जनकपुरधाम जसपाको भागमा परेपछि कांग्रेसले भन्यो, ‘केन्द्रको निर्णय मान्दैनौं, कडा कदम उठाउँछौं’

नेपालभ्युज

जनकपुरधाम जसपाको भागमा परेपछि कांग्रेसले भन्यो, ‘केन्द्रको निर्णय मान्दैनौं, कडा कदम उठाउँछौं’

जनकपुरधाम। सत्ता गठबन्धनको चुनावी तालमेलअनुसार जनकपुरधाम उपमहानगरपालिका जसपाको भागमा परेपछि नेपाली कांग्रेसका स्थानीय नेता कार्यकताले केन्द्रको निर्णय अस्वीकार गरेका छन्।

सत्ता गठबन्धनले गरेको सम्झौता सार्वजनिक भएलगत्तै नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका कमिटीको बैठक बसेको छ। जसपालाई मेयर दिएको विषयमा आवश्यक निर्णय लिन अहिले बैठक बस्दै गरेको र छलफल चलिरहेको कांग्रेस नगर उपसभापति राकेश विक्रम साहले जानकारी दिए।

उपसभापति साहले भने, “विगतको मत परिणाम हिसाबले पनि कांग्रेस मेयर पाउनुपर्ने हो। तर तर जसपालाई दिइएकोमा हाम्रो असन्तुष्टि छ।” नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले गठबन्धनबीच केन्द्रमा भएको सहमति नमान्ने चेतावनी दिए।

केन्द्रमा जनकपुरधामको नेतृत्व जसपालाई दिने सहमति भए पनि कांग्रेस सभापति साहले जनकपुरको मेयर कुनै हालतमा नछोड्ने बताए। भने, “जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसको आफ्नै उम्मेदवार हुन्छ। मेयर हामी कुनै पनि हालतमा छोडदैनौँ। जनताको भावनाविपरीत भएको निर्णय र कुनै पनि शर्तमा मान्ने हुने छैन।”

सभापति साहले केन्द्रको यस निर्णयको भर्त्सना गर्दै कांग्रेसको जनकपुरधाम समितिले अविलम्ब सच्याउन माग गरेको बताए। साहले भने, “मधेश प्रदेशसँग पार्टी सभापति शेरबहादुर देउवाले विभेद गर्नुभएको छ। जसपालाई मेयर दिने निर्णय अबिलम्ब नसच्याए हामी कडाभन्दा कडा कदम उठाउन तयार छौं।”

जसपाले मेयरमा वर्तमान नगरप्रमुख लाल किशोर साहलाई उमेदवार बनाउने सम्भावना बढी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved