भान्सादेखि बैंकिङ प्रणालीसम्म असर पार्दैछ रुस-युक्रेन युद्धले

नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका अनुसार करीब दुई हप्तादेखि नै खानेतेलको कच्चा पदार्थको आयातमा अवरोध सिर्जना भइसकेको छ।

भान्सादेखि बैंकिङ प्रणालीसम्म असर पार्दैछ रुस-युक्रेन युद्धले

काठमाडौं। युरोप फेरी एकपटक युद्धको विभिषिकाबाट गुज्रिन थालेको छ। युक्रेनमाथि रुसले आक्रमण गरेसँगै शुरु रुस-युक्रेन युद्धका असरबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। अन्तर्राष्ट्रिय राजनीतिक जानकारहरूले यसलाई उत्तर-शीतयुद्धकालको अन्त्यका संकेतका रूपमा लिएका छन् भने अधिकारकर्मीहरूले मानवताको संकटका रूपमा। अर्थशास्त्रीहरूले भने यो युद्धले विश्व अर्थतन्त्रमा पार्ने असरबारे टिप्पणी गरिरहेका छन्। नभन्दै यसका असरहरू देखिन थालिसकेका छन्। त्यसका बाछिटा नेपाली भान्सासम्मै आइपुग्न थालेका छन्। युद्ध लम्बिँदै जाँदा यसको असर अझै गहन हुँदै जाने विज्ञहरू बताउँछन्।

भान्सामै असर

नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघका अनुसार करीब दुई हप्तादेखि नै खानेतेलको कच्चा पदार्थको आयातमा अवरोध सिर्जना भइसकेको छ।

नेपालमा आउने सुर्यमुखी तेलको कच्चा पदार्थमध्ये ९५ प्रतिशत युक्रेनबाटै आउँछ। तर युद्धका कारण त्यहाँ अर्डर भएर पैसा समेत बुझाइसकेको कच्चा पदार्थ आउन नसकेको नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघले जानकारी दिएको छ। संघका महासचिव अमित मोर भन्छन्, “खाने तेलको ठूलो हिस्सा युक्रेनबाट आयात गर्नुपर्ने भएकै कारण त्यहाँ युद्धका कारण कच्चा पदार्थको मूल्यमा असाध्यै वृद्धि हुँदा नेपाली बजारमा प्रत्यक्ष प्रभाव पर्ने हुन्छ। फेबु्रअरीको माल नेपाल आउनै पाएको छैन।”

यति मात्रै होइन, दुई देशबीच युद्ध लम्बिदै जाँदा पेट्रोलियम पदार्थमा पनि मूल्यवृद्धि भएको छ। पछिल्लो पटक कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल एक सय डलर नाघिसकेको छ। फलस्वरूप, नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ। यसले गर्दा नेपाली उपभोग्य वस्तुको ढुवानी लागत बढेको छ। यो अवस्था रहिरहेमा ढुवानी लागत अझै चुलिने र नेपाली भान्सा अत्यन्तै महँगो हुनसक्ने विश्लेषण छ अर्थविश्लेषक केशव आचार्यको।

“त्यहाँ तनाव शुरु भएपछि मात्रै एक ब्यारेलमा १४/१५ डलर मूल्य बढिसकेको छ। लडाईं लम्बियो भने अझै भाऊ अकासिन्छ। नेपालको कूल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थ हो”, आचार्य भन्छन्, “पेट्रोलियम छुट्टै वस्तु होइन, यसले सबैखाले बजारसँग प्रत्यक्ष सम्बन्ध राख्छ। सामान्यतया पेट्रोलयम पदार्थको भाऊ १० प्रतिशत बढ्दा अन्य उपभोग्य बजारको भाऊ २ देखि ५ प्रतिशत बढ्न जान्छ।”

अर्थविद् गोविन्द नेपाल पनि युद्धकै कारण विभिन्न वस्तुको आयात व्यवस्था असहज हुने आकलन गर्छन्। भन्छन्, “रूसबाट आपूर्ति हुने वस्तु व्यवस्थापन असहज हुँदै लागत बढ्न जान्छ। यद्यपि असहज नहुँदै हुने हल्लाहरूले बजारमा खाने तेल लगायतका वस्तुको कृत्रिम अभाव पनि सिर्जना हुनसक्छ।”

वैदेशिक सहायतामा प्रभाव

युद्ध लम्बिँदै गए त्यसको असर नेपालले पाउने वैदेशिक सहायतामा पनि पर्ने गोविन्द नेपाल बताउँछन्। भन्छन्, “नेपाललाई सहयोग गर्ने दाता राष्ट्रहरू सबै नाटोमा आवद्ध छन्। जसका कारण त्यहाँ बढ्दै गएको तनावले नेपालमा आउने बैदेशिक लगानीमा प्रभाव पार्छ। किनभने हाम्रा विकास साझेदार मुलुकहरू अहिले युक्रेनको सपोर्टमा छन्। उनिहरूको स्रोत युक्रेनलाई जाने भयो। जसका कारण यो युद्ध लामो समय रह्यो भने हामीले पाइरहेको वैदेशिक सहयोगमा ठूलो असर देखिन सक्छ।”

नेपालको पूँजीगत खर्च लगभग सबैजसो वैदेशिक सहायताबाट पूर्ति हुने गरेको छ। चालु आर्थिक वर्षमा मात्रै विकास खर्चको अनुमानित रकम तीन अर्ब ७४ अर्ब छ जसमध्ये तीन खर्ब ७० अर्ब रुपैयाँ विदेशी सहायताबाट परिपूर्ति हुन्छ।

बढ्न सक्छ आयात लागत

रुस-युक्रेन युद्ध लम्बिरहेमा कमजोर अहिले पनि कमजोर अवस्थामा रहेको शोधनान्तर स्थितिमा धक्का लाग्नेछ।

विश्व आर्थिक मञ्चकाअनुसार विश्व बजारमा रूसले १३ प्रतिशत कच्चा पेट्रोलियम पदार्थ  कारोबार गर्छ। सो कारोबारमा बाधा आएमा इन्धन बजारमा झनै ठूलो प्रभाव पर्न जाने विज्ञहरू बताउँछन्।

अर्थविद् गोविन्द नेपाल भन्छन्, “रूस संसारको पेट्रोलियम पदार्थ भएको मुलुकमध्ये झण्डै शीर्ष मुलुक हो। अहिलेसम्म तेल उत्पादन गर्ने स्थानमा आक्रमण भएको छैन। तर, त्यहाँ पनि आक्रमण भएमा तेलको भाऊ अकाशिन्छ। यसले आयात लागतमा पनि निकै वृद्धि हुन्छ।”

यसको अर्थ हो, नेपालले आयात गर्ने पेट्रोलियम पदार्थ लगायतका अन्य सामग्रीका लागि तिर्नुपर्ने डलर बढ्दै जान्छ। र, अहिले भएको व्यापार घाटा झनै बढ्छ। परिणाम, बैंकमा रहेको विदेशी मुद्राको सञ्चय झनै घट्छ।

बजार महँगो बन्दै गएपछि उपभोग घट्दा राजश्वमा पनि चाप पर्ने र बेरोजगारी पनि सिर्जना हुनसक्ने आचार्य बताउँछन्। अर्को असर भनेको विश्वव्यापी आपूर्ति व्यवस्थामा समस्या देखिए उत्पन्न हुनसक्छ, जसको प्रभाव नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा गम्भीर असर देखा पर्छ।

व्यापारिक सम्बन्ध

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा युक्रेनसँगको व्यापार करिब १५ अर्बको छ। यसमध्ये नेपालले त्यहाँबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँ बराबरको मालसामान आयात गरेको छ भने १५ लाख ७८ हजार रूपैयाँको मालवस्तु निर्यात गरिएको छ। रुसबाट चार अर्ब ३१ करोड २८ लाख ५२ हजार रुपैयाँको मालवस्तु आयात हुँदा १५ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरिएको छ।

यी देशहरूबाट प्रत्यक्ष आयात गरिएको वस्तुको आकार सानो भए पनि नेपाली भान्सामा अत्यावश्यक खानेतेलको कच्चा पदार्र्थ हो। यसमध्ये सूर्यमुखी तेलको कच्चा पदार्थको ९५ प्रतिशत युक्रेनबाट आउँछ भने ५ प्रतिशत भने रुस र अर्जेन्टिनाबाट आयात हुन्छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षका पहिलो सात महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार किलो सनफ्लावर तेलको कच्चा पदार्थ र ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ हजार किलो तोरी तेलको कच्चा पदार्थ नेपाल भित्रिएको छ । उक्त अवधिमा युक्रेनबाट केराउ, जिरालगायत वस्तु पनि आयात भएको देखिन्छ।

गत आर्थिक वर्ष ०७७/७८ मा युक्रेनबाट १७ अर्ब १७ करोड रुपैयाँबराबरको मालवस्तु आयात भएको थियो भने निर्यात भने करिब २३ लाख रुपैयाँ बराबरको मात्रै भएको थियो।

सो अवधिमा रूसबाट भने नेपालमा प्रिन्टिङ पेपर, सवारीसाधनमा प्रयोग हुने मोबिल, केमिकल, पशुजन्य भ्याक्सिन, स्याम्पु, बेबी लोसन, कस्मेटिक सामानलगायत आयात भएको छ भने नेपालको उत्पादित वस्तु कार्पेट, चियापत्ती, अगरबत्ती, यार्चागुम्बालगायत वस्तु निर्यात भएको तथ्यांक छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved