देउवा,ओली र प्रचण्डलाई अमेरिकाको फोन : एमसीसी पास नभए चीनको हस्तक्षेप ठान्छौं

देउवा,ओली र प्रचण्डलाई अमेरिकाको फोन : एमसीसी पास नभए चीनको हस्तक्षेप ठान्छौं

काठमाडौं । अमेरिकाले जसरी भए पनि एमसीसी पास गराउन नेपाललाई दबाब दिन थालेको छ।

अमेरिकाको दक्षिणपूवी एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेतालाई फोन गर्दै अमेरिकी सहयोग परियोजना मिलिनेयम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न वातावरण बनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्दै एमसीसी पारित गर्न वातावरण बनाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ।

एमसीसी पारित नभएको अवस्थामा त्यसलाई चिनियाँ हस्तक्षेपका रूपमा अमेरिकाले बझ्ने पनि उनले बताएका स्रोतको दाबी छ।

१ मंसीरदेखि तीनदिने नेपाल भ्रमण गरेका लुले आफ्नो भ्रमणका क्रममा पनि नेपाली नेताहरूलाई एमसीसी पारित गर्न दबाब नै दिएका थिए। उनले १४ डिसेम्बरसम्मको समय सीमा दिँदै उनले एमसीसी पारित गर्न नगरेको अवस्थामा फिर्ता लैजाने बताएका थिए।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले १३ असोजमा एमसीसी मुख्यालयलाई संयुक्त पत्र लेख्दै प्रतिनिधिसभामा एमसीसी पारितका लागि सहमति जुटाउन केही समय आवश्यक पर्ने बताउँदै पाँच महीनाको समय मागेको थियो।

उक्त पत्र २३ माघमा सार्वजनिक भएको थियो। यस्तै एमसीसीले २३ माघमा नै पाँच महीनाको समयअवधि सकिन लागेको बताउँदै १६ फागुनभित्र एमसीसी पारित गर्न नेपाललाई प्रस्ट सन्देश नै दिएको छ।

यस्तै २६ माघमा मात्रै एमसीसी उपाध्यक्ष फातेमा सुमारले एक भर्चुअल कार्यक्रम माफर्त एमसीसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नका लागि नभएर पारित गर्न भएको बताएकी थिइन्।

“नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग हाम्रो साझेदारी भएपछि २८ फेब्रुअरीभित्र एमसीसी पारित सहमति भएको छ,” उनले भनेकी थिइन्, “हरेक समय, सीमा र सम्झौताको अर्थ हुन्छ। अब हामी सम्झौता पारित गर्नका लागि थप पर्खन सक्दैनौँ।”

यति भन्दै गर्दा उनले एमसीसी सम्झौतामा कुनै परिवर्तन हुन नसक्ने पुनः दोहोर्‍याएकी छन्। यसअघि भदौ २४ बाट नेपालको दुईदिने भ्रमण गरेकी उनले आफ्नो भ्रमणपूर्व नेपाल सरकारले एमसीसी मुख्यालयललाई सोधेको ११ प्रश्नको जवाफ दिँदै एमसीसी संशोधन हुन नसक्ने स्पष्ट पारेकी थिइन्।

उनले नेपालका लागि भनेर एमसीसीले अमेरिकी राष्ट्रपति बारक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनको कार्यकालमा ५ं०० मिलियन डलर होल्ड गरेर राखेको समेत बताएकी थिइन्।

भूराजनीति, समाजिक सञ्जाल र केही अन्य शक्तिका कारण नेपालमा एमसीसीका विषयमा गलत सूचनाहरू सम्प्रेशण गरेको पनि सुमारको आरोप थियो। यस्तै उनले नेपालका नेताहरू सत्तामा हुँदा एमसीसीको पक्षमा हुने र सरकार बाहिर जाँदा साथ एमसीसीको विरोध गरेको समेत आरोप लगाएकी थिइन्।

अमेरिकाले एमसीसी पारित गर्न ताकेता गर्दै गर्दा नेपालका राजनीतिक दल भने एमसीसी पारित गर्ने विषयमा विभाजित छन्। बिहीबार मात्रै सत्ता गठबन्धनका दुई नेता पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्रीर्ला भेटेर यही अवस्थामा निर्वाचनअघि एमसीसी पारित गर्न नसकिने बताएका थिए भने आजै बसेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसको कार्य सम्पादन समितिले एमसीसी पारित गर्न एकमत भएको छ।

सत्ता गठबन्धनबीच एमसीसीका विषयमा रस्साकस्सी बढ्दै जाँदा प्रमुख प्रतिपक्ष दल एमाले भने यस विषयमा मौन छ।

उसले सत्ता पक्षले संसदमा एमसीसी अगाडि बढाएको अवस्थामा मात्रै यस विषयमा निर्णय लिने बताउँदै आएको छ। यसअघि ओली प्रधानमन्त्री हुँदा एमसीसी जसरी पनि पास गर्नुपर्ने पक्षमा रहेको दल सत्ताबाट बाहिरिएसँगै एमसीसीका विषयमा फरक मत राख्न थालेको हो।

यसो त परराष्ट्र मन्त्रालयका केही अधिकारीहरूले अमेरिकी दूतावाससँग नेपालमा रहेका अन्य पश्चिमा देशले पनि एमसीसी अगाडी बढाउन ताकेता गर्ने गरेको दाबी गर्छन्। विशेषगरी बेलायती राजदूत र अष्ट्ेरलियन राजदूतले सरकारमा रहेका मन्त्रीहरूसँगको भेटघाटमा एमसीसीका विषयमा चासो राख्दै एमसीसी बढाउन भन्ने गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू दाबी गर्छन्।

केही समयअघि अमेरिकी राजदूतसँग बेलायती र अष्ट्रेलियन राजदूत जलवायु परिवर्तनका विषयमा छलफल गर्न भन्दै रारा ताल भ्रमणमा पुगेको थिए। अन्तर्राष्ट्रिय हिसाबमा सम्झौता गरेका यी तीन देशका राजदूत नेपालमा एमसीसी पारित गराउन सक्रिय भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved