कछुवाभन्दा सुस्त मतगणना: यही गतिमै गए अझै दुई साता

एक सातामा सबै पालिकाको अन्तिम परिणाम दिने आयोगको दाबी

अघिल्लो स्थानीय निर्वाचनमा परिणाम आउन ढिलाइ भएकै कारण यसपटक आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई ७ दिन भित्रै मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो। तर मुख्य निर्वाचन अधिकृतहरूले मतगणना छिटो गर्ने विषयमा ध्यान पुर्‍याउन नसकेर ढिलो भएको काठमाडौं ५ मा एमाले वडाध्यक्षका उम्मेदवार वीरेन्द्र प्रजापति बताउँछन्।

नेपालभ्युज

कछुवाभन्दा सुस्त मतगणना: यही गतिमै गए अझै दुई साता

काठमाडौं। काठमाडौँ महानगरपालिकामा मंगलबार बिहानसम्म करिब २४ हजार हजार मत गणना भएको छ। यो तीन दिन ४ रातको उपलव्धी हो। अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ वडाको मत गणना भइरहेको छ। यो समाचार तयार पार्दासम्म जम्मा २ ओटा वडाको मात्र मतगणना सकिएको छ। काठमाडौंंमा कुल खसेको मत १ लाख ९० हजार १ सय ७० हो।

काठमाडौं महानगरपालिकामा ६ स्थानमा गणना गरेर पछिल्लो २४ घण्टामा करिब ८ हजार मतसम्म मतगणना भएको छ। यो पनि पछिल्लो २४ घण्टामा गति बढाइएको हो। यही गतिमै बाँकी करिब १ लाख ६६ हजारभन्दा बढी गतिमा मतगणना गर्न अझै दुई साताभन्दा बढी समय लाग्नेछ।

ललितपुर महानगरमा पनि ८६ हजार ५ सय ४० मत खसेको छ। मंगलबार बिहानसम्म झण्डै १६ हजार बढी मतगणना भएको छ। यही गतिमा गणना गर्दा अझै दुई साता लाग्ने देखिन्छ। १ लाख ८५ हजार ७५२ मतदाता रहेको चितवनको भरतपुरमा ६७ प्रतिशत मत खसेको थियो। त्यहाँ पनि मंगलबार बिहानसम्म १७०३४ गणना भएको छ। विराटनगर महानगरपालिकामा हालसम्म १९ हजार ७ सय ८० मत गणना भएको छ। अहिलेकै गतिमा गणना जारी हुने हो भने अन्तिम नतिजाको लागि काठमाडौं र ललितपुरकै अवस्था देखिन्छ। अहिलेसम्म थोरै जनसङ्ख्या भएका उच्च हिमाली क्षेत्रका गाउँपालिकाहरूको मात्र नतिजा आएका छन्। काठमाडौंसहित केही नगरपालिकाका पनि नतिजा आएका छन्।

अघिल्लो स्थानीय निर्वाचनमा परिणाम आउन ढिलाइ भएकै कारण यसपटक आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई ७ दिन भित्रै मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो। तर, मुख्य निर्वाचन अधिकृतहरूले मतगणना छिटो गर्ने विषयमा ध्यान पुर्‍याउन नसकेर ढिलो भएको काठमाडौं ५ मा एमाले वडाध्यक्षका उम्मेदवार वीरेन्द्र प्रजापति बताउँछन्।

उनले भने ‘‘यसमा हामी दलहरूको कमजोरी होइन, आयोगकै कमजोरी हो। व्यवस्थापन मिलाउन नसक्नु आयोगको कमजोरी हो। हामीले त सहज होस् भनेर झन् थोरै प्रतिनिधि समेत राखेर गणना गरिरहेका छौँ।’’

गणना ढिलो हुँदा सामाजिक सञ्जालमा व्यङ्ग्य, सर्वसाधारण पनि आजित

मतगणना ढिलो भएपछि धेरैले सामाजिक सञ्जालमा व्यङ्ग्य, समेत गरेका छन्। जारी मतगणनामा अग्रता लिइरहेका लोरै चिन्हका स्वतन्त्र उम्मेदवार बालेन शाहले वृद्ध अवस्थामा लौरो टेकेको स्केच पोस्ट भइरहेका छन्। मतपरिणाम कस्तो आउला भनेर सर्वत्र चासो भइरहँदा मतगणना कछुवा गतिमा हुँदा धेरैले दिक्दारी मानेका छन्।

मतगणना ढिलो भएको काठमाडौंमा मात्र होइन, धेरै मतदाता भएका अरू महानगरहरू, ललितपुर, पोखरा, भरतपुर, वीरगन्ज र विराटनगरमा यस्तै सुस्त छ। साथै उपमहानगरपालिका धरान, इटहरी, जनकपुर, जीतपुर सिमरा, कलैया, हेटौँडा, बुटवल, घोराही, नेपालगन्ज र धनगढीमा पनि धेरै मत खसेका हुँदा अहिलेकै रेसियोमा गणना हुँदा त्यहाँ पनि गणना सकिन केही साता नै लाग्ने देखिन्छ।

आफ्ना नगरमा कसले जित्ला भन्ने त चासो नगरवासी सबैको हुने नै भयो। कतिपय नगरमा कसले बाजी मार्ला देशैभर चर्चामा छ। स्वतन्त्र उम्मेदवाले अग्रता लिएको काठमाडौं, गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल पुत्री उम्मेदवार र कांग्रेसका बागी उम्मेदवार उठेका चितवनमा कसले नेतृत्व हात पार्ला चासो बनेको छ। स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेको धनगढीमा पनि देशैभरका चासो छ। तर आम मानिसको चासो मेटिने मतगणना धेरै ढिलो भएपछि आमनागरिक दिक्दारी मानिरहेका छन्।

२०७४ को पहिलो स्थानीय तह निर्वाचनमा अन्तिम मतपरिणाम आउन १७ दिनसम्म लागेको थियो। यद्यपि यसपटक भने आयोगले पाँचदिनभित्रै सबै पालिकाको मतगणना सम्पन्न गर्ने दाबी गर्दै आएको थियो। तर मतदान सकिएको चार दिन बित्दा पनि महानगर र उपमहानगर पालिकाको मतगणना २० प्रतिशत पनि सकिएको छैन। सबैभन्दा ढिलो भरतपुर महानगरमा गणना भइरहेको आयोगमा रिर्पाेटिङ परेको छ।

आयोग भन्छ, ढिलोमा एक सातामा परिणाम सार्वजनिक हुन्छ

काठमाडौं महानगरमा ६ ठाउँ, ललितपुर महानगरमा तीन, भरतपुर महानगरमा दुई स्थानमा भएका गणना निकै सुस्त छ। यद्यपि पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले आश्वासन दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको टोलीले काठमाडौं महानगरपालिका र भक्तपुरका मतगणना स्थलको अनुगमन गरेपछि मतगणनास्थल थप गरेर गणनाको गति बढाउने योजना बनाएको बताइएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा शर्मा पौडेल भन्छन् ‘‘हामीसँग भएका जनशक्ति भरपुर प्रयोग गरिरहेका छौँ। यो गणना ढिलो भएकै हो। अव यसको गति बढाउन थप जनशक्ति राखेर र गणना स्थान थप गर्नु नै हो। हामी त्यसतर्फ सोचिरहेका छौँ। भोलिबाट गणनास्थल थप गरेर गणनाका गति बढाउनेछौँ।’’ बढीमा एक साताभित्र अन्तिम नतिजा आइसक्ने प्रवक्ता शर्माले बताए।

यता निर्वाचन अधिकृतको कार्यालयले भने धेरै उम्मेदवार भएकाले गणना झन्झटिलो र ढिलो भएको दाबी गरेको छ। ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटी भन्छन्, ‘‘यहाँ उम्मेदवारहरू धेरै छन्। गणनामा दलीय प्रतिनिधि र स्वतन्त्र उम्मेदवार धेरै छन्। सबैका प्रतिनिधि बस्नुपर्ने भएकाले ढिलो भइरहेको छ। कमीकमजोरी सुधार्दै अगाडि बढ्दै छौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved