चितवनमा घट्यो धान उत्पादन

चितवनमा घट्यो धान उत्पादन
फाइल तस्वीर

चितवन। जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ। धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्यांकले देखाएको छ।

कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो। यसबाट ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिइन्। गत आवमा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यस वर्ष एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिइन्। आव २०७६/७७ मा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा एक लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो।

कार्यालयका अनुसार चैतेधान उत्पादनमा स्थिरता रहेको छ। आव २०७६र७७ मा चार हजार ९१५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकामा २० हजार ७५० मेट्रिक टन उत्पादन भएको थियो। आव २०७७/७८ मा सोही क्षेत्रफलमा त्यति नै उत्पादन भएको कार्यालयको तथ्यांकले देखाएको छ। तथ्यांकानुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ। आव २०७६/७७ मा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो आवमा तीन दशमलब ७९ मा झरेको थियो। चालु आवमा उत्पादकत्वमा केही वृद्धि भएको छ। यस वर्ष उत्पादकत्व तीन दशमलव नौ पुगेको न्यौपानेले बताइन्।

स्थानीय पालिकाहरुले दिएको तथ्यांकका आधारमा यस वर्ष वर्षे धानको क्षेत्रफल र उत्पादन घटेको उनको भनाइ छ। गत वर्ष धानमा रोग लागेका कारण उत्पादन घटेको हो। यस वर्ष धान पाक्ने समयमा वर्षा बढी हुँदा धानमा क्षति भएको न्यौपानेले बताइन्। प्रमुख अन्न बालीका रूपमा रहेको मकैको उत्पादन विगत दुई वर्षमा स्थिर छ। पछिल्ला दुई आवमा मकैको उत्पादन स्थिर रहेको कार्यालयको तथ्यांकले देखाएको छ।

कार्यालयको तथ्यांकानुसार आव २०७६/७७ मा जिल्लाको २६ हजार १९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो। सो क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको न्यौपानेले जानकारी दिइन्। गत आवमा २६ हजार १९ हेक्टर क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको थियो। उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved