कांग्रेस–एमालेको निशाना सभामुख, राजीनामा नगरे हटाउन दुवै दल एकमत

जसपाका १२ जना सभामुख हटाउन तयार छन्। एकीकृत समाजवादीका पनि १० सांसद सभामुख हटाउने पक्षमा आउने अवस्था भयो भने राजीनामा नगरे ‘पदअनुकूल आचरण नगरेको’ प्रस्ताव पास गरी हटाउनेसम्मको गृहकार्य एमाले–कांग्रेसबीच भएको छ।

नेपालभ्युज

कांग्रेस–एमालेको निशाना सभामुख, राजीनामा नगरे हटाउन दुवै दल एकमत

काठमाडौं। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ सम्झौता प्रतिनिधिसभाबाट असफल बनाउन ‘एम्बुस’ थापेको आरोप लगाउँदै उनीविरुद्ध एमाले–कांग्रेस दुवै एकजुट देखिएका छन्।

एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘डिजाइन ’ मा सभामुख सापकोटाले यस्तो योजना बनाएको दुवै दलको आरोप छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुई दलका शीर्ष नेताहरुबीच बिहीबार भएको दुई चरणको वार्तामा सभामुख सापकोटालाई हटाउनेबारे कुराकानी भएको छ। संघीय संसद् भवन, नयाँबानेश्वरमा बिहीबारै बसेको एमाले–माओवादीकेन्द्रको बैठकमा एमाले अध्यक्ष ओलीले सभामुखलाई राजीनामा गराए मात्र छलफल अघि बढ्ने बताएका थिए।

प्रतिनिधिसभामा बिहीबार एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। अपराह्न १ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठकमै एमसीसी सम्झौतालाई असफल बनाउने ‘डिजाइन’ सभामुख सापकोटाले बनाएको भन्ने सूचनाका आधारमा प्रधानमन्त्री देउवाले उक्त बैठक सभामुख सापकोटालाई स्थगित गर्न आग्रह गरेका थिए। उक्त ‘एम्बुस’ बारे एमालेसँगको बैठकमा प्रधानमन्त्री देउवाले खुलासा गरेका थिए।

एमालेको शर्त : १९ बुँदे आरोपपत्र फिर्ता, सभामुखको राजीनामा

प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन, नयाँ बानेश्वरमा माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीसँग एक्लै छलफल गरेका थिए। उक्त बैठकमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई नेकपा कालमा आफूमाथि १९ बुँदे आरोप लगाउँदै त्यसबेला दर्ता गरेको १९ बुँदे ‘आरोपपत्र’ फिर्ता लिएर माफी माग्न आग्रह गरेका थिए। ‘नेकपा कालको १९ पृष्ठको आरोपपत्र खारेज गर्नुस् र पार्टी पंक्तिसँग माफी माग्नुस्, अनि त्यसले संवाद गर्ने आधार तयार गर्छ’, एमालेका एक पदाधिकारीले नेपालभ्यूजलाई भने।
एमसीसीलाई खारेर गर्ने शर्तमा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव पनि गरेका थिए– प्रचण्डले। त्यसबारे ओलीले भनेका थिए, “एमसीसीबारे एमालेले संसद्मा कुरा राख्न पनि पाएको छैन । सभामुखले १४ संसद् हटाउने एमालेको सूचना खारेज गरिदिनुभएको छ। त्यो सूचना अघि बढाउनुस् । त्यसो नभए सभामुखलाई राजीनामा गराउनुस्।”
उक्त बैठकमा प्रचण्डले एमाले र माओवादी केन्द्र छलफल गर्दै अघि बढौँ भन्न आएको भन्दै बाहिरिएको ती पदाधिकारीले बताए।
त्यसअघि प्रचण्डले प्रधानमन्त्री देउवासँग पनि छलफल गरेका थिए। देउवाले प्रचण्डलाई एमसीसीमा सहमति नगरे गठबन्धन टुट्ने पुरानै अडान दोहोर्‍याएपछि प्रचण्ड एमालेसँग छलफलका लागि पुगेका थिए।

सभामुखविरुद्ध कांग्रेस–एमाले एकजुट
कांग्रेस–एमाले बैठकमा प्रधानमन्त्री देउवाले सभामुख सापकोटाले प्रचण्डसँग मिलेर षड्यन्त्र गरी एमसीसी आजै फेल गर्ने योजना बनाएको भन्दै आक्रोश पोखेका थिए। सैद्धान्तिक छलफलका लागि प्रस्तुत हुने कार्यसूची रहेको बैठकबाटै एमसीसी अस्वीकृत गरी गठबन्धन जोगाउने षड्यन्त्र गरेको उनको आरोप थियो।
संघीय संसद् भवनमा एमाले–कांग्रेसबीच लामो छलफल भएको थियो। उक्त छलफलमा संसदीय प्रक्रियासमेत सभामुखले मिच्ने प्रयास गरेको बताएका थिए।
बैठकमा एक सहभागीले दिएको जानकारीअनुसार, बैठकमा उक्त सम्झौतामाथि छलफलको विधि पनि बताइएको थियो। विधेयकमाथि कारबाही अघि बढाउँदा ‘विचार गरियोस्’ भन्ने प्रस्तावमा जस्तै सम्झौतामाथि सैद्धान्तिक छलफल हुनुपर्थ्यो। सरकार बहुमतमा हुने हुँदा सैद्धान्तिक छलफलपछि ध्वनि मतका आधारमा उक्त प्रस्ताव पारित हुन्छ, यसमा औपचारिक मत विभाजन गरिँदैन। मत विभाजन त निर्णयार्थ प्रस्तुत गर्दा मात्र गरिन्छ।
तर, माओवादीकेन्द्रका २८ जना संसद् उभिएर बिहीबारै सभामुखसँग मत विभाजन माग्ने, नाराबाजी गरिरहेका एमालेको गणना नहुने, समाजवादी र माओवादी मिलेर सुरुमै असफल बनाउने उक्त योजना थाहा पाएर प्रधानमन्त्री देउवाले बैठक स्थगन गर्न लगाएको बैठकमा बताइएको थियो।
एमाले कांग्रेसबीच सभामुखविरुद्ध प्रस्तुत हुने सहमति भएको छ। यसअघि एमालेले मात्र राजीनामा माग्दै आएकोमा शुक्रबारदेखि कांग्रेसले पनि सभामुखविरुद्ध बोल्ने छ।
जसपाका १२ जना सभामुख हटाउन तयार रहेको अवस्थामा एकीकृत समाजवादीका पनि १० संसद् सभामुख हटाउने पक्षमा आउने अवस्था भयो भने राजीनामा नगरे ‘पदअनुकूल आचरण नगरेको’ प्रस्ताव पास गरी हटाउने सम्मको गृहकार्य भएको छ।
बीआईसीसीबाट छुटेका कांग्रेस र एमाले नेताहरू पुनः साँझ साढे ७ बजे बालुवाटारमा भेला भएर छलफल गरेका थिए। सबै बैठकमा माओवादी–समाजवादीले सत्तामै बसेर सडक आन्दोलनको घोषणा गरेको, हिंसा भड्काउन प्रयास गरेको, प्रहरीमाथि हमला गरेको जस्ता विषयमा छलफल भएको थियो। माओवादीले सत्ता छाडेपछिको अवस्थाका बारेमा छलफल भएको थियो।
उक्त छलफललाई शुक्रबार पनि निरन्तरता दिने र निष्कर्षमा पुग्ने बारे कुराकानी भएको छ। बिहीबार रातिको छलफलपछि एमाले महासचिव शंकर पोखरेल बैठकबारे जानकारी लिन बालकोट पुगेका थिए। विकसित राजनीतिक परिस्थितिमा एमालेको रणनीति बनाउन महासचिव पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलबीच राति अबेरसम्म छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved