केपी ओलीले भने, ‘गठबन्धनबालाहरूले देशलाई श्रीलंकाजसरी बर्बाद बनाउँदैछन्’

नेपालभ्युज

केपी ओलीले भने, ‘गठबन्धनबालाहरूले देशलाई श्रीलंकाजसरी बर्बाद बनाउँदैछन्’
फाइल तस्वीर

काठमाडौं। नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताएका छन्।

आइतवार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही समयपछि कर्मचारीले तलब पाएनन् र ज्येष्ठ नागरिकहरूले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गरे।

देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले बताए। अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने बताए।

उनले भने, “अहिले अर्थतन्त्र हेर्नुस् त देशको। श्रीलंका बन्न जाँदैछ नेपाल। केही समयपछि तपाईहरूले तनाखा पाउनुभएन भने अनौठो नमान्नु होला। तनाखा दिनसक्ने अवस्था छैन। ज्येष्ठ नागरिकहरूले भत्ता पाएनन् भने अनौठो नमान्नु होला। दिन सक्ने अवस्था छैन। योजनाहरू, आयोजनाहरू काटिएका छन्। त्यो गठबन्धनमा लागेका त खुशी नै होलान्। देश यस्तो अवस्थामा पुग्दापनि गठेहरू छन् नि आनन्दमा छन्। प्रशन्न छन्। खुशी छन्। किनभने एमालेलाई रोकियो। एमालेलाई सरकारबाट हटाइयो। कतिदिन हटाउने एमालेलाई सरकारबाट ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल। नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ। चुनावको वसन्तको याम पर्खिराखेको छ। चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ। गठबन्धन केहीपनि होइन।”

एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउदै लगेको बताए। उनले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि उल्लेख गरे। उनले देशमा चरम भ्रष्टता छाएको पनि उल्लेख गरे।

उनले भने, “देश बर्बाद बनाउँदैछन् गठबन्धनवालाहरूले। बर्बाद बनाउँदैछन्, अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो। देश एउटा फेल्ड स्टेट तिर जाने अवस्था आउँदै छ। श्रीलंका कस्तो भइराखेको छ अवस्था ? कोही विदेश जाने कल्पना नगरेहुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन। अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ। कारोबारहरू उतै भुक्तानी हुन्छ। देशभित्र पैसा हुँदैन। चरम भ्रष्टता भएको छ। यो कुरा सरकारमा बस्नेहरू र गठबन्धनवालाहरू बुझेकै छैनन् तिनीहरू त घरमा आगो लगाए। गौँथली माथि उडेको देखेपछि काहाँ बस्छौँ गौथली घुम्छौँ बादलमुनि मायालु भन्दै गाउँदै आफ्नै घरमा आगो लागेको थाहा छैन।’

उनले विद्यार्थीहरूलाई जिवनोपयोगी शिक्षा दिन पनि शिक्षकहरूलाई आग्रह पनि गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved