दुई वर्षदेखि सुनसान मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

पर्यटक नआउँदा करोडौँको लगानीमा खोलिएका होटल तथा रेष्टुरेष्ट सुस्ताएका थिए।

नेपालभ्युज

दुई वर्षदेखि सुनसान मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ। कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरि गति लिन थालेको हो। केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरूको चाप बेनी–जोमसोम सडकमा बढेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए

“सडक र हवाई मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उनले भने “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको उपस्थिति बढेको छ।”

म्याग्दी भएर दैनिक ५० बस, १५० जिप र दुई सयका दरले मुस्ताङमा पर्यटकका सवारी साधन भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी प्रमुख इन्द्रबहादुर नेपालीले बेनीको कालीपुल पोष्ट र भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकीले मुस्ताङ भित्र्ने र बाहिरिने सवारी साधनको अभिलेख राख्ने गरेको बताए।

कोरोनाविरुद्धको खोपको पहुँच बढेपछि सङ्क्रमण घटेको, पर्यटकीयस्थलमा लगाइएको प्रतिबन्ध हटाएर खुला गरिएको र अनुकूल मौसमका कारण पनि पर्यटकको चहलपहल बढेको हो। मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, लेतेलगायत पर्यटकीयस्थलमा अहिले पर्यटको जमघट देखिन्छ।

आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट समूह बनाएर आन्तरिक पर्यटक भ्रमणमा आएका जोमसोम निवासी सम्झना थकालीले बताइन्। चीनको सिमानास्थित कोरला नाकासम्म नै सडक पुगेको छ। यातायातको सहज पहुँच र यात्राको खर्च सस्तो हुनाका साथै समय पनि छोटिएको छ।

विसं २०७६ चैत महिनादेखि कोरोना भाइरसको महामारी फैलिएपछि पछिल्ला दुई वर्ष मुस्ताङमा पर्यटकीय गतिविधि सुनसान थियो। पर्यटक नआउँदा करोडौँको लगानीमा खोलिएका होटल तथा रेष्टुरेष्ट सुस्ताएका थिए। पर्यटकको चहलपहल बढेसँगै थलिएको होटल व्यवसाय पुरानै लयमा फर्कने आशा व्यवसायीहरूको छ।

मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीहरूलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष बाबुराम आचार्यले बताए। बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलहरू पाहुनाले भरिन थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved