सुदूरपश्चिममा प्रदेश सरकारको कार्ययोजनाभन्दा कोरोनाको गति द्रूत

सुदूरपश्चिममा प्रदेश सरकारको कार्ययोजनाभन्दा कोरोनाको गति द्रूत

धनगढी । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ। पछिल्लो दुई हप्ताको आँकडा हेर्दा परीक्षण गरिएकामध्ये प्रतिदिन कम्तिमा २५ प्रतिशतदेखि बढीमा ४० प्रतिशतमा संक्रमण देखिएको छ। यद्यपी, गम्भीर बिरामी र अस्पताल भर्ना हुने दर भने न्युन छ।

प्रदेशमा सीमा नाकादेखि अस्पतालसम्मको व्यवस्थापनको लागि द्रुत कार्य योजना बनाएर काम गरिरहेको सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिहं कार्कीले बताए।
‘‘द्रूत कार्ययोजना बनाएका छांै, त्यही अनुसार कार्यक्रमहरु गर्दैछौं, सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकालाई अस्पताल र लक्षण नभएकालाई आइशोलेसनका लागि पठाउने गरेका छौं,’’ कार्कीले भने,‘यदी केही होम आइसोलेशन बस्न चाहन्छ भने उनिहरुलाई छुट्टै गाडिको व्यवस्था गरेर होम आइसोलेशनमा पठाउने गरेका छौं।’

प्रदेशका अस्पतालहरुमा उपचारको क्षमता पहिलेको दाँजोमा वृद्धि गरिएको उनले बताए। सुदूरपश्चिमका ७ ओटा अस्पतालमा आफ्नै अक्सिजन प्लान्टको व्यवस्था भएको छ। सबै जिल्लामा गरी कुल १२ सय ६१ वेडको व्यस्था छ।

हालसम्म सुदूरपश्चिममा १८ वर्षभन्दा माथिका लक्षित समुहमध्ये ६१ प्रतिशतलाई पूर्ण खोप लगाइसकेको मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए। त्यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई ६४ प्रतिशत खोप लगाइसकेको र दोस्रो खोप लगाउने चरणमा रहेको उनले बताए।

संक्रमण समुदायमा

एक हप्ताअघिसम्म सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्केका व्यक्तिमा संक्रमण बढी देखिएको थियो। तर, एक हप्ताभित्रै त्यो स्वरुप फरक भएको छ । अहिले समुदायस्तरमा संक्रमित हुनेको संख्या बढी छ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५३ हजार ८८९ पुगेको छ। त्यस्तै कोरोनाबाट निको हुने संख्या ३८ हजार ४०८ पुगेको छ। पछिल्ला एक\दुई हप्तादेखि परीक्षण गरिएकामध्ये दैनिक कम्तिमा २५ देखि बढीमा ४० प्रतिशत व्यक्तिमा संक्रमण पुष्टि भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. जगदिश जोशीले बताए।

‘‘संक्रमण दर बढी भएकाले पनि कोरोना संक्रमण समुदायमा पुगेको हो की भन्ने हाम्रो अनुमान हो,’’ उनले भने । ‘तर, यसको पुष्टि हुने गरी अध्ययन भइसकेको छैन। यद्यपी, म एउटा डाक्टरको हैसियतले सक्रमण समुदायमा गइसकेको हो भन्छु।’

भारतबाट फर्किएका धेरै व्यक्तिले परीक्षण नगराएको र केही पोजेटिभ रिपोर्ट आएका व्यक्ति पनि नाकाबाटै भागेर घरतर्फ गएपछि समुदायमा चाँडै संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। ‘अहिले कोरोना संक्रमण समुदायमै फैलिसकेको छ’, उनले भने।

अहिलेको कोरोना तीव्र गतिमा अरुलाई सरिरहेकाले एसएमएसको पालना गर्न अर्थात सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved