पुटिन र बाइडेनबीच युक्रेन मामिलामा वार्ता हुने

रूसले युक्रेनमाथि हमला नगर्ने सैद्धान्तिक सहमतिमा दुई देशका राष्ट्रपतिबीच भेटवार्ता गर्ने सहमति भएको हो।

नेपालभ्युज

पुटिन र बाइडेनबीच युक्रेन मामिलामा वार्ता हुने

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन मामिलाका विषयमा छलफल गर्न एक सम्मेलन हुने भएको छ। सम्मेलनका गर्न दुवै पक्ष सहमत भएका फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले जानकारी दिएका छन्।

रूसले युक्रेनमाथि हमला नगर्ने सैद्धान्तिक सहमतिमा दुई देशका राष्ट्रपतिबीच भेटवार्ता गर्ने सहमति भएको हो।

सोमबार बिहान सार्वजनिक गरिएको एक विज्ञप्तिमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अमेरिका र रूसी राष्ट्रपतिबीच सम्मेलनको आयोजना गर्न भूमिका निर्वाह गरेका छन्। सम्मेलनमा ‘युरोपको सुरक्षा र रणनीतिक स्थिरताका’का विषयमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ।

‘राष्ट्रपति बाइडेन र पुटिनले सम्मेलनको सैद्धान्तिक पक्षका विषयमा सहमति जनाएका छन्,’ विज्ञप्तिमा भनिएको छ।

तर, रूसले युक्रेनमाथि हमला गरेको अवस्थामा भने सम्मेलन आयोजना हुन सक्नेछैन। युरोपियन देशहरुले रूसले युक्रेनमाथि हमला गर्नसक्ने आकलन गरिरहेका छन्।

ह्वाइट हाउसले पनि सम्मेलनका आयोजना हुँदै गरेको विषयलाई पुष्टि गरेको छ।

‘हामी आक्रमण शुरु हुनुअघिसम्म कूटनीतिक माध्यमबाट समस्याको समाधानका लागि प्रतिवद्ध छौँ’ ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले एक विज्ञप्तिमार्फत भनेकी छन्। ‘राष्ट्रपति बाइडेनले आक्रमण नभएको अवस्थामा राष्ट्रपति पुटिनसँगको सम्मेलनको सैद्धान्तिक विषयमा सहमति जनाएका छन्।’

‘रूसले आक्रमण गरेको खण्डमा उसले व्यर्होनुपर्ने प्रभावका विषयमा पनि हामी तयार छौँ। अहिलेको अवस्थामा रूस पूरा हिसाबमा युक्रेनमाथि आक्रमण गर्ने तयार रहेको देखिन्छ,’ उनले थप भनेकी छन्।

रूसले भने यस विषयमा केही बोलेको छैन। तर, राष्ट्रपति पुटिनले आइतबार फ्रान्सका राष्ट्रपति म्याक्रोनसँग भएको टेलिफोन वार्तापछि संकटको समाधानका लागि कूटनीतिक प्रयास जारी रहनुपर्ने बताएका थिए।

दुई देशका राष्ट्रपतिबीचको भेटवार्ताका विषयमा २४ फेब्रुअरीमा हुने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रूसी विदेशमन्त्री सर्गेइ लाभरोवबीचको भेटवार्ताले तय गर्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved