माइतीघरमा पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोध

नेपालभ्युज

माइतीघरमा पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोध

काठमाडौं। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ।

बुधबार माइतीघरमण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताए। उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहत दिने काम गरेको बताए।

अध्यक्ष गजुरेलले भने, “पटक पटक सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी नेपाल सरकार र नेपाल आयल निगमले मूल्यवृद्धि गरिरहेको छ। यसको विरोधमा हामीले विरोध गरेका हौँ। अहिले पेट्रोल र डिजेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेर जनताको ढाड सेकाइएको छ। हामीले पटक पटक जनताको चुल्हो नबल्ने स्थितिमा गरिएको मूल्यवृद्धि खारेजको माग गर्दछौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा लताकपडा, खानेकुरा सबैमा मूल्यवृद्धि हुन्छ, त्यो काम नहोस्। सरकारले कोरोना महामारीका बेलामा राहतको साटो आहत दिने काम गरिरहेको छ। नेपाल सरकार र नेपाल आयल निगमलाई अविलम्व पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गरियोस्, यदी फिर्ता गर्ने काम भएन भने नेपाली जनताले सडकमा ल्याएर कारबाही गर्ने दिन आउनेछ।”

प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखि बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु दुःखद् भएको बताइन्। उनले देउवा सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर झनै मारमा पारेको बताइन्।

उपाध्यक्ष न्यौपानेले पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गर्नु लाजमर्दो भएको बताइन्। सरकारले मंगलबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved