भ्रष्टाचार आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

नेपालभ्युज

भ्रष्टाचार आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

सर्खेत। कम काम बढी रुपैयाँ भुक्तानी गर्ने मुगु छायाँनाथ रारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, सब इन्जिनियरसहित उपभोक्ता समितिका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मुद्दा दायर गरेको छ।

अख्तियारले आर्थिक वर्ष २०७४-७५ को विनियोजितबाट अदालतचोकदेखि प्रशासन कार्यालयसम्मको बाटो निर्माण गर्दा बजेट दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सारुसहित सहायक इञ्जिनियर हस्तबहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध मुद्दा दायर गरेको हो।

छायाँनाथ रारा, नगरपालिका–२ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४-०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा उनीहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ।

निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ रारा, नगरपालिका–२ स्थित अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणको कार्यमा सब–इन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको नापी किताबमा प्रमुख प्रशासकीय अधिकृत सारुले सही गरी नापीको विवरणमा सहमति जनाइएको पाइएको छ।

त्यस्तै प्रतिवादीद्वय असिस्टेन्ट सब इञ्जिनियर मल्ल र इञ्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी झूटा नापजाँच विवरण चढाई गलत सिफारिस गरेको पाइएको छ। जहाँ २९ लाख ७७ हजार ८२१.११ रुपैयाँ सरकारी हानिनोक्सानी भएको आयोगको आरोप छ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालले गैरकानूनी लाभहानी पुर्‍याउने बदनियतले वास्तविक कार्यभन्दा बढी मूल्यांकन गराई भुक्तानी माग गरेका कारण बिगो भराउन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved