प्रमुख दलहरूबाट परिवर्तनको अपेक्षा गर्नु मूर्खता होः लिङ्देन

नेपालभ्युज

प्रमुख दलहरूबाट परिवर्तनको अपेक्षा गर्नु मूर्खता होः लिङ्देन

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको इतिहास संकटपुर्ण अवस्थामा पुग्नुमा देशकै प्रमुख दलहरूको दोष रहेको आरोप लगाएका छन्।

बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्। उनले एमाले, कांग्रेस र माओवादी लगायतका पार्टीका कारण राज्यका ३ अंग काम गर्न नसक्ने अवस्था पुगेको बताए।

बैंकिङ्ग क्षेत्रमा तरलता, विकासका आयोजनामा बजेट अभाव र देशमा ऋणको भार निरन्तर बढ्नुले देश आर्थिक संकटमा फस्दै गएको विषयप्रति उनले चिन्ता व्यक्त गरे। उनले भने, “हामीले हेर्दा देश ठीकै रुपमा चलेको जस्तो देखिन्छ। तर, अहिले देश इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थामा फसेको छ। यस्तै अवस्था रहीरहे नेपाल श्रीलंका हुन धेरै बेर लाग्दैन।”

देशका लागि भनेर लिएको ऋण उत्पादनमुखी कार्यमा खर्च नगरी कार्यकर्ता पोस्ने र वितरणमुखी हिसाबले खर्च गर्ने परिपाटीका कारण मुलुक संकटमा पुगेको अध्यक्ष लिङ्गदेनले टिप्पणी गरे। जनताले कांग्रेस, एमाले र माओवादीबाट मुलुक परिवर्तनको अपेक्षा गर्नु भ्रम मात्र भएको उनले तर्क गरे।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दैै पार्टीकी नेतृ तथा नायिक रेखा थापाले देश निमार्ण र अवसर सिर्जनाका निम्त्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको बताइन्। उनले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताएर सेवाको अवसर प्रदान गर्न आग्रह गरिन्। उनले भनिन्, “हामीले वर्षौंवर्षदेखि एउटै अनुहारको वरिपरि राजनितिका अवयवहरू सञ्चालन भइरहेको देखेका छौं। त्यही अनुहारले बिनाऊर्जा र राष्ट्रिय संकल्प शासन सत्ता सम्हाल्दै आइरहेका छन्। अब हामीलाई अवसर दिएर हेर्नुहोस्।”

विराटनगरस्थित महेन्द्र चौकमा राजा महेन्द्रको शालिक भत्काइएको विषयप्रति आपत्ति जनाउँदै उनले पुनः शालिक निर्माण गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले, कांग्रेस र माओवादी अब वृद्धवृद्धाहरूको पार्टी भइसकेको टिप्पणी गरे।

उनले राप्रपा युवाहरूको पार्टी भएको भन्दै सेवाको अवसर प्रदान गर्न आग्रह गरे। उनले मुलुकको राजनितिक व्यवस्थालाई परिवर्तन नगरि मुलुकमा भ्रष्टाचार र अनियमितताको अन्त्य नहुने दाबी गरे। उनले मुलुकमा आमुल परिवर्तन ल्याउन तथा मुलुकलाई विकासको बाटोमा डोहोर्‍याउन देशद्रोही र भ्रष्टाचारीको पर्दाफास गर्नुपर्ने बताए।

त्यसका लागि आउँदो निर्वाचनमा मितव्ययी र संवेदनशील भएर मतदानको आवश्यकता रहेको जिकिर गरे। उनले भने, “देशको अवस्था कस्तो भनेर मैले मञ्चबाट बताइरहनुपर्दैन। तपाईंहरू स्वयंम मनन् गर्नुहोस्। आउँदो निर्वाचनमा कसलाई भोट दिनुपर्छ भन्ने विषय तपाईंहरूलाई स्वयं चयन गर्नुहोस्।”

कार्यक्रममा भने पूर्वएसएसपी रेवत बहादुर कार्की र नेपाली कांग्रेसका नेता दिलीप धारेवाल सहित नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीलगायत पार्टीबाट १५ सय बढीले पार्टी प्रवेश गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved