दुर्घटनाको २९ वर्ष

मदन भण्डारी र जीवराज आश्रितको सडक दुर्घटना अझै रहस्यमय

दुर्घटनामा जिप चालक अमर लामा जीवित रहनु र पछि उनको हत्या हुनुले आमनागरिकले दुर्घटना रहस्यमय मान्दै आएका छन्।

नेपालभ्युज

मदन भण्डारी र जीवराज आश्रितको सडक दुर्घटना अझै रहस्यमय

काठमाडौं। नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परि निधन भएको २९ वर्ष पुरा भएको छ। वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप दुर्घटनामा परेको थियो।

दुर्घटनामा जिप चालक अमर लामा जीवित रहनु र पछि उनको हत्या हुनुले आमनागरिकले दुर्घटना रहस्यमय मान्दै आएका छन्। भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन आश्रित दिवस मनाउने गरेको छ।

यसक्रममा एमालेले आज स्मृति कार्यक्रमको आयोजना गरेको छ। स्मृति दिवसको कार्यक्रम राजधानी र दासढुङ्गालगायत मुलुकका विभिन्न ठाउँमा आयोजना गरिने छ।

तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुखको सडक दुर्घटनाबारे अनुसन्धान नगरेको भन्दै एमालेको आलोचना हुने गरेको छ।
मदन भण्डारीले नै नेतृत्व गरेको एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली (तीन पटक) प्रधानमन्त्री भए। तर, उनै दलका नेताको दुर्घटनाको रहस्य पत्ता लागेन।
घटनाको एक मात्रै विश्वासिलो प्रमाण चालक अमर लामा थिए। तर लामाको माओवादीले हत्या गरेपछि घटना थप रहस्यपूर्ण बन्यो। लामाको २०६० साउन ११ गते दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका–११ नयाँबजारमा गोली हानी हत्या भएको थियो।

लामाको हत्यापछि दासढुंगा दुर्घटना षड्यन्त्रपूर्ण थियो भनेर उठाइँदै आएको आशंका झन् बलियो बन्यो तर जवाफ कमजोर बनेको छ। एमालेले आफू सत्तामा भएकामा घटनाको सत्यतथ्य छानबिन गर्ने बताउँदै आएको छ। तर, सरकारमा गएपछि बिर्सँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved