पाँच वर्षदेखि बन्द फूलबारी होटेल, अझै खुल्ने टुंगो छैन

पाँच वर्षदेखि बन्द फूलबारी होटेल, अझै खुल्ने टुंगो छैन

पोखरा। सन २०१७ फेब्रअरी २८ मा मजदुर आन्दोलनका कारण पर्यटकीय नगरी पोखरामा रहेको फूलबारी होटेल बन्द भयो। होटेल खुलाउन बेलाबेलामा पहल गरे पनि कहिले व्यवस्थापन त कहिले कोरोना कहरका बीच होटेल अहिलेसम्म खुल्न सकेको छैन्। अहिले होटेल परिसर सुनसान छ।

होटेल व्यवस्थापनको आन्तिरक समस्यासँगै कोभिडको मारले गर्दा पनि होटेल समयमा खुल्न सकेन। होटेलका इन्जिनियरिङ विभाग प्रमुख धनराज पुरीले तत्काल फूलबारी होटेल खोल्ने कुनै तयारी नभएको बताउँछन्।

“बन्द भएको बेला जस्तो अवस्था थियो अहिले पनि त्यस्तै छ,” नेपालभ्यूजसँग कुरा गर्दै उनले भने, “बन्द भएको ५ वर्ष भयो। तत्कालै खुल्ने संभावना केही छैन्। खुलिहाल्ने अवस्था पनि छैन्।” मजदुर र व्यवस्थापन पक्षको कुरा नमिलेपछि तत्कालिन समयमा होटेल बन्द भएको उनले सुनाए। “मजदुरका आफ्ना केही माग थिए। त्यो व्यवस्थापन पक्षबाट पूरा नहुने भएपछि होटेल बन्द गरिएको थियो,” पुरीले भने, “त्यो बेला बन्द भएको होटेल अहिलेसम्म बन्द नै छ। हामीले आन्तरिक घुम्ने पर्यटकलाई पनि अलाउट गरेका छैनौं। सुनसान जस्तै भएको छ।”

२०१७ मा होटेलमा १ सय ३५ कर्मचारी थिए। अहिले १६ जना मात्र कर्मचारी छन्।

“होटेल नखुलेपछि काम पनि खासै हुँदैन्। होटेलमा भएको संरचना जोगाउन, सरसफाइ गर्न मात्र गरेर थोरै कर्मचारी छौं,” उनले भने, “होटेलको प्रशासनिक काम र झाडीमा घाँस काट्ने काम मात्र छ भन्दा हुन्छ।”

कोरोनाले गर्दा पनि समयमै खुलाउन नसकिएको उनले बताए।

“शुरुमा कर्मचारी र व्यवस्थापनबीचको विवादले गर्दा खुलाउन सकिएन। अब त खुलाउन पर्छ कि भन्ने लागेको बेला कोरोना आइदियो,” उनले भने, “पर्यटकको चहलपहल हुने होटेल केही वर्षयता सुनसान हुँदा खल्लो महशुस भने हुँदो रहेछ।” होटेल बन्द हुनुअघि आन्तरिकभन्दा पनि बाह्य पर्यटक निकै आउने गरेको उनी बताउँछन्।”

कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियो,” उनले स्मरण गर्दै भने, “पोखरा आउने पर्यटकहरू यस होटेलमा बस्नको अलावा हेर्न भए पनि आउने गर्थे। त्यसबेला ५० प्रतिशतजस्तो अकुपेन्सी हुन्थ्यो।”

२०६ रोपनी क्षेत्रफलमा फैलिएको फूलबारी होटेलमा झण्डै चार अर्ब लगानी छ। उक्त क्षेत्रफलमध्ये फूलबारी होटेलकै नाममा पूर्जा रहेको ६८ रोपनी जग्गाबिना जानकारी प्रहरीको नाममा दिइएकोमा त्यो अदालतमा विचाराधीन अवस्थामा रहेको व्यवस्थापनले जनाएको छ। होटेल सन १९९८ देखि सञ्चालनमा आएको हो। होटलका सञ्चालक पियुषबहादुर अमात्य हुन्।

होटेलमा सुविधा सम्पन्न १६५ कोठा रहेका छन्। होटल सञ्चालनको शुरुमा थाइल्यान्डको दुषित्थानी नामक समूहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो। शुरुआतको ५-६ वर्ष होटेल राम्रैसँग चले पनि सन् २००४ पछिका वर्षमा सोचेजस्तो हुन सकेन। त्यसबेला देशमा राजनीतिक द्वन्द्व, दरबार हत्याकाण्डलगायत घटनाले सिंगो नेपाललाई नै प्रभावित पारेसँगै होटेलको अवस्था पनि त्यही रुपमा प्रभावित हुन पुग्यो।

जसले गर्दा नेपाल घुम्न, पोखरा घुम्ने पर्यटकको आगमन घट्न थाल्यो। ठूलो संरचनामा निर्माण भएको होटेलमा पर्यटकको आगमन घटेसँगै ऋण बढ्दै जानु लगायतका कारणसँगै व्यवस्थापन र मजदूरबीचको विवादले पनि होटेल बन्द हुने स्थितिमा पुगेको जानकारहरू बताउँछन्। पाँचतारे प्लस डिलक्ससमेतको सुविधा रहेको होटेललाई नेपालमा मात्र नभई दक्षिण एशियाकै नमुना मानिन्थ्यो।

गण्डकी प्रदेशको चासो

पोखरा–१५ मा रहेको फूलबारी होटेल लामो समयदेखि बन्द रहँदा पोखराको पर्यटनलाई धक्का पुगेको नै छ। कोभिडले गर्दा हिँडडुल गर्न डर भए पनि पोखरा सुरक्षित छ भनेर यही वर्ष असोजमा गण्डकी प्रदेशले ११ देशका राजदूतलाई डाकेर पोखरा घुमायो।

तर, एक्षिण एशियाकै नमूना मानिएको फूलबारी होटेलको मज्जा उनीहरूले लिन भने पाएनन्। यसैबीच गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले मंगलबार फूलबारी होटेलको स्थलगत अवलोकन गरेका छन्।

उनले होटेललाई छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउनको लागि सरकार र होटेल सञ्चालकसँग के गर्न सकिन्छ त्यसको लागि तयार रहेको बताए। पोखरा आउने पर्यटकलाई गुणस्तरीय सेवा दिँदै आएको फूलबारी रिसोर्टले उत्तिकै मात्रामा पनि रोजगार दिलाएको हुँदा जतिसक्दो छिटो खुल्न आवश्यक रहेको उनले बताए।

भौगोलिक हिसाबले पनि उपयुक्त ठाउँमा रहेको होटेल पुनः सञ्चालन भएमा पर्यटन व्यवसायीहरू खुशी र अन्य होटेलमा लगानीको सम्भावना पनि बढ्ने व्यवसायीहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved