स्थापितलाई डेट एक्सपाएर औषधि भन्दै सिर्जनाले चुनाव जित्ने बाबुरामको दाबी

नेपालभ्युज

स्थापितलाई डेट एक्सपाएर औषधि भन्दै सिर्जनाले चुनाव जित्ने बाबुरामको दाबी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मेयरका उम्मेदवार केशव स्थापितलाई ‘डेट एक्सपाएर’ भएको बताउँदै काठमाडौं महानगरमा सिर्जना सिंहले जित्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सिर्जना सिंहको प्रतिस्पर्धीको रूपमा रहेका नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिए। अध्यक्ष भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना सिंह विजयी हुने बताए। उनले अबको जित सुनिश्चित भइसकेकोले काठमाडौंलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए।

अध्यक्ष भट्टराईले भने, “जितमा म त्यति समस्या देख्दिनँ। उहाँको प्रतिपक्षी उम्मेदवार जो हुनुहुन्छ, मैले टिप्पणी गर्नु उपर्युक्त हुँदैन। उहाँ बारेमा पनि मलाई अलिकति भ्रम थियो। म प्रधानमन्त्री छँदा उनले पहिला राम्रै काम गर्नुभएको भनेर काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख पनि बनाएँ। तर उहाँ डेट एक्सपाएर भएको औषधि जुन काम नलाग्ने हुन्छ, जो प्रत्युत्पादक हुन्छ, उहाँ त डेट स्पाएर भएको मान्छे हुनुहुँदो रहेछ। मैले बीचमा नै उहाँलाई निकाल्नुपर्‍यो। मजस्तो एउटा उदारवादी मैले उनलाई निकालेको पनि हो। त्यसो भएको हुनाले पनि उहाँ त अब निर्विकल्प सिर्जनाजी विजयी हुनुहुन्छ भन्ने विश्वास छ। अब जितिसकेपछि गर्ने के भन्ने प्रश्न हो, त्यतापटि उहाँको विशेष ध्यान पुगोस्।”

अध्यक्ष भट्टराईले आफू पनि काठमाडौं महानगरको मेयरमा उठ्न चाहेको बताए। उनले यसअघि मेयरमा उठ्छु भन्दा कतिपयले ठट्टा गरेको बताए। उनले राजधानीको मेयर बन्नु कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति पछिको महत्वपूर्ण पद भएको बताए।

अध्यक्ष भट्टराईले भने, “राजधानी शहरको मेयर भनेको अहिले पनि अन्यत्र विश्वमा पनि प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपतिपछिको दोस्रो सबैभन्दा ठूलो महत्वपूण पद हो। मैले भनेको थिएँ। धेरै मान्छेले ठट्टा पनि गरे। म अब एक पटक मेयर हुन्छु भनेँ मैले साँच्चै भनेको हो। त्यसरी मात्रै व्यवहारतया मान्छेले काम देखाउन सक्छ। तर संयोगले सिर्जनाजीले यो अवसर पाउनुभएको छ। यसलाई ध्यानमा राखेर काठमाडौं महानगरलाई देशको मोडल शहरीकरण नमूना उनले पेस गर्न सक्नुभयो भने देशभर भएको अव्यवस्थित शहरीकरण त्यसले एउटा आकार लिनेछ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved