गठबन्धनमा लगभग सहमति :

भरतपुरको मेयर माओवादीलाई, कांग्रेसलाई काठमाडौंसहित तीन महानगर, पोखरा नेकपा (एस) लाई दिन इन्कार गर्दा घोषणा भएन

नेपालभ्युज

भरतपुरको मेयर माओवादीलाई, कांग्रेसलाई काठमाडौंसहित तीन महानगर, पोखरा नेकपा (एस) लाई दिन इन्कार गर्दा घोषणा भएन

काठमाडौं। सत्ता गठबन्धनमा महानगरपालिकाको भागबण्डामा लगभग सहमति भएको छ। देशका ६ महानगरपालिकामध्ये कांग्रेसले तीन तथा सत्ता गठबन्धनमा रहेका अन्य दलहरूले एक-एक ओटा महानगरपालिका लिने सहमति हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।

सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगरपालिका र उपमहानगरपालिकाका साझा उम्मेदवार टुंगो लगाउने भएको हो। पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका गठबन्धन  दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन्।

गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना  पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिए।

काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन्। त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एक/एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उनले जानकारी दिए। यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ।

उनले मा‌ओवादीलाई भरतपुर नै चाहिन्छ भन्ने नभएको बताएका थिए। तर माओवादीको चितवनमा राम्रो पकड भएकाले लगभग भरतपुर माओवादीले पाउने सहमति भएको उनले बताएका थिए।

स्रोतका अनुसार माओवादीलाई भरतपुर महानगरपालिकाको मेयर दिने सहमति जुटेको छ। कांग्रेले काठमाडौं, ललितपुर र विराटनगर तथा जसपाले वीरगञ्ज पाउने लगभग सहमति जुटेको हो। तर, एकीकृत समाजवादीले पोखरा दाबी गरेको तर कांग्रेसले दिन अस्वीकार गरेका कारण सहमतिको घोषणा हुन नसकेको स्रोतले जानकारी दियो ।

आजै पुन: बस्ने गठबन्धनको बैठकले महानगरपालिकाको टुंगो लगाउने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved